|
रसिया भू–राजनीतिक विवादबाट टाढा रहने: पुटिन
मस्को, ११ मंसिर। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया भू–राजनीतिक विवादबाट टाढै रहन रुचाउने हुनाले आफ्नो मुलुक कसैका लागि पनि खतरा नहुने बताउनुभएको छ। रसियाको सोची प्रान्तमा आयोजित उच्चपदस्थ सैनिक अधिकारीको सम्मेलनमा बोल्नुहुँदै विश्वमा हाल चलिरहेको भूराजनीतिक खेल वा षड्यन्त्रमा रसिया कहिले पनि सामेल नहुने हुँदा कुनै पनि अन्तर्राष्ट्रिय राजनीतिक विवादमा मुछिन नसक्ने भएकाले रसिया कसैका लागि खतरा हुन सक्दैन भन्ने जानकारी दिनुभएको छ। तास समाचार समितिकाअनुसार रसियाको सुरक्षा मामिलामा मुलुकका सबै प्रशासनिक तथा सुरक्षा निकायलाई सदैव चनाखो रहनसमेत राष्ट्रपतिले आह्वान गर्नुभएको छ। एसियामा नयाँ सैनिक सङ्गठन आर्कटिक मिलिटरी कमाण्ड आगामी डिसेम्बरबाट गठन हुने र क्रिमियामा सैनिक एकाइको स्थापना हुने विषयमा गत सोमबार प्रतिरक्षा मन्त्री सर्गेई सोइगुसँग राष्ट्रपति पुटिनले विस्तृत छलफल गर्नुभएको समेत जनाइएको छ। क्रिमियामा सैनिक एकाइहरू स्थापना र आर्कटिक मिलिटरी कमाण्डको गठनबारे प्रतिरक्षामन्त्री सोइगुले रसियाली संसद्को माथिल्लो सदन फेडरल काउन्सिलसमक्ष एक प्रतिवेदन दिनुभएकामा सो प्रतिवेदनउपर आगामी डिसेम्बर २७ का दिन छलफल हुनेसमेत जनाइएको छ। सिन्ह्वा |