September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

नाइजेरियाको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा एक सय बीसको मृत्यु


    कानो (नाइजेरिया), १३ मङ्सिर। नाइजेरियाको मुसलमान बसोबासयुक्त उत्तरमा अवस्थित सबैभन्दा ठूलो नगर कानोको ग्रान्ड मस्जिदमा शुक्रबार दुई आत्मघाती बम आक्रमणकारीले आफैलाई विस्फोट गराउँदा तथा मुलुकको सबैभन्दा ठूला इस्लामी नेताको मस्जिदमा बन्दूकधारीले साप्ताहिक प्रार्थनासभामा गोली प्रहार गर्दा कम्तीमा १२० व्यक्तिको मृत्यु भएको छ। 
    ग्रान्ड मस्जिदमा शुक्रबारको प्रार्थना आरम्भ हुनासाथ उक्त विस्फोट भएको बताइएको छ। 
    नाइजेरियाका सबैभन्दा वरिष्ठ मुसलमान धर्मगुरु अमिर अफ कानो मुहमद सानुसी दोस्रोको मस्जिद सोही मस्जिदसँग जोडिएको छ। यी धर्मगुरुले गत साता बोको हरामविरुद्ध हतियार उठाउन नागरिकलाई आग्रह गर्नुभएको थियो। 
    शुक्रबार बिहान उत्तरपूर्वी नगर माइदुगुरीमा एक बम आक्रमणको प्रयास असफल गरिएपछि यी विस्फोट भएको बताइएको छ। यसको पाँच दिन अगाडि दुई महिला आत्मघाती बम आक्रमणकारीले यसै नगरमा ४५ व्यक्तिको हत्या गरेका थिए। 
    राष्ट्रिय प्रहरी प्रवक्ता एमानुएल ओजुकुले यी दुई व्यक्तिले बम विस्फोट गराउनासाथै बन्दूकधारीले त्यहाँबाट भाग्न खोज्ने व्यक्तिमाथि गोली प्रहार गरेको जानकारी दिनुभयो। 
    ओजुकुले क्रुद्ध भिडले उक्त विस्फोटपछि चार बन्दुकधारीलाई मारेको जानकारी दिनुभयो। नगरका प्रत्यक्षदर्शीहरूले यी व्यक्तिलाई जलाइएको जानाकारी दिए। 
    मुर्ताला मोहम्मद स्पेसियलिस्ट हस्पिटलमा रहेका एएफपीका एक पत्रकारले घटनास्थलमा ९२ शव गनेका थिए र उनले मर्नेमा प्रायः पुरुष तथा बालक भएको बताए। उनले धेरैमा विस्फोटको घाउ तथा जलेको भाग भएको बताए। 
    रात परेपछि धेरै व्यक्तिले मृतकको पहिचान गर्न मोबाइलको प्रकाश प्रयोग गरिरहेको देखिएको थियो। 
    एक वरिष्ठ उद्धार अधिकारीले घटनास्थलमा १२० व्यक्तिको मृत्यु भएको तथा २७० घाइते भएको देखिएको बताए। आपतकालीन कार्यकर्ताहरू अझै सबै अस्पतालको भ्रमणमा रहेको देखिएको छ। 
    अमेरिकाले यो आक्रमणको भर्त्सना गर्दै यसका लागि बोको हरामप्रति आरोप लगाएको छ। 
    संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले नागरिकमाथि यस प्रकारको आक्रमण गर्नुको कुनै औचित्य नभएको बताउनुभयो। 
    अमिर अफ कानोले यसै मस्जिदमा गत साता सन् २००९ देखि कट्टरपन्थी इस्लामी राज्य स्थापनाका लागि युद्ध गरिरहेका बोको हरामविरुद्ध उत्तरी क्षेत्रका नागरिकले पनि हतियार उठाउनुपर्ने बताउनुभएको थियो। 
    उहाँले नाइजेरियाको सेनाको जनताको सुरक्षा गर्ने तथा विद्रोह अन्त्य गर्ने क्षमतामा प्रश्न गर्नुभयो। 
    सुल्तान अफ सोकोतोपछि अमिर मुलुकका दोस्रा सबैभन्दा ठूला धर्मगुरु हुन् र उनीमाथि कुनै पनि आक्रमणले नाइजेरियाको दोस्रो ठूलो नगरमा तनाव फैलनसक्छ। 
    सानुसीलाई यस वर्ष अमिरको पद दिइएको छ। उहाँले यसअघि नाइजेरियाको केन्द्रीय बैङ्कको गभर्नरको पद सम्हाल्नुभएको थियो। 
    गभर्नर पदमा रहँदा उहाँले सरकारमा हुने गरेको व्यापक जालसाजको बारेमा बोल्नुभएको थियो र यसै कारण उहाँलाई केही समय पदावधि रहँदै फेब्रुअरी महिनामा पदमुक्त गरिएको थियो। एएफपी