September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

क्षेत्रीय अभिरुचि संरक्षण गर्ने राष्ट्रपति सिको दृढता


    बेइजिङ, १४ मंसिर। विभिन्न छिमेकी मुलुकसँग सामुद्रिक क्षेत्रका विषयमा विवाद भइरहेको समयमा उदाउँदो एसियाली मुलुक चीनले आफ्नो क्षेत्रीय सार्वभौमसत्ता संरक्षण गर्ने राष्ट्रपति सि जिनपिङले एक नीतिगत भाषणमा बताउनुभएको छ। 
    राष्ट्रपति सिले कम्युनिस्ट पार्टीको विदेश मामिलासम्बन्धी बैठकमा चीनले आफ्नो क्षेत्रीय सार्वभौमसत्ता, सामुद्रिक अधिकार तथा अभिरुचि तथा राष्ट्रिय एकतालाई कायमै राख्ने बताउनुभयो। उक्त बैठक शुक्रबार तथा शनिबार भएको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ। 
    टोकियोले सेनकाकु द्वीपलाई राष्ट्रियकरण गरेपछि चीन तथा जापानबीच सम्बन्ध गत दुई वर्ष तनावपूर्ण बनेको थियो। पूर्वी चीन जल क्षेत्रका ती द्वीपमा जापानले पहिले नै प्रशासन सञ्चालन गरेको थियो। बेइजिङले ती द्वीप शृङ्खलाको नाम तियाओयु भएको बताउँदै आफ्नो भएको दाबी गरेको छ। 
    चीन तथा भियतनाम, मलेसिया, फिलिपिन्स तथा बु्रुनाइसहितका दक्षिणपूर्वी एसियाली मुलुकबीच पनि दक्षिण चीन जल क्षेत्रमा रहेका स्पार्ट्ली द्वीपमा प्रतिस्पर्धी दाबी रहेको छ। ताइवानलाई चीनले आफ्नो सार्वभौमसत्तासम्पन्न क्षेत्रको एक भाग मान्छ र यसले पनि स्पार्ट्ली द्वीपमा दाबी गरेको छ। 
    सि चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव पनि हुनुहुन्छ। उहाँले आफ्नो मुलुकले क्षेत्रीय तथा द्वीपको विवाद सही रूपमा व्यवस्थापन गर्ने बताउनुभयो। उहाँले द्वीपको नाम भने तोकेर बताउनुभएन। 
    नोभेम्बर १० मा चिनियाँ राष्ट्रपति सि तथा जापानी प्रधानमन्त्री सिन्जो आवेबीच भेटवार्ता भएपछि दुई मुलुकबीच सम्बन्ध सुधारिएको छ। यसो भए पनि चिनियाँ तटरक्षक जहाजहरूले निरन्तर रूपमा विवादित द्वीपहरूको गस्ती गरिरहेका छन्। 
    राष्ट्रपति सिले बैठकमा अधिकारीहरूलाई चीनले शान्तिपूर्ण विकास चाहेको र चाहनापूर्वक तथा चेतावनीपूर्वक शक्तिको प्रयोग नचाहेको बताउनुभयो। 
    अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनको दाबीपूर्ण विवादित क्षेत्रमा सोझो सङ्घर्ष हुनसक्ने चेतावनी दिनुभएपछि अमेरिका, अस्ट्रेलिया तथा जापानले यसै महिनाको आरम्भमा सामुद्रिक क्षेत्रका विवादको शान्तिपूर्ण समाधानका लागि आग्रह गरेका थिए। 
    चीनले एसिया–प्रशान्त क्षेत्रमा अमेरिकाले नियन्त्रण गर्न प्रयास गरिरहेकाले उसको विदेशनीति आधारभूत हुने धारणा राखेको छ। 
    सिन्ह्वाले जारी गरेको राष्ट्रपति सिको भाषणको अंशमा अमेरिकाका विषयमा प्रत्यक्ष रूपमा कतै उल्लेख गरिएको छैन।
    राष्ट्रपति सिले चीनले आफ्ना छिमेकी वातावरणमा रहने अनिश्चिततालाई पूर्ण रूपमा स्वीकार गर्नुपर्ने तर एसिया–प्रशान्त क्षेत्रको समृद्धि तथा स्थायित्वको सामान्य प्रवृत्तिमा भने परिवर्तन नहुने कुरा बुझ्नुपर्ने बताउनुभयो। 
एएफपी