|
उरुग्वेमा पुनः वामपन्थी राष्ट्रपति
मोन्टेभिडियो, १५ मंसिर। दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा आइतबार भएको राष्ट्रपति निर्वाचनको दोस्रो चरणबाट सत्तारुढ वामन्थी पार्टी बृहत मोर्चाका उम्मेदवार एवं पूर्वराष्ट्रपति ताबारे भाज्क्वेज ठूलो मत अन्तरले विजयी हुनुभएको छ। उहाँले दक्षिणपन्थी नेशनल पार्टीका उम्मेदवार लुइस अल्वर्टाे लाकाले पोउलाई १८ प्रतिशत मत अन्तरले पराजित गर्नुभएको हो। सोमबार बिहानसम्मको मत गणनाबाट भाज्क्वेजले ५८ प्रतिशतभन्दा बढी मत ल्याई विजय सुनिश्चित गरिसक्नुभएको छ भने लाको पोउले ४१ प्रतिशत मत सुरक्षित गर्नुभएको छ। निर्वाचन परिणामसँगै ठूलो सङ्ख्यामा भाज्क्वेजका समर्थकहरू राजधानी मोन्टेभिडिओलगायत विभिन्न सहरका सडकमा निक्लेर विजय बनाउन थालेका छन्। ७४ वर्षीय क्यान्सर रोग विशेषज्ञ डा. ताबारे भाज्क्वेजले २००५ मा भएको राष्ट्रपति निर्वाचन जितेर त्यहाँका कोलोराडो पार्टी र नेशनल पार्टीको १७० वर्ष लामो दबदबा अन्त्य गर्नुभएको थियो। २०१० मा ६० प्रतिशत जनताको समर्थन छँदाछँदै उहाँले वामपन्थी छापामार नेता जोसे मुजिकालाई अगाडि सार्नुभएको थियो। मार्च १५, २०१५ मा कार्यकाल टुङ्ग्याउनुभएका मुजिकाले देशको अर्थतन्त्रमा सुधार, आर्थिक वृद्धि र राम्रो ज्याला कायम गर्न सफल हुनुभएको थियो। उहाँले अगाडि बढाउनुभएको सामाजिक एजेण्डाले विश्वव्यापी प्रशंसा कमाएको थियो। मुजिकालाई ७० प्रतिशत जनताको समर्थन थियो तर उहाँले पनि कानुन संशोधन गर्नुभन्दा अर्काे कार्यकाल भाज्क्वेजलाई दिने सहज निर्णय गर्नुभएको थियो। भाज्क्वेजको कल्याणकारी योजनाहरू र व्यवसायमुखी नीतिहरूले देशको अर्थतन्त्रमा थप सुधार गर्न गरिबी घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
|