September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

उत्तरपुस्तिका परीक्षण पारिश्रमिक वृद्धि कार्यान्वयनमा

काठमाडौं, १६ मंसिर। त्रिभुवन विश्वविद्यालयले लामो समयको अन्तरालमा गरेको उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक वृद्धि तत्काल कार्यान्वयनमा लैजाने भएको छ।
    बजारको बढ्दो मूल्यवृद्धिसँगै उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक लामो समयसम्म नबढाइएको भन्दै परीक्षकको गुनासो बढेपछि यसै वर्षदेखि त्रिविले पारिश्रमिक बढाउने निर्णय गरेको हो। त्रिवि कार्यकारी परिषद्को गत कार्तिक ३० गतेको निर्णयअनुसार यसअघि दिंदै आइएको स्नातक तहको प्रतिउत्तरपुस्तिका परीक्षणको रु. २० लाई रु. ३५ र स्नातकोत्तरको प्रतिउत्तरपुस्तिका रु. २५ लाई रु. ४० कायम गरिएको छ।
    उक्त निर्णयको कार्यान्वयन हाल वितरण गर्न लागिएको स्नातक तह प्रथम वर्षको उत्तरपुस्तिका परीक्षणमा नै लागु गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले तयारी गरेको परीक्षा नियन्त्रक केशव बास्तोलाले जानकारी गराउनुभयो। उत्तर पुस्तिका बुझाउने क्रममा विगतमा भइरहेका ढिलासुस्ती एवम् लापरबाहीलाई हटाउन यसपटक भने  विभिन्न मापदण्ड निर्धारण गरिएको छ। रासस