September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

दुई थान पेस्तोलसहित दुई युवक पक्राउ

गौशाला, १६ मंसिर। महोत्तरी जिल्लाको महोत्तरी गाविसमा गएराति दुई थान पेस्तोलसहित दुई युवक पक्राउ परेका छन्।
    पक्राउ पर्नेमा महोत्तरी गाविस–९ सनोखरा बस्ने २० वर्षीय रहमतुल्ला नदाफ र वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो। पक्राउ परेका युवकको साथबाट दुई थान अमेरिकन पेस्तोल, चार राउन्ड गोली र दुई थान साइकल बरामद भएको प्रहरी उपरीक्षक राणाले बताउनुभयो।
    युवकले हतियार ओसारपसार गर्ने गरेको सुराकीका आधारमा अञ्चल प्रहरी कार्यालय जनकपुरबाट खटिआएको विशेष प्रहरी टोलीले गएराति ७ बजे जलेश्वर–जनकपुर सडकखण्डअन्तर्गत पिपरा बजारबाट घर जाँदै गरेको अवस्थामा महोत्तरी गाविस–१ स्थित पर्सा पुलबाट दुवै युवकलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
    पक्राउ परेका युवकसँगै रहेका अर्का साथी स्थानीय सिकिन्द्र पासवान प्रहरीलाई देख्ने बित्तिकै भागेका छन्। पक्राउ परेका युवकमध्ये रहमतुल्ला नदाफ महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित अलहेब्स बोर्डिङ हाई स्कूलमा कक्षा १२ मा अध्ययनरत रहेका छन्। 
    पक्राउ परेका दुवै युवकलाई अञ्चल प्रहरीका विशेष प्रहरी टोलीले आवश्यक अनुसन्धानका लागि आफूसँगै जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।  रासस