September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

विद्युतीय शवदाह गृह तीन महिनापछि सञ्चालनमा कल्पना पौडेल

काठमाडौं, १६ मंसिर। पशुपति क्षेत्रमा निर्माणाधीन विद्युतीय शवदाहगृह तीन महिनापछि सञ्चालनमा आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
    कूल लागत रु ११ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको सो गृहको निर्माण कार्य अढाई वर्षअघिदेखि सुरु भइरहेको कोषका सदस्यसचिव गोविन्द टण्डनले बताउनुभयो। 
    भवनको काम सकिन लागेको र शव राख्ने ठाउँ (फरर्नेस)को काम पनि ७० प्रतिशत सकिसकेको कोषका वरिष्ठ निर्देशक श्याम शेखर झाले जानकारी दिनुभयो। 
    इन्डोमेन इन्जिनियरिङ वर्क कोलकात्ता भारतबाट रु. तीन करोड ६० लाखमा शवदाह मेसिन खरिद गरिएको हो। सो मेसिन जडानका लागि कम्पनीका मिस्त्री नेपाल आई काम गरिरहेको झाले बताउनुभयो। विद्युतीय शवगृहमा पौने घन्टामा शव खरानी बन्ने बताइन्छ। 
    सञ्चालनका लागि अझै तीन महिना पर्खिनुपर्ने विद्युतीय शवदाहगृहमा करिब २० शव राख्न सकिने फ्रिजसहितको भण्डार रहने छ। साथै क्रियापुत्रीका लागि तातो र चिसो पानी व्यवस्था भएको स्नानगृहसहितका कोठाहरू पनि रहनेछन्। शवदाह गर्ने बेलामा मलामी रहने कोठाको पनि निर्माण गरिएको छ। 
    गृह सञ्चालनमा आएपछि २४ घन्टा विद्युत् आवश्यक पर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणसँग साढे २१ लाखमा विद्युत् जडानको सम्झौता गरिएको छ। सव–स्टेसन निर्माणको काम पनि भइरहेको बताउँदै वरिष्ठ निर्देशक झाले शवदाहबाट निस्कने धुवाँ छानिएरमात्र निस्कने व्यवस्था भएकाले वायु प्रदूषण धेरै नहुने तर्क गर्नुभयो। 
    विद्युतीय शवदाहगृह सञ्चालन गर्नु परिवर्तित समयको माग हो भन्नुहुन्छ, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेल। 
    “हामीले यस्तो गृह सञ्चालनका लागि दुई दसकअघि पण्डितहरूको भेला गरी अनुमोदन गरेका थियौं तर काम निकै ढिला सुरु भयो,” दुई दसकअघि कोषका सदस्य रहिसक्नुभएका पौडेल सम्झनुहुन्छ।
    उहाँले गृह बनिरहेको स्थान पिङ्गलादेवी र पशुपति मन्दिरको बीच भागमा रहेकाले त्यहाँ दाहसंस्कार गर्दा पनि आर्यघाटमै गरेबराबरको फल प्राप्त हुने जानकारी दिनुभयो।
    काठमाडौंको पशुपति आर्यघाटमा दिनहुँ १५ जनाभन्दा बढी मानिसको दाहसंस्कार गर्ने गरिन्छ। प्रतिव्यक्तिका लागि २५० किलो दाउरा आवश्यक पर्छ। दिनमा पाँच हजार किलोग्रामभन्दा बढी दाउरा दाहसंस्कारका लागि आर्यघाट दाउरा डिपोले बिक्री गर्ने गरेको छ।
    दाउराको प्रयोगले हुने वायु प्रदूषण रोक्न, वातावरण स्वच्छ राख्नमात्र होइन विद्युतीय शवदाहगृह सञ्चालनमा आएपछि खर्च र समयको पनि बचत हुने पौडेलको भनाइ छ। “हामीले गर्ने विधि संस्कारअनुसार नै हुन्छ तर समय थोरै लाग्छ,” पौडेल भन्नुहुन्छ।
    मानिसलाई बिरुवा रोप्ने प्रेरणा मिलोस् भन्नाका लागि पनि यस्तो शवदाहगृह आवश्यक रहेको सरोकारवालाको भनाइ छ। रासस