September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

लन्डनमा अफगानिस्तान सम्मेलन हुँदै

इस्लामावाद, १६ मंसिर। पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ अफगानिस्तानको बारेमा हुन लागेको लन्डन सम्मेलनमा सहभागी हुनुहुने भएको छ। 
    सो बैठकमा सहभागिताका लागि उहाँ बेलायत जान लाग्नुभएको पाकिस्तानी विदेशमन्त्रालयले मङ्गलबार जनाएको छ। 
    बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पाकिस्तानी प्रधानमन्त्री शरिफलाई गत अक्टोबर २८ मा नै टेलिफोन गरी निमन्त्रणा दिनुभएको बताइएको छ।
    अफगानिस्तानका बारेमा लन्डनमा बुधबारदेखि दुई दिनसम्म लन्डनमा सम्मेलन हुन लागेको हो। सो सम्मेलनको आयोजक राष्ट्र बेलायत हो। 
    सो सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि सहभागी हुनुहुने छ। सो सम्मेलनमा सहभागिताका लागि अफगानिस्तानको सरकारका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाह पनि जानुहुने बताइएको छ। 
    सो सम्मेलनमा विश्वका ५० देशको सहभागिता रहने छ। साथै हिंसाको चपेटामा रहेको अफगानिस्तानलाई विगतदेखि सहयोग गर्दै आएका विभिन्न १५ वटा दातृ संस्था पनि सो सम्मेलनमा सहभागी हुँदैछन्।
    अफगानिस्तानलाई आर्थिक र विकासका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका ती राष्ट्र र निकायले आगामी दिनमा पनि अफगानिस्तानलाई के कस्तो मात्रामा सहयोग पुर्‍याउने भन्ने बारेमा सो सम्मेलनमा छलफल हुने बताइएको छ।
    सन् २०१४ पछि पनि त्यहाँ सीमित सङ्ख्यामा अमेरिकी सैनिक बस्ने भएका छन्। 
    तर अमेरिकी सैनिक त्यहाँको सुरक्षाका लागि फिल्डमा नै खटिने नभई सुरक्षा सल्लाहकारका रुपमा रहने सम्बन्धी सम्झौता यसअघि नै यी दुई देशले गरिसकेका छन्। 
    पाकिस्तानको विदेशमन्त्रालयले मङ्गलबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी अफगानिस्तानको सुरक्षाका बारेमा पाकिस्तानको पनि चासो रहेकोले सो सम्मेलनमा पाकिस्तानको सहभागिता हुन लागेको जानकारी दिएको छ।
    अफगानिस्तानमा लामो समयदेखि हिंसा मच्चाइरहेका तालिवानहरूले त्यहाँ विदेशी सैनिक एवम् दाताहरूको सहयोगको विरोध गर्ने गरेका छन्। सिन्ह्वा