September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

जापानमा निर्वाचन अभियान सुरु

टोकियो, १६ मंसिर। जापानमा मङ्गलबारदेखि आमनिर्वाचनको अभियान सुरु भएको  छ। संसदको तल्लो सभाको निर्वाचन यही डिसेम्बर १४ मा हुँदैछ। 
    हालैमात्र सो संसद विघटन गरिएको थियो। जापानी प्रधानमन्त्री सिन्जो अबेले आह्वान गर्नुभएको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन अभियान मङ्गलबारदेखि सुरु भएको हो। 
    प्रधानमन्त्री अबेले नयाँ र ताजा जनमतमा जानुपर्ने अवस्था आएको भन्दै नयाँ निर्वाचनको घोषणा गर्नुभएको थियो। यही नोभेम्बर २१ मा संसद विघटन गरी नयाँ निर्वाचनको मिति उहाँले तोक्नुभएको हो। 
    उहाँले यसअघि आफूले अघि सारेको आर्थिक विकासका साथै कर प्रणालीसम्बन्धी कार्यक्रममा सफलता प्राप्त हुन नसकेको भन्दै वर्तमान संसदमा आफ्नो स्पष्ट बहुमत चाहिएकोले संसद विघटन गर्नुभएको हो। 
    जापानी प्रधानमन्त्रीको वर्तमान कार्यकाल अझै दुईवर्ष बाँकी नै रहँदा उहाँले अर्काे निर्वाचनको घोषणा गर्नुभएको हो। उहाँले यो कार्यकालका लागि प्रधानमन्त्री भएको समयमा अलग्गै आर्थिक कार्यक्रम (अबेनोमिक्स) को घोषणा गर्नुभएको थियो। 
    तर केही समययता जापान आर्थिक मन्दीमा फसेको बताइएको छ। जापानमा आर्थिक विकासका विभिन्न कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा पुग्नुभएको उहाँले आफूले चाहेको काम गर्न संसदबाटै सम्भव नभएको बताउनुभएको छ।
    उहाँले आर्थिक मन्दीबाट जापानलाई माथि उठाउनका लागि यस मध्यावधि निर्वाचनको घोषणा गरिएको भन्दै यसलाई जनमत सङ्ग्रहको संज्ञा दिनुभएको छ। 
    मङ्गलबार निर्वाचन अभियानको सुरुवात गर्दै उहाँले निर्वाचनमा बहुमत दिई आफ्नो योजनालाई सफल बनाउन सबै जापानी नागरिकलाई आह्वान गर्नुभएको छ। 
    मङ्गलबार जापानी उत्तरी पोर्ट सहर सोमाबाट प्रधानमन्त्री अबेले सो निर्वाचनको अभियान थाल्नुभएको हो। उक्त सहर सन् २०११ को सुनामीबाट फुटेको दाइची अणुऊर्जा केन्द्रबाट ४० किलोमिटर मात्र टाढा पर्दछ। 
    जापानी संसदको तल्लो सभाका ४७५ स्थानका लागि एक हजार १८० जना उम्मेदवारले प्रतिश्पर्धा गरिरहेका निर्वाचन आयोगले जानकारी दिएको छ। 
    प्रधानमन्त्रीको दल नेसनल डेमोक्र्याटिकले उक्त निर्वाचनमा झिनो मतले विजय हासिल गर्ने अनुमान गरिएको छ। तर स्पष्ट आधारहरू भने नरहेको जानकारहरूको भनाइ छ। 
    हालैमात्र जापानी एक दैनिक पत्रिका आसाही सिम्बुनले गरेको सर्वेक्षणअनुसार अबे सरकारको लोकिप्रियतामा केही ह्रास आएको छ।    त्यसैकारण पनि यो निर्वाचनको परिणामका बारेमा अहिले नै अनुमान गर्न गाह्रो भएको विश्लेषकहरूको भनाइ छ। 
    तर प्रधानमन्त्रीले भने थोरै सङ्ख्याकै अन्तर रहेपनि आफ्नो दलले स्पष्ट बहुमत ल्याउने बताउँदै आउनुभएको छ। एएफपी