|
राष्ट्रसङ्घीय महासचिवद्वारा केन्यामा भएको हत्याको निन्दा
संयुक्त राष्ट्रसङ्घ, १७ मंसिर। संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले मङ्गलबार केन्यामा भएको आमहत्याको कडा शब्दमा निन्दा गर्नुभएको छ। उत्तरी केन्यामा भएको सो हत्या मानवता विरुद्धकै अपराध हो भन्दै त्यसमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न उहाँले माग गर्नुभएको छ। मङ्गलबार उत्तरपूर्वी केन्यामा बन्दूकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको थियो। सो कार्यको विश्वव्यापी रुपमा निन्दा गरिएको छ। मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले सुतिरहेका कामदारहरुलाई छानी छानी हत्या गरेको थियो। त्यहाँ निर्माणको काममा संलग्न रहेका उनीहरु त्रिपालमा सुतिरहेका थिए। उनीहरु सबैलाई लाइनमा उभिन लगाएर मुस्लिम र गैरमुस्लिम नागरिक भन्दै छानिएको प्रत्यक्षदर्शीले जनाएका छन्। यसरी छानेपछि शसस्त्र हतियारधारीको सो जत्थाले गैरमुस्लिम नागरिकलाई मात्र लाइनमा राखेर हत्या गरेका समाचारमा जनाइएको छ। बुधबार एक विज्ञप्ति प्रकाशन गरी महासचिव बानले उक्त कार्यको निन्दा गर्दै मारिएका परिवारका सदस्यहरुप्रति समवेदना प्रकट गर्नुभएको छ। सो स्थानमा सोमालियाको अल–कायदासँग आवद्ध अल सबाब र अन्य आतङ्ककारी समूहले शृङ्खलाबद्ध रुपमा आक्रमण गराउँदै आएका केन्याली सञ्चारमाध्यमले जानकारी दिएका छन्। सोमालियाली इस्लामिस्ट अतिवादी समूहले सो आक्रमण गरेको छ। सोमालियाली अल सबाब समूहले सो हत्याको जिम्मेवारी लिएको छ। महासचिव बानले यस हत्यामा संलग्नहरुलाई कानुनको कठघरामा उभ्याउन केन्या सरकारसँग माग पनि गर्नुभएको छ। यस्ता आतङ्कवादी क्रियाकलापबाट कदापि विचलित नभर्ई बढ्न आग्रह गर्दै आतङ्कवादको निर्मूलका लागि संयुक्त राष्ट्रसङ्घ सधैं केन्याको पक्षमा रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। सिन्ह्वा
|