|
इरानी राजदूतको निवासमा बम विस्फोट
साना, १७ मंसिर। यमनमा इरानी राजदूतको आवासलाई लक्ष्यगरी बुधबार बिहान एक बम विस्फोट भएको छ। सो विस्फोटनमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौं घाइते भएका प्रहरी अधिकारीहरुले जनाएका छन्। दूर नियन्त्रित यन्त्रद्धारा विस्फोट गराइएको सो कार बम विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौं व्यक्ति घाइते भएका पुष्टि गरिएको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेका छन्। सो बम विस्फोटबाट राजदूतको आवास क्षतिग्रस्त भएको तर सो समयमा राजदूत भने घरभित्र नभएको नाम नबताउने शर्तमा एक अधिकारीले जनाएका छन्। यमनको हाद्दा जिल्लामा कयौं विदेशी मिसनलाई लक्ष्यगरी आवासीय भवनहरु बनाइएको छ। अक्टोबर महिनाको सुरुमा नै सिते होउथी सदस्यहरुलाई लक्ष्यगरी अल कायदा आतङ्ककारी समूहले गरेको एक आत्मघाती बम आक्रमणमा ४७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका थिए। सिन्ह्वा
|