|
क्युवामा सम्पत्ति कारोबारमा कडाइ
हवाना, १७ मंसिर (आरएचसी)। क्युवाली सरकारले सम्पतिको बिक्री, खरिद घर दानबकस गर्दा कर छलीलाई रोक्न नयाँ नियमावली लागू गरेको छ। सम्पति कारोबारसम्बन्धी नयाँ कानुनलाई राष्ट्रपति राउल क्याष्ट्रोले अध्यक्षता गर्नुभएको गत शुक्रबारको क्याबिनेट बैठकले अनुमोदन गरेको थियो। नयाँ नियमावलीले घर खरिद–बिक्रीको कारोबार गर्दा र दान बकस बजार आधारित नयाँ मूल्य कायम गर्ने स्पष्ट पारेको छ। नियमावलीको घरको मूल्य बेडरुम सङ्ख्या, निर्माणको विधि, शहरी सेवा सुविधा, वरपरको वातावरण र ग्यारेज, प्राङ्गण र बगैंचाको अवस्थितिले घटीबढी हुने प्रस्ट पारिएको छ। क्युवामा सन् २०११ देखि नागरिकहरुलाई निजी घर राख्न र त्यसको खरिद बिक्री गर्न अधिकार दिइएको छ। आवासको निरन्तर अभावलाई पूर्ति गर्न सरकारले २०१० देखि निजी व्यक्तिमाथिको घर निर्माण र खरिद बिक्रीसम्बन्धी प्रतिबन्ध हटाएको थियो। गत वर्ष घर निर्माण र भएको घरको मर्मत सम्भारका लागि कर्जा र अनुदानसमेत दिने कार्यक्रम ल्याइएको थियो। क्युवाको केन्द्रीय बैङ्कले विगत तीनवर्षको अवधिमा ३.२३ विलियम पेसो व्यक्तिगत घर कर्जा दिएको र ती मध्ये ६३ प्रतिशत कोष घर निर्माण तथा मर्मत सम्भार विभागको सिफारिस अनुसार नै गएको जनाएको छ। |