|
जुम्ला उनन्चालिसौं डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा
जुम्ला, १८ मंसिर। डाइक्लोफेनेक विषादीका कारण गिद्ध संरक्षणमा परेको प्रभावलाई दृष्टिगत गरी मुलुकका ३८ वटा जिल्लासँगै जुम्लालाई पनि ३९ औं डाइक्लोफेनेक मुक्त जिल्लाका रूपमा घोषणा गरिएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्ला र नेपाल पक्षी संरक्षण सङ्घ काठमाडौंको संयुक्त आयोजनामा जिल्लास्थित सरोकारवालाको सहभागितामा जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो। घोषणा कार्यक्रममा नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत भूपाल नेपालीले नेपालमा हाल नौ जातका गिद्ध अस्तित्वमा रहेको र पहिलेको तुलनामा नेपालमा पनि ९१ प्रतिशत गिद्ध घटेकाले यसको संरक्षणका लागि ६ वटा जिल्लाका सातवटा ठाउँमा जटायु रेस्टुरेन्ट खोलिएको जानकारी दिनुभयो। जिल्ला वन अधिकृत हेमलाल अर्यालले विश्व सूचना र प्रविधिले मात्र नभई वातावरणीय दृष्टिले पनि एक गाउँ बनेको औंल्याउँदै पृथ्वीमा उत्पत्ति भएका पशुपक्षी र जीवात्मालाई संवेदनशील प्राणी मानवले सही प्रयोग गर्दा त्यसको राम्रै लाभ लिन सकिने बताउनुभयो। जिल्ला पशुसेवा कार्यालय जुम्लाका निमित्त कार्यालय गोविन्दबहादुर महतले पशु उपचारका लागि डाइक्लोफेनेक उत्पादन, बिक्री वितरण, आयात, निर्यात, भण्डारण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइसकेकाले त्यसो गर्ने जोकोहीलाई औषधि ऐन, २०३५ अनुसार ३ वर्ष जेल र पाँच हजार जरिवाना गर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो।
|