September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

गाउँमा अझै ढिके नुनको प्रयोग

इलाम, १८ मंसिर। मानव तथा पशु स्वास्थ्यमा पनि असर पुर्‍याउने ढिके नुन (खुला नुन) को प्रयोग गाउँ–गाउँमा अझै हटेको छैन। 
    पूर्वी सीमावर्ती गाउँका नाकाबाट अवैध तरिकाले भित्रिने ढिके नुन गाउँघरमा गाईवस्तुका लागि मात्र होइन, मानिसले पनि प्रयोग गर्ने गरेको पाइएको छ। जौबारी, मानेभञ्ज्याङ, पशुपतिनगर, श्रीअन्तु, जिर्मले लगायतका नाकाबाट त्यस्ता आयोडिन नभएको नुन ठूलो परिमाणमा भित्रिने गरेको स्थानीयवासीले बताएका छन्।
    भारतीय बजारबाट ल्याइने त्यस्तो नुन सीमावर्ती बजारमा खुलै रूपमा लामो समयसम्म राखिने र मौका पर्नासाथ नेपालका गाउँमा पठाइने गरेकाले पनि नुनमा भएको आयोडिनको मात्रा घट्ने जानकारले बताएका छन्। तुलनात्मक रूपमा सस्तो पर्ने साथै गाईवस्तुका लागि प्रयोगमा सजिलो भएकाले त्यस्तो नुनको प्रयोग भइरहेको छ। पूर्वी सीमा नाका र झापाबाट समेत खुल्ला रूपमा नुन आयात हुने र त्यस्तो गुणस्तरहीन नुन सोझै गाउँसम्म पुग्ने जमुनाका मनोज भट्टराईले बताउनुभयो।             साल्ट ट्रेडिङ लिमिटेडको झापास्थित कार्यालयका अुनसार त्यस्ता अहितकर नुन भित्र्याउने काम राजस्व गस्ती टोलीले नियन्त्रण गर्ने गरेको छ। झापाका विभिन्न ठाउँबाट समयसमयमा त्यस्तो नुन टोलीले बरामद गरेको कार्यालयले जनाएको छ। इलाममा भने हालसम्म त्यस्तो नुनको कारोबारमा कुनै किसिमको कारबाही भएको पाइएको छैन।
    नुनमा ५० प्रतिशत आयोडिन (पीपीएम)को मात्रा हुनैपर्ने नुन मानव र पशु स्वास्थ्यका लागि अत्यावश्यक हो। आयोडिनको कमीले मानिसको स्वास्थ्यमा थुप्रै नकारात्मक प्रभाव पर्नुका अतिरिक्त वस्तुभाउले पनि कम दूध दिने र रोगी हुने बताइएको छ। 
    उक्त कार्यालयका अनुसार आयोडिनयुक्त नुन मेची अञ्चलमा वार्षिक लाखौंको नुन खपत हुने गरेको छ। आयोडिनयुक्त नुनको मूल्य क्रमशः बढ्दै जाँदा ढिके नुनको माग ग्रामीण क्षेत्रमा बढी हुन थालेको बताइएको छ। रासस