September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

गोबर ग्यासको प्रयोगले जीवनचर्यामा सुधार देविका खुलिमुली

भक्तपुर, १८ मंसिर। नयाँ प्रविधि र सोचको विकासले गुण्डूका महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तनको रेखा कोरेको छ। गोबर ग्यासको अवधारणा र यसको निर्माणले गुण्डू ७ का स्थानीय महिलाको जीवनचर्यामा निकै सुधार आएको छ। ग्रामीण भेगका मानिसको लागि गोबर ग्यास इन्धनको स्रोतको रुपमा विकास भएको पाइन्छ। यसले प्रत्यक्ष रुपमा महिलाको जीवनचर्यालाई सकारात्मक प्रभाव पारेको देखिन्छ।
    किवाचोकका रमिता खुलिमुली गृहिणी हुन्। उनी खेतबारीको काम गर्छिन्। उनको घरमा २ वटा गाई र २ वटा बाच्छा छ। त्यसैले घाँस काट्ने, भकारो सोहोर्ने, दूध दुहुने आदि कामले कहिल्यै फुर्सदै पाउँदिनन्। यसका साथै खाना पकाउने काम पनि उनकै काँधमा पर्छ। तर विगत केही वर्षदेखि उनलाई खाना पकाउने काम गर्न कुनै झन्झट छैन। उनी भन्छिन्, करिब ८ वर्षअघि गाईको गोबर र गहुँतका साथै मानिसको मलमुत्रको प्रयोग गरी गोबर ग्यास बनाएका थियौं। त्यसैले खाना बनाउन दाउराको खोजी गर्न नपर्ने साथै विनाझन्झट नै खाना पकाउन सकिने भएपछि दिनचर्या नै सजिलैसँग बित्न थालेको छ। चुल्होमा आँखा पोल्ने गरी खाना पकाउने कामबाट उनी मुक्त भएकी छिन्।
    उनीजस्तै शान्ति थापाले पनि दुईवटा गाई पालेका छन्। साथै उनले पनि आफ्नो घरमा गोबर ग्यासको संयोजन गरेका छन्। उनले गोबर ग्यासबाट गर्मी महिनामा खाना पकाउन दिउँसोको खाजा बनाउन पनि पुग्ने पर्याप्त मात्रामा ग्यासको उत्पादन हुने तर जाडो मौसममा भने बिहानबेलुका खाना बनाउनमात्र पुग्ने ग्यासको उत्पादन हुने बताएका छन्।  उनका अनुसार गाईभैंसीको गोबर र गहुँतलाई गोबर ग्यास प्लानमा पानी मिलाएर तरल बनाई खसाल्ने र यसबाट ग्याँसको उत्पादन भई खाना पकाउन पनि सजिलो हुने साथै मललाई पुनः खेतबारीमा प्रयोग गर्न सकिने हुनाले गाईभैसी पालेका परिवारलाई यसले धेरै सहयोग पुर्‍याउने उनको भनाइ छ। उनी थप्छिन्, खाना पकाउनको लागि दाउराको खोजी गर्नु, चुल्होको धुवाँमा बसेर खाना पकाउनु र विद्युत तथा अन्य साधनको प्रयोग गरी खाना पकाउनुभन्दा त आफूसँगै भएको गाईवस्तुको गोबरको सदुपयोग गर्नु निकै फाइदाजनक भएको उनी बताउँछिन्। साथै खाना पकाउँदै अन्य काम पनि त्यही समयमा गर्न पाउनु गोबर ग्यासको अर्काे विशेषता रहेको उनको भनाइ छ।
    निर्मला सैजूले पनि गोबर ग्यासको प्लान्ट बनाएको करिब ८ वर्ष भयो। हाल उनका पनि दुई भैंसी छ। उनी भन्छिन्, गोबर ग्यास प्लान्टले मलाईमात्रै होइन पुरै परिवारलाई नै एकदम सहज बनाइदिएको छ। दुइटा भैंसीको गोबर, गहुँत र मानिसको दिसा पिसाबले हाललाई त खाना पकाउन पुग्ने ग्यासको उत्पादन भएको उनको भनाइ छ। उनले करिब १५ हजार खर्च गरी गोबर ग्यास प्लान्ट बनाएका थिए। तर यसले आफ्नो दैनिकी सहजता ल्याएको कुरामा दुईमत छैन। 
    वरपर गाईपालन गरेका मानिसहरूले गोबर ग्यासको संयोजन गरी निकै फाइदा पाएको देखेर कविता थापा पनि गोबर ग्यास प्लान बनाउने सोचमा लागेकी छिन्। उनले ६ वटा गाई पालेका छन्। उनी भन्छिन्, एल.पी. ग्यास किनेर खाना पकाउनुभन्दा आफ्नै घरमा भएका गाईवस्तुको गोबर र गहुँतबाट बन्ने गोबर ग्यास नै बनाउनु निकै फाइदाजनक देखें। अहिलेसम्म उनी चुल्होमा दाउरा बालेर र एल.पी. ग्यासमा पैसा खर्चेर खाना पकाइरहेका छन्। त्यसैले भविष्यमा गोबर ग्यास प्लान्ट बनाउने तयारीमा जुटेको उनको भनाइ छ।