|
काश्मिरमा तीन सैनिक र दुई प्रहरीको हत्या
श्रीनगर (भारत), १९ मंसिर। भारत प्रशासित काश्मिरमा शुक्रबार संदिग्ध हतियारधारीले एक सुरक्षा जाँच चौकीमा हमला गरी कम्तीमा पनि तीनजना सैनिक र दुई प्रहरीको हत्या गरेका छन्। भारत प्रशासित काश्मिरमा रहेको एक जाँच चौकीमा आक्रमण गरेका थिए। दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओएल) को नजिकै रहेेको उरी भन्ने स्थानमा रहेको चौकीमा आत्मघाती हमला भएको थियो। शुक्रबार बिहान भएको सो हमलामा परी दुई जना हतियारधारी पनि मारिएका छन्। उनीहरु आत्मघाती बम बोक्ने व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ। सो क्षेत्रमा विगतका केही हप्तायतादेखि यस्तो हमला जारी रहेको छ। जसका कारण दर्जनौं नागरिकको ज्यान गएको छ। पछिल्लो समयमा भारत र पाकिस्तानबीच द्वीपक्षीय रुपमा आपसी हमला जारी रहेको छ। दुवै तर्फका सैनिकबीच गोली हानाहान हुने गरेको छ। साथै गतहप्तादेखि काश्मिरमा स्थानीय निकायको निर्वाचन जारी रहेकोले पनि सो निर्वाचनका क्रममा हतियारधारी विद्रोहीले हिंसा मच्चाउने प्रयत्न गरिरहेका छन्। सो क्षेत्रमा हजारौंको सङ्ख्यामा अर्ध सैन्य बल खटाइएको छ। निर्वाचनको सुरक्षाका लागि पनि सो बल खटाइएको हो। यस्तो सुरक्षा अवस्थाकाबीच पनि हिंसा भड्किएको छ। काश्मिरमा आगामी सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जाँदै हुनुहुन्छ। उहाँको भ्रमणका लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय अधिकारीहरुले जनाएका छन्। तर यस्तो सुरक्षाका बाबजुद पनि हिंसा कम नभएकोमा भने चिन्ता व्यक्त गरिएको छ। जसका कारण निर्वाचनमा पनि असर पर्नसक्ने जनाइएको छ। सो आक्रमणपछि अर्का एकजना आक्रमणकारी पनि सो सैनिक क्याम्पभित्रै रहेको आशङ्का गरिएको छ। तर त्यस विषयमा सैनिकले अनुसन्धान जारी रहेको जनाएको छ। सो आक्रमणमा थप प्रहरी र सैनिक घाइते भएकोले उनीहरुलाई उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन्। एएफपी
|