|
|
|
चीनका पूर्वसुरक्षा प्रमुख झाउ पक्राउ
बेइजिङ, २० मंसिर। चिनियाँ कम्युनिष्ट पार्टीले पूर्व सुरक्षाप्रमुख झाउ योङकाङलाई पक्राउ गर्ने र बर्खास्त गर्ने निर्णय गरेको छ र यसलाई पर्यवेक्षकहरूले राष्ट्रपति सी जिनपिङको शक्ति सुदृढीकरणको रूपमा हेरेका छन्। झाउले चीनको सबैभन्दा शक्तिशाली पोलिटब्युरो स्थायी समिति (पीएससी) बाट सन् २०१२ मा अवकाश प्राप्त गर्नुभएको हो। उहाँलाई हाल घूस लिएको तथा राज्यको गोप्य कुरा चुहाएको आरोपमा न्यायिक अनुसन्धान राखिएको जानकारी सिन्ह्वा समाचार संस्थाले दिएको छ। झाउ कारबाहीमा परेका राजनीतिज्ञ बो सिलाईका नजिकका मित्रका रूपमा देखिनुभएको छ। झावका कडा नीतिका कारण बो सिलाई पार्टीको उच्च तहबाट झर्नुभएको ठानिएको थियो। सोही नीति झावको भराइको कारण बन्न पुगेको विशेषज्ञहरूले बताएका छन्। चीनको शक्तिशाली पेट्रोलियम उद्योगका प्रमुख व्यक्तित्व झाउ राष्ट्रपति सीको निकै प्रचार गरिएको भ्रष्टाचार नियन्त्रण अभियानको चपेटामा पर्नुभएको छ। उहाँलाई गम्भीर रूपमा अनुशासन भङ्ग गरेको आरोपमा अनुसन्धानमा राखिएको छ। सिन्ह्वाले पोलिटब्युरोले झाउलाई बर्खास्त गर्ने निर्णय शुक्रबार गरेको जानकारी दिएको छ। यसलाई पार्टीको सबैभन्दा केन्द्रमा रहेको नेताहरूको समूहले समर्थन गरेको सङ्केत देखिएको छ। दुई वर्ष अगाडि सी नेतृत्वमा आउनुभएपछि कम्युनिष्ट पार्टीका अधिकारीहरू भ्रष्टाचारविरोधी अभियानमा लागेका छन्। अधिकारीहरूले गर्ने भ्रष्टाचारप्रति चीनमा क्रोध बढेको छ र राष्ट्रपति सीले यसलाई पार्टीको अस्तित्वका लागि चुनौतीको रूपमा लिनुभएको छ र उहाँले यसका विरुद्ध अभियान सञ्चालन गर्नुभएको छ। यस अभिययानमा उच्चस्तरीय अधिकारीदेखि साना कर्मचारी पनि परेका छन्। अर्कोतिर आलोचकहरू कम्युनिस्ट पार्टीले भ्रष्टाचार हुन नदिन सम्पत्तिको सार्वजनिक प्रकाशन जस्तो प्रणालीगत रूपमा सुधार गर्न नसकेको आरोप लगाएका छन्। सिन्ह्वाले दिएको समाचारमा झाउले आफ्ना नातेदार, महिला मित्र तथा मित्रहरूलाई व्यापार गरी ठूलो मात्रामा नाफा कमाउन दिएको र सरकारी सम्पत्तिमा ठूलो मात्रामा नोक्सानी पारेको आरोप पोलिटब्युरोले लगाएको उल्लेख गरिएको छ। सिन्ह्वा समाचार संस्थाले यस विषयमा बढी सरल भाषा प्रयोग गरी झाउले अनेकौं महिलासँग शारीरिक सम्बन्ध राखेको र यौनसम्पर्क तथा पैसाका लागि आफ्नो शक्ति प्रयोग गरेको उल्लेख गरेको छ। जुन महिनामा अधिकारीहरूले कुनै पनि अधिकारी सम्बन्धका विषयमा दोषी प्रमाणित भए निजलाई पद तथा पार्टीको सदस्यबाट हटाउन सकिने बताएका थिए। ् सिन्ह्वा/एएफपी
|
|
|
| |
|