|
विवेकयुक्त मेसिनले मानिसलाई नै समाप्त पार्ने वैज्ञानिकको चेतावनी
लण्डन, २२ मंसिर। मानिसले जस्तै सोच्ने तथा काम गर्नसक्ने मेसिनको निर्माण मानव जातिकै अस्तित्वका लागि खतरनाक भएको प्रसिद्ध भौतिकशास्त्री स्टेफेन हकिंग्सले चेतावनी दिएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा हकिंग्सले भनेका छन्, 'पूर्ण कृत्रिम बुद्धियुक्त प्रविधिको विकाशले मानव जातिकै अस्तित्वलाई अन्त्य गरिदिन सक्छ।' मोटर स्नायु सम्बन्धि रोग एमियोट्रोफिक ल्याटेरल स्क्लेरोसिस (एएलएस) बाट पीडित हकिंग्स बोल्ने लगायतका वि्र्कयाकलाप गर्न सक्दैनन्। इन्टेलले विकास गरेको यस्तै कृत्रिम बुद्धियुक्त प्रविधिका माध्यमबाट उनले भन्न खोजेका कुराहरू शब्दमा परिणत गरिन्छ। आफैले सम्वाद गर्न प्रयोग गर्ने प्रविधितर्फ लक्षित गर्दै उनले मानिसले जस्तै काम गर्न सक्ने र मानवीय बुद्धि तथा विवेकको प्रयोग गर्नसक्ने प्रविधिको तीव्र विकास मानवीय सभ्यताकै लागि घातक हुने बताएका हुन्। वैज्ञानिक हकिंग्सले भन्न खोजेका तथा बोल्न खोजेका कुरा र उनले प्रतिपादन गर्ने सिद्धान्तलाई शब्दमा बदल्ने स्मार्टफोन कीबोर्ड एपको निर्माणमा बेलायती कम्पनी स्विफ्ट की पनि लागिपरेको छ। कृत्रिक विवेकयुक्त प्रविधिका केही परम्परागत आविष्कारहरू निकै उपयोगी भए पनि कालान्तरमा मानिस जत्तिकै वा मानिसभन्दा पनि बढी विवेकी उपकरण निर्माण हुनसक्नेतर्फ उनले सङ्केत गरे। मानिसले बनाएको त्यस्तो कृत्रिम विवेकयुक्त उपकरणले मानिसलाई नै बेवास्ता गर्दै आफैले आफूभन्दा अझै विवेकी प्रविधि विकाश गर्ने खतरा हुने उनले बताए। निकै धीमा जैविक क्रम विकाशमा बाँधिएका कारण मानिसले त्यस्ता उच्च विवेकयुक्त प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले चेतावनी दिए।
|