|
मालेमा खानेपानीको चरम सङ्कट
माले, २० मंसिर। मालद्वीपको प्रमुख खानेपानी प्रशोधन संयन्त्रमा आगो लागि यस मुलुकमा खानेपानी आपूर्तिमा सङ्कट देखिएपछि राष्ट्रपति अब्दुल्लाह यामिनले शनिबार यहाँका जनतालाई धैर्यका लागि आग्रह गर्नुभएको छ। उक्त संयन्त्रमा बिहीबार आगो लागेको हो र शनिबार राजधानी मालेको प्रायः भागमा खानेपानीको अभाव देखिएको छ। राष्ट्रपतिको कार्यलयले एक विज्ञप्ति प्रकाशन गरि राष्ट्रपति अब्दुल्ला यामिनले मालद्वीपका जनतालाई राष्ट्रिय सङ्कटका समयमा धैर्य गरी तथा एक भई यसलाई समाधान गर्न सरकारसँग मिलेर काम गर्न आग्रह गर्नुभएको उल्लेख गरेको छ। विज्ञप्तिमा राष्ट्रपति यामिनले सङ्कट समाधान नभएसम्म निरन्तर र पर्याप्त खानेपानी आपूर्ति रहने आश्वासन दिनुभएको उल्लिखित छ। मालेका धारामा शुक्रबार पानी नआएपछि भारत तथा श्रीलङ्काले हवाई मार्गबाट खानेपानी बोतल आपूर्ति गरिरहेका छन्। भारतले खानेपानी प्रशोधन गर्ने क्षमता भएको जहाजहरू पनि मालद्वीपतर्फ पठाएको छ। सरकारले शनिबार मालेका एक लाख २० हजार ब्ाासिन्दा तथा बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान तथा श्रीलङ्काका कामदारहरूलाई समेत निःशुल्क पानी उपलब्ध गराउने जानकारी दिएको छ। अधिकारीहरूले पानी प्रशोधन केन्द्र मर्मत गर्न तथा पानी आपूर्ति नियमित गर्न पाँच दिन लाग्ने अनुमान गरेका छन्। एएफपी
|