September 1, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

पूर्वप्रथम महिलाको निधनमा ब्राजिलमा शोकको घोषणा

रियो दि जेनेरियो, २२ माघ। ब्राजिलकी पूर्वप्रथम महिला मरिसा लेटिकिआ लुला दा सिल्भाको निधनमा ब्राजिलमा तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ।  

राष्ट्रपति मिचेल टेमरले पुर्वराष्ट्रपति लुइज इनाकिओ लुला दा सिल्भाकी श्रीमतीको निधनमा शुक्रबार राष्ट्रिय शोकको घोषणा गर्नुभएको हो। उहाँको शुक्रबार नै निधन भएको थियो।    

बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा पनि उहाँको मस्तिष्कले लामो समयदेखि काम नगरेको उल्लेख गरिएको छ। उहाँ ६६ वर्षकी हुनुहुन्थ्यो भने चार जना छोरा छन्। 

राष्ट्रपति टेमरले पूर्वराष्ट्रपति लुलालाई भेटेर सहानुभुति व्यक्त गर्नुभएको छ। स्वर्गिय मरिसाको अन्त्यष्टिको कार्यक्रम अहिलेसम्म एकिन भइनसकेको पनि बताइएको छ। 

स्वर्गीय मरिसा इटालीको आप्रवासी गरिब परिवारमा जन्मिनुभएको थियो। उहाँले सुरुमा नौं वर्षकै उमेरमा धनी परिवारको घरमा बालबच्चा स्याहारसुसार गर्ने काम गर्नुभएको थियो। 

लुलालाई पहिलो पटक भेट्दा उहाँ विधवा भइसक्नुभएको थियो। उहाँको पहिलो श्रीमान् ट्याक्सी चालक हुनुहुन्थ्यो। पहिलो पटक गर्भवती भएका बेला उहाँका पहिलो श्रीमान्को मृत्यु भएको थियो। त्यसपछि उहाँले लुलासँग सन् १९७४मा विवाह गर्नुभएको हो। लुलातर्फ उहाँँको थप तीन जना छोराहरू रहेका छन्। 

सन् १९७० को दशकमा उहाँ वर्कर्स पार्टीको सदस्यका रुपमा मजदुर आन्दोलन र राजनीतिमा सक्रिय हुनुभयो। ब्राजिलमा उहाँ निकै चतुर प्रथम महिलाको रुपमा परिचित हुनुहुन्थ्यो। उहाँ अन्तर्वार्ता दिन र चर्चामा आउन मन नपराउने व्यक्ति हुनुहुन्थ्यो। 

सिन्ह्वा