हिमपहिरो र चिसोको कारण मृत्यु हुनेको सङ्ख्या ११९
काबुल (अफगानिस्तान), २५ माघ। अफगानिस्तानको मध्य तथा उत्तरपूर्वी राज्यहरूमा व्यापक हिमबर्षापछि बढेको अधिक चिसो र हिमपहिरोको कारण पछिल्ला केही दिन यता भएका घटनामा ११९ जनाको मृत्यु भएको अफगानी अधिकारीले सोमबार बताएका छन्।
मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रमा उक्त समयमा व्यापक हिम वर्षा भएको र थुप्रै स्थानमा दर्जनांै मानिसहरू हिउँमा फसेका यहाँको प्रशासनले जनाएको छ।
लगातारको हिम वर्षाका कारण अफगानिस्ताको राजधानी काबुलस्थित विमानस्थलमा अवतरण हुने र त्यहाँबाट बाहिरिने उडान सेवा पनि आइतबार पूरै प्रभावित बनेको थियो। हिउँ र चिसोले अफगानिस्तानका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कतिपय स्थानमा हिम पहिरोले एक बस्तीका केही घरलाई पुरेको र घरका भग्नावशेषभित्र दर्जनांै मानिस रहेको सूचनाका आधारमा उद्धार कार्र्य प्रभावकारी रूपमा भइरहेको प्रवक्ता नवीद फ्रोटानले बताउनुभयो। प्राप्त समाचारअनुसार प्रावन राज्यको सियागर्ड सुर्खपर्षा जिल्लामा पनि हिम पहिरोको कारण दर्जनौ मानिसकोे मृत्यु भएको छ।
त्यसैगरी अफगानिस्तानकै सारीपुलको बाल्खव, बादखास्तान क्षेत्रमा पनि हिम पहिरोमा परी कैयौं मानिसले ज्यान गुमाएको बताइएको छ। उक्त क्षेत्रमा हिम वर्षाको कारण सडक आवागमनमा व्यापक समस्या भएको बताइएको छ। सरकारले हिम वर्षासँगै बढको चिसोको कारण मुलुकभर आइतबार सार्वजनिक बिदाको घोषणा गरेको छ।
सिन्ह्वा
|