October 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

राष्ट्रपतिद्वारा मन्त्रीहरू नियुक्त

सोल, ७ जेठ। दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जाए इनले आइतबार राष्ट्रपति कार्यालयका लागि उच्चस्तरीय कर्मचारी र केही मन्त्रीहरू नियुक्त गर्नुभएको छ। 

राष्ट्रपति कार्यालय ब्लु हाउसमा पत्रकार सम्मेलन गरी राष्ट्रपति मुनले सुरक्षा, परराष्ट्र मामिला र अर्थ मन्त्री नियुक्त गरेको घोषणा गर्नुभएको हो।   

उहाँले चुङ इउइ योङलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरी राष्ट्रपतिको कार्यालयमा रहेको राष्ट्रिय सुरक्षा कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ। कूटनीतिज्ञको रुपमा राम्रो अनुभव भएका व्यक्तिका रुपमा चिनिने योङ यसअघि युरी पार्टीबाट सांसद समेत हुनुभएको थियो। 

राष्ट्रपतीय निर्वाचनको बेला उहाँले मुनको कूटनीतिक नीतिका मामिलामा सल्लाहकारहरूको समूहको नेतृत्व गर्नुभएको थियो। चाङ योल्सेई विश्वविद्यालयका प्राध्यापक पनि हुनुहुन्छ।  

त्यसैगरी स्थानीय दैनिक पत्रिका र केवल टेलिभिजनका पूर्वप्रमुख होङ सोकह्यानलाई उहाँले सुरक्षा र कूटनीतिक मामिलाको एक विभागको प्रमुखको रुपमा नियुक्त गर्नुभएको छ। होङ अमेरिकाका लागि पूर्वराजदूत पनि हुनुहुन्छ भने उहाँसँग अमेरिकामा ठूलो सञ्जालसँग व्यक्तिगत राम्रो संवन्ध भएको मानिन्छ।  

आर्थिक क्षेत्रमा उहाँले कोरिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक चाङ हासुङलाई नीति निर्माणको क्षेत्रको प्रमुखका रुपमा नियुक्त गर्नुभएको छ। उहाँले आर्थिक नीतिहरूको निर्माणका लागि समन्वयकारी र नेतृत्वदायी भूमिका खेल्नु हुनेछ। उहाँ दक्षिण कोरियामा एकदमै चर्चित बुद्धिजीवी तथा नागरिक अगुवा हुनुहुन्छ।  

राष्ट्रपति मुनले अहिले सुरक्षा, परराष्ट्र मामिला र आर्थिक विषयलाई प्राथमिकतामा राखेर उहाँहरूलाई नियुक्त गरेको बताउनुभएको छ। 

उहाँले अजोउ विश्वविद्यालयका अध्यक्ष किम डोङ येनलाई अर्थमन्त्रीको रुपमा नियुक्त गर्नुभएको छ। उहाँलाई उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिइएको छ। 

आफू ११ वर्षको हँुदा बुबालाई गुमाउनुभएका किमले लगातार आफ्नै मेहनतले सरकारी सेवाको परीक्षा पनि उत्तीर्ण गरेर सरकारी कर्मचारी संयन्त्रको अर्थतन्त्र क्षेत्रको उच्च तहमा पुग्नुभएको छ।   

राष्ट्रपति मुनले पत्रकार सम्मेलनमा किमलाई क्षमतावान अर्थशास्त्री तथा सरकारी कर्मचारी भएकाले आर्थिक क्षेत्रको नेतृत्व गर्न सक्ने विश्वास गर्नुभयो।  

संयुक्त राष्ट्रसङ्घका महासचिवका पूर्व विशेष सल्लाहकार लागि काङ क्युङ हवालाई परराष्ट्र मन्त्री बाइएको छ। उहाँ दक्षिण कोरियाको संसदीय शासन व्यवस्था सुरु भएदेखिको पहिलो महिला परराष्ट्र मन्त्री हुनुहन्छ। 

उहाँले नियुक्त गरेकामध्ये सल्लाहकार तथा उच्च कर्मचारीलाई संसदीय सुनुवाई गर्नु नपर्ने व्यवस्था भएपनि मन्त्रीहरूलाई भने संसदीय सुनुवाइ गरेर अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ। सिन्ह्वा