September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

चिनियाँ राष्ट्रपति सि हङकङ जाँदै

हङकङ, ९ असार। चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्काे हप्ता हङ्कङ जादै हुनुहुन्छ। आगामी हप्ता उहाँले हङ्कङ भ्रमण गर्न लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शुक्रबार सार्वजनिक गरेका छन्।  

हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० वर्ष पुग्न लागेको छ। सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लाग्नुभएको हो। 

यस समाचारलाई सार्वजनिक गरिएको भए पनि उहाँले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरूले भने केही बताएका छैनन्।  

उहाँ सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो। चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उहाँको हङ्कङ भ्रमण निश्चित भएको समाचार शुक्रबार छापेको छ। 

तर सो समाचारमा एकजना सरकारी अधिकारी भनेर दिइएको छ र ती अधिकारीको नाम भने खुलाइएको छैन। त्यसैले पनि उक्त समाचारको विश्वसनीयताको प्रश्न उठाइएको छ।  

हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ। सो आन्दोलनमा चीनले अङ्कुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसको कारण निराशा छाएको पनि बताउँदै आएको छ।  

यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्नुहुनेछ भन्ने अनुमानहरू पनि आइरहेको बेला शुक्रबार उक्त चिनियाँ पत्रिकाले सो समाचार सार्वजनिक गरेको छ। 

प्रदर्शनकारीहरूले हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी पनि गरेका छन्। त्यसैले पनि उहाँको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरू बताउँछन्। 

एएफपी