September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

इरानद्वारा कतारलाई दैनिक ११ हजार टन खाद्यान्न निर्यात

तेहरान, ९ असार। साउदी अरबको नेतृत्वमा खाडी मुलुकहरूले दोहासँग सम्बन्ध तोडेपछि इरानले दैनिक एक हजार टन फलफूल र तरकारी कतार पठाएको जनाएको छ। 

साउदी अरब, संयुक्त अरब इमरेट्स र बहराइनलगायतका कतारसँग सम्बन्ध तोडेका देशहरूले भने यो सहयोगलाई अतिवादीहरूप्रतिको सहयोगको रूपमा लिएको फार्स समाचार समितिले बिहीबार जनाएको छ।  

ती देशहरूले गत जून ५ देखि कतारसँग सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेद गरेका देशहरूको आरोपलाई कतारले भने अस्वीकार गरेको छ। 

इरान साउदी अरबको कडा आलोचक हो। इरानको बौशेहर प्रान्तका निर्देशक मोहम्मद मेहदी बोञ्चारीले तेहरानले कतारका लागि दैनिक ११ हजार खाद्यपदार्थ पैठारी गरेको बताउनुभएको फार्सले जनाएको हो। इरानले इमिरेट्सलाई पनि खाद्यान्न पठाएको छ। 

जून ११ तारिखका दिन राष्ट्रिय वायु सेवाले कतारलाई पाँच वटा जहाजमा तरकारी पठाएको एएफपीलाई बताएको थियो। 

त्यही दिन इरानले ६६ टन मासु र विभिन्न जनावरहरू पनि कतार पठाएको फार्सले जनाएको छ। त्यसपछि पनि ९० टन मासु कतार पठाइएको छ। 

कतारको हवाई सेवाले साउदी अरब, यमन र बहराइनले आफ्नो आकास कतारी विमानलाई नदिने बताएपछि केही उडानलाई रुट परिवर्तन गरी इरानको बाटो भएर कतार ल्याएको थियो। यसले इरानी आकासमा १७ प्रतिशतले ट्राफिक वृद्धि भएको छ। 

इरानले विवाद अन्त्य गर्न कतार र खाडी मुलुकका छिमेकी देशहरूका बीचमा संवादको आवश्यकता रहेको बताउदै आएको छ। 

इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफले कतारविरुद्धको नाकाबन्दीजस्ता खाडी मुलुकसँगको विवाद दीर्घकालका लागि समाधान गर्न एउटा स्थायी संयन्त्र बनाउन आह्वान गर्नुभएको छ। एएफपी