September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

हिन्दू राष्ट्रवादीले भारतलाई चीनसँग लडाइँमा घचेट्दै छ

यु निङ 

भारतीय सेना अवैधानिक रुपमा दोक्लाम क्षेत्र प्रवेश गरेपछि चीन र भारत सम्बन्ध विगत एक महिनादेखि तनावग्रस्त छ। दुई देशबीचको सिमाना  नाघेको आफ्नो सेनालाई फिर्ता गर्न चीनले गरेको आग्रहको बेवास्ता गर्दै नयाँ दिल्लीले उत्तेजना फैलाउने कामलाई जारी राखेको छ। साथै यही बेला राष्ट्रवादको नाममा भारतमा चीनविरोधी भावना व्यापक बनेको छ। 

भारतले चीनमाथि गहिरो रणनीतिक सन्देह पाल्दै आएको छ। भारत चीनलाई आफ्नो प्रतिस्पर्धी र सम्भावित दुश्मनको आँखाले हेर्ने गर्दछ। विगत लामो समयदेखि चीनले भारतलाई घेराबन्दी गर्न 'मोतीको दाना' बुन्दै आएको भन्ने भ्रम भारतले फैलाउँदै आएको छ। बेल्ट एण्ड रोड पहलकदमीमा भारतलाई आमन्त्रण गर्ने सदाशयता चीनले देखाए तापनि भारतले यो परियोजनालाई चीनको रणनीतिक चालबाजी र भारत घेर्ने नीतिको रुपमा व्याख्या गर्दै आएको छ। 

सन् १९६२ मा भएको चीन–भारत लडाइँमा भारत पराजीत भएपछि केही भारतीयहरूमा अझै पनि चीन प्रति शून्य सहनशीलताको मनस्थिति बाँकी नै छ। त्यो भारतको लागि दीर्घ पीडाको विषय बनेको छ र त्यो गाँठो फुकाउन भारतलाई असाध्यै कष्टप्रद बनेको छ। फलतः भारत जे कुरालाई पनि चिनियाँ रणनीतिको रुपमा सन्देह गर्ने दृष्टिदोष पालेर बसेको छ। चीनको विकासलाई भारतले दुर्भाग्यको रुपमा लिएको छ। चीन जति गतिमा विकास हुन्छ, भारत त्यत्ति नै गतिमा आतङ्कित बन्दै गएको छ। 

चीनसँग बदला लिन माग गर्ने राष्ट्रवादी भावनाले सीमा युद्धयता भारतमा जरा गाडेको छ। नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीको रुपमा निर्वाचित भएयता भारतका राष्ट्रवादी शक्तिहरू अझ उत्साहित बनेका छन्। मोदीले हिन्दुवादी राष्ट्रवादको उदयलाई आफू सत्तामा उक्लने भर्‍र्याङको रुपमा उपयोग गरे। यसले एकातिर उनको इज्जत बढाएको छ र देशलाई नियन्त्रण गर्नसक्ने बनाएको छ भने अर्कोतिर भारतमा अनुदारवादीहरूको प्रभाव व्यापक बनेको छ। फलतः सुधारात्मक पक्ष क्रमशः फितलो बन्दै गएको छ। कूटनीतिक क्षेत्रमा नयाँ दिल्ली विशेषतः पाकिस्तान र चीनसँगको सम्बन्धमा कडा ढङ्गले प्रस्तुति हुने गरेको छ। यो पटकको सीमाना विवाद भारतका धार्मिक राष्ट्रवादीहरूलाई खुसी बनाउन चीनलाई निशाना बनाइ गरिएको कारबाही हो। 

धार्मिक राष्ट्रवादीहरू अतिवादी भए मोदी सरकारले केही गर्नसक्ने छैन। जसरी सन् २०१४ मा उनी सत्तासीन भए यता मुस्लिम समुदायविरुद्ध भएका हिंसात्मक घटना रोक्न उनको सरकार विफल भयो।    

चीन–भारतबीच एक अर्काको शक्ति र बुद्धिको प्रतिस्पर्धा भइरहेको छ। शक्तिको हिसाब त भारत चीनसामु कमजोर छ नै। तर उसका रणनीतिज्ञ र राजनीतिक नेताहरूले उठ्दो राष्ट्रवादले भारतको चीन नीति अपहरण गर्नबाट जोगाउने बुद्धिमानी देखाउन सकेका छैनन्। यसले भारतका हितलाई नै सङ्कटमा पार्ने पक्का छ। भारत सावधान बन्न जरुरी छ र धार्मिक राष्ट्रवादीहरूलाई दुवै देशलाई लडाइँमा घचेट्ने मौका दिनुहुन्न। 

ग्लोबल टाइम्स जुलाई १९ २०१७ (प्रस्तुतिः अभिनव)