September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

हिंसात्मक बन्दै दार्जिलिङ आन्दोलन

हिन्दुस्तान टाइम्स पत्रिकाअनुसार बुधबार दार्जिलिङको कार्सनमा बेलायती उपनिवेशकालीन सामुदायिक हलमा गोर्खाल्याण्डका समर्थनहरूले आगजनी गरेका छन्। हल बंगाली सङ्गठनले सञ्चालन गर्दै आएको थियो। मुखमा मास्क लगाएका एक समूह मानिसले राति झण्डै दुई बजेतिर राज राजेश्वरी हलमा आगजनी गरेका थिए। 

गोर्खा जनमुक्ति मोर्चाका नेताहरूले सो आगजनीमा मोर्चाका सदस्यहरूको कुनै संलग्नता नभएको बताएका छन्। सन् १९३० को दशकमा बनाएको राज राजेश्वरी हल सन् १९८६ र २००७ को गोर्खाल्याण्ड आन्दोलनमा केही भएको थिएन। 

हल तोडफोडपश्चात् उनीहरूले तेल छर्केर आगो लगाएका थिए', एक जना प्रहरी अधिकारीलाई उद्धृत गर्दै द टाइम्स अफ इण्डियामा लेखेको छ,'प्रहरी नआउञ्जेल स्थानीय मानिस त्यहाँ जान निकै डराएका थिए।' 

कार्सनमा बंगाली सङ्गठन झण्डै एक शताब्दी पुरानो हो। त्यसमा ८० जना सदस्यहरू छन्। गएको फेब्रुअरीमा पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले त्यो हल जीर्णोद्धार गर्न ३८ लाख भारु बजेट विनियोजन गरेको थियो। 

हलको जीर्णोद्धार कार्य हड्तालकै कारण रोकिएको थियो। हल सञ्चालक समितिका सदस्य चन्दन कर्माकारले द टेलिग्राफलाई भने ,'हिजोको आगजनीमा सबै पुराना कागजात, साउण्ड सिस्टम र फर्निचर ध्वस्त भयो।' 

हिंसा अरुतिर पनि बिहीबारबाट दार्जिलिङमा अनिश्चितकालीन हड्ताल भएको ३६ दिन पुगेको छ। यसबीच सहरका धेरै भागमा हिंसा भड्किनुका साथै आगजनी भएको छ। गोर्खा जनमुक्ति मोर्चाको महिला सङ्गठनले शुक्रबार दार्जिलिङमा धिक्कार जुलुस निकाल्न लागेको द टेलिग्राफले जनाएको छ। 

दार्जिलिङको चोक बजारमा अवस्थित त्रिनमुल काङ्ग्रेसको पार्टी कार्यालयमा गएको बुधबार तोडफोड गरिएको थियो। त्यही स्थानमा तैनाथ प्रहरीको एउटा सवारी साधनसमेत तोडफोड भएको डिएनए समाचारले जनाएको छ। कर्साङकै नागरी ग्राम पञ्चायत कार्यालय र पर्यटक आवास गृह पनि गोर्खाल्याण्डका समर्थकहरूले आगजनी गरेको आरोप लगाइएको छ। 

पश्चिम बंगालका सबै राज्य सञ्चालित विद्यालयहरूमा बंगाली भाषा अनिवार्य गर्ने भनी त्यहाँका मुख्यमन्त्री ममता बेनर्जी सरकारले निर्णय गरेलगत्तै गएको जून महिनाबाट दार्जिलिङमा आन्दोलन सुरु भएको हो। 

बेनर्जीले दार्जिलिङको हकमा यो नयाँ निर्णय लागू नहुने जानकारी दिए तापनि गोर्खाल्याण्ड जनमुक्ति मोर्चाले आन्दोलनमा पुरानै अलग गोर्खाल्याण्ड राज्यको मागसँग जोडेको छ।