September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

प्रजग कोरियाद्वारा अमेरिकी नाकाबन्दीको विरोध

प्योङयाङ, २० साउन। संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको प्रजग कोरियाले कडा शब्दमा विरोध गरेको छ।  

उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम र कानुनविपरीत रहेको दाबी पनि गरेको छ। सो नाकाबन्दीको प्रजग कोरियाले कडा शब्दमा विरोध गरेको यहाँको सरकारी समाचार समितिले जनाएको छ।  

प्रजग कोरियाले यही जुलाई महिनाको पहिलो हप्ता एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो। गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण जारी राखेको छ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार जारी गरेको सो नाकाबन्दीको कानुनको प्रजग कोरियाले विरोध गरेको यहाँको सरकारी समाचार समिति, केसिएनएले जनाएको छ।  

प्रजग कोरियाको विदेश मन्त्रालयलाई उद्धृत गर्दै सो समाचारमा भनिएको छ,– 'प्रजग कोरियालाई अमेरिकाको यो नाकाबन्दीले कुनै असर पर्दैन बरु हामीलाई आफै आत्मनिर्भर हुन सघाउ पुर्‍याउँछ।' 

प्रजग कोरियाली राजधानी प्योङ्याङ्को नजिकको समुद्रबाट परीक्षण गरिएको भनिएको यो पछिल्लो अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र अमेरिकाको अलास्कासम्म पुग्नसक्ने क्षमताको भएको प्रजग कोरियाले दाबी गरेको छ।  

प्रजग कोरियाले सो परीक्षणपछि दिएको प्रतिक्रियामा आफूले अमेरिकाको अलास्कासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र हानेको जनाएको थियो। त्यस अभिव्यक्तिको अमेरिकाले असम्भव भन्दै खण्डन गरेको थियो।  

यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरिया र जापानले पनि प्रजग कोरियाको निन्दा गरेका छन्। यस विषयमा राष्ट्रपति ट्रम्प र जापनका प्रधानमन्त्री सिन्जो आबेबीच हालै फोनवार्ता पनि भएको थियो।  

सो वार्तापछि प्रजग कोरियालाई थप आर्थिक नाकाबन्दी लाउने र कूटनीतिक दबाब दिनेमा दुवै देश सहमत भएका थिए। 

सिन्ह्वा