November 17, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

टेलिभिजनमा अन्तर्वार्ता दिँदै गर्दा जाम्बियाका विपक्षी नेता पक्राउ

लुसाका (जाम्बिया) २० साउन। जाम्बियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वार्ता दिइरहेका समयमा विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ।  

  विपक्षी दल युनाइटेड प्रोग्रेस पिपुल्स (यूपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तर्वार्ता दिइरहेको बेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।  

सादा पोशाकमा आएका प्रहरीले उहाँलाई पक्राउ गरेको उहाँको पार्टी यूपीपीले पुष्टि गरेको छ।  

पार्टीका प्रवक्ता किटीजो मुकुकाले आफ्नो नेतालाई प्रहरी मुख्यालयमा राखिएको भए पनि अहिलेसम्म पक्राउ गर्नुको कारणको बारेमा केही स्पष्ट नपारेको जानकारी दिनुभयो। 

प्रहरी प्रवक्ता इस्थेर म्वाता कातोङ्गोले पनि उहाँलाई पक्राउ गरिएको पुष्टि गरे पनि अन्य जानकारी दिन भने अस्वीकार गर्नुभयो। 

“उहाँलाई हामीले ल्याएका हौं, तर अरू विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन,” कातोङ्गोले भन्नुभयो।  

प्रहरीद्वारा पक्राउमा पर्नुभएका विपक्षी दलका नेता चिसिम्बा राष्ट्रपति इड्गार लुङ्गु नेतृत्वको सरकारका खरो आलोचक हुनुहुन्छ भने सरकारको तर्फबाट हालै भएको भ्रष्टाचारसम्बन्धी केही विवरणहरू पनि प्राप्त गर्नुभएको छ। 

नेता चिसिम्बाले हालैमात्र “हाम्रो पैसा फिर्ता देऊ” नामक पुस्तक प्रकाशित गर्नुभएको थियो। सरकारी अधिकारीले धेरै भ्रष्टाचार गरेका छन्, त्यसका विरुद्धमा अभियान चलाउनुपर्छ भन्ने आशय पुस्तकमा भएको बताइएको छ।  

सरकारविरोधी अभियानकै कारण उहाँलाई केहीदिनदेखि सुरक्षाकर्मीले पछ्याइरहेका थिए।   

अहिले पक्राउ गरिएका नेताकै पार्टीका अर्का नेता हकैन्डे हिचिलेमालाई पनि गत अप्रिलमा राजद्रोहको मुद्दा लगाई पक्राउ गरिएको थियो। 

राष्ट्रपति लुङ्गुले गत महिना सङ्कटकालको घोषणा गर्दै नागरिकलाई निगरानी गर्न तथा पक्राउ प्रहरीलाई थप अधिकार दिनुभएको छ। सिन्ह्वा