November 19, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

पाकिस्तानको नयाँ मन्त्रिपरिषद्ले शपथ लियो

इस्लामावाद, २० साउन। पाकिस्तानको नयाँ मन्त्रिपरिषद्ले शुक्रबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएको हो। पाकिस्तानका नयाँ प्रधानमन्त्री सहिद खक्वान अब्बासी र उहाँको मन्त्रिपरिषद्का सदस्यले शुक्रबार शपथ लिनुभएको हो। 

खक्वानी तीनदिन अघिमात्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो। उहाँले ४६ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।  

सोही मन्त्रिमण्डलले शुक्रबार राजधानी इस्लामावादमा पाकिस्तानी राष्ट्रपति ममनुन हुसेनसँग आफ्नो पद तथा गोपनीयताको श्ापथ लिएको पाकिस्तानी सरकारी टेलिभिजन, पिटीभीले जानकारी दिएको छ।  

पाकिस्तानको सर्वोच्च अदालतले गएको शुक्रबार प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको आरोपलाई लिएर प्रधानमन्त्रीको पदमा बस्न अयोग्य घोषणा गरेपछि उहाँले राजिनामा दिनुभएको थियो।  

यद्यापी यस भ्रष्टाचारको विषयमा यहाँको न्यायिक निकायले अनुसन्धान भने जारी नै राखेका बताइएको छ। पूर्वप्रधानमन्त्री सरिफलाई अदालतले प्रारम्भिकरुपमा दोषी ठहराएको हो।   

त्यसपछि गत मङ्गलबार पाकिस्तानी संसदले खक्वानीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो। आफू प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै उहाँले ४६ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको हो। 

तर शुक्रबार सो मन्त्रिपरिषद्का ४३ जनामात्र सदस्यले शपथ ग्रहण गरेको समाचारमा जनाइएको छ। यसबारेको थप जानकारी दिइएको छैन। सिन्ह्वा