November 19, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा

प्रिटोरिया (दक्षिण अफ्रिका), ४ भदौं। दक्षिण अफ्रिकामा एक महिलालाई कुटपिट गरेको आरोप लागेपछि एक मन्त्रीले राजिनामा दिनुभएको छ। 

गत सप्ताहान्तमा राजधानी जोहान्सवर्गस्थित एक रात्रि क्लबमा पुग्नुभएका उच्च शिक्षा तथा तालिम उपमन्त्री मदुदुजि मनाना र एकजना महिलाबीच भनाभन भएको थियो।  

उपमन्त्री मनानाले आक्रोशमा आएर आफ्नो मर्यादाविपरीत उक्त महिलालाई अप्रत्याशित आक्रमण गरी जथाभावी कुटपिट गर्नु हुँदा ठूलो होहल्ला हुन गएको थियो। यस घटनापश्चात् उपमन्त्री मनानाले पदबाट राजिनामा दिनुभएको हो।  

उपमन्त्री मनाना सत्तारुढ दल अफ्रिकन नेशनल काङ्ग्रेसका सदस्य हुनुहुन्छ। राजिनामा पत्रमा उहाँले आफ्नो गैरजिम्मेवार क्रियाकलापप्रति पश्चातापसहित राष्ट्रको नाममा क्षमायाचना गर्नुभएको जनाइएको छ। 

आफ्नो हीनतापूर्ण कार्यबाट सत्तारुढ दल अफ्रिकन नेसनल काङ्ग्रेस र देशको मन्त्रीमण्डल समेतले लज्जाबोध गर्नुपरेको कारण राजिनामा दिएको उहाँले स्विकार गर्नुभएको छ। मन्त्रीपदबाट राजिनामा दिए पनि उहाँले संसद् सदस्यता भने त्याग गर्नुहुनेछैन।  

उपमन्त्री मनानाको राजिनामा तत्कालै स्वीकृत गर्नुहुँदै दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले हालसम्म आफ्नो कर्तव्य निर्वाह गरी सरकारलाई सहयोग गरेकोमा मनानालाई धन्यवाद दिनुभएको एक विज्ञप्तिमा जनाइएको छ।  

साथै, सत्तारुढ पार्टी अफ्रिकन नेशनल काङ्ग्रेसले पनि उपमन्त्रीको राजिनामालाई ठीक कार्य गरेको ठहर गर्दै पार्टी प्रवक्ता जिजि कोद्वाले मनानालाई धन्यवाद दिएका छन्।  

महिलाको अपमान र कुटपिटको घटनापछि उपमन्त्री मनानालाई प्रहरीले नियन्त्रणमा लिई स्थानीय अदालतमा तुरुन्तै मुद्दा चलाएको थियो। 

अदालतमा पाँचहजार दक्षिण अफ्रिकी र्‍यान्ड (तीनसय असी अमेरिकी डलर) धरौटी राखेपछि मात्र उपमन्त्री मनाना हिरासत मुक्त हुनुभएको छ। 

आगामी सेप्टेम्बर १३ का दिन यस मुद्दाको सुनुवाइ हुने भएकोले यस दिन उहाँ अदालतमा उपस्थित हुनुपर्नेछ। सिन्ह्वा