September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

मुम्बईमा भवन भत्किंदा ४० जना पुरिए, उद्धार जारी

मुम्बई, १५ भदौ। भारतको आर्थिक राजधानी सहर मानिने मुम्बईमा बिहीबार बिहान एक आवासीय भवन भत्किंदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ। ती व्यक्तिको जिवितै उद्धारका लागि ठूलो सङ्ख्याका उद्धारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ। 

मुम्बईको बजार इलाकाकै चारतले भवन बिहीबार बिहान ८ः४० मा भत्किएको थियो। त्यसमा परी अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ। बाँकी अरु सोही भत्किएको भवनमा पुरिएको आशङ्का गरिएको छ।  

मुम्बईमा दुई दिनदेखि भारी वर्षाका कारण उक्त भवन भत्किएको अनुमान गरिएको छ। भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्धारका लागि ठूलो सङ्ख्याका अधिकारी खटिएको बताइएको छ।  

प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावशेषबाट तीन जनाको शव निकाएको जानकारी ती अधिकारीले चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएका छन्। 

अधिकारीका अनुसार चार जनालाई जीवितै उद्धार गरिएको पनि जनाएका छन्। साथै उनका अनुसार उक्त भवनमा ४० जना पुरिएर रहेको आसङ्का सो भवनका बासिन्दाले नै जानकारी दिएका छन्।  

भारतीय प्रहरीको विशेष कमाण्डो सम्मिलत ४३ जनाले उद्धार कार्य जारी राखेको बताइएको छ। उनीहरूले दिएको जानकारीअनुसार सो भवनमा नौ जनाको परिवार बसोबास गर्दै आएको छ।  

मुम्बईमा भारी वर्षा जारी, १० को मृत्यु 

यसैबीच प्राप्त अर्काे एक समाचारमा मुम्बईका विभिन्न भूभागमा भएको अविरल वर्षाका कारण बुधबार रातिसम्ममा १० जनाको ज्यान गएको छ। मुम्बईको प्राकृतिक प्रकोप उद्धार कार्यान्वयन समितिले सो जानकारी दिएको हो।  

प्राप्त पछिल्लो समाचारअनुसार भारी वर्षाका कारण यहाँका विद्यालयहरू बुधबारदेखि नै बन्द गरिएको छ। त्यस्तै यातायातका साधन, व्यापार र होटल प्रतिष्ठानहरू पनि बुधबार बन्द थिए। यी कार्यालयहरू बिहीबार पनि बिहानसम्म खुल्न सकेका छैनन्।  

भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ। जसका कारण कम्तीमा दुई करोड जनसङ्ख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ।  

गएका केही दिनयतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पुर्‍याएको छ। यस मनसुनमा भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ।  

मुम्बईमा वर्षा जारी छ। पानी जमेका कारण बजार क्षेत्र अस्तव्यस्त छ। पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको जानकारी बुधबार अपरान्ह नै दिइएको थियो।  

एएफपी