September 24, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

राष्ट्रपतिको नेतृत्वमा पाँच महिनापछि मन्त्रिपरिषद्को छलफल

अबुजा, १५ भदौ। नाइजेरियाका राष्ट्रपति मुहम्मुदु बुहारी पाँच महिनापछि बुधबार आफ्नो नेतृत्वमा मन्त्रिपरिषद्को छलफल गर्नुभएको छ।   

नाइजेरियाली राष्ट्रपति बुहारी आफ्नो स्वास्थ्य परीक्षणका लागि लामो समय लण्डनमा बस्नुभएको थियो।  

गत अगस्त १९ मा मात्र उहाँ राजधानी अबुजा फर्कनुभएको थियो। यद्यपि उहाँको स्वास्थ्यको कुन अवस्थामा उपचार भएको थियो सो भने खुलाइएको छैन। 

बेलायतको राजधानीमा एक सय दिनभन्दा बढी बस्नुभएका पूर्व जनरल अर्थात् राष्ट्रपति बुहारीले स्वदेश फर्किनु भएपछि पनि घरबाट कार्य सञ्चालन गर्नुभएको थियो। 

यसैबीच गत हप्ता हुने भनिएको मन्त्रीस्तरीय वार्तालाई सहभागिता जनाउनुभएको थिएन।  

राष्ट्रपति बुहारीले गत मे महिनाको ७ तारिखमा उपराष्ट्रपति यमी ओसिन्बाजोलाई  कायमुकायम मुकर्रर गरी स्वास्थ्य परीक्षण एवं उपचारका लागि लण्डनतर्फ लाग्नुभएको थियो।   

यसअघि पनि यस्तै स्वास्थ्य उपचारको बिदाबाट दुई महिनापछि फर्किनु भएका राष्ट्रपति बुहारीले सोही दिनमा बोको हराम आतङ्ककारी समूहले मुक्त गरेका ८२ जना बालिकालाई स्वागत गर्नुभएको थियो। 

लण्डनमा रहनु उहाँले नाइजेरियाली अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो। भ्रमणको क्रममा उहाँका साथमा उपराष्ट्रपति पनि रहनुभएको बताइएको छ।  

एएफपी