September 19, 2017

देश विदेश समाचार

बाँकि समाचार
 

सुकी राष्ट्रसङ्घीय महासभामा नजाने

याङ्गुन, २८ भदौ। म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी नहुने हुनुभएको छ। उहाँले उक्त सभामा आफ्नो उपस्थिति रद्द गर्नुभएको म्यानमार सरकारले जनाएको छ। 

म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिङ्गा समुदायका नागरिकको कारण राजनीतिक रुपमा विवाद उत्पन्न भएको छ। जसको कारण उहाँले उक्त भ्रमण नै रद्द गर्नुभएको बताइएको छ।  

म्यानमारको रोहिङ्गा मुस्लिम समुदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीको रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा व्यापक विवाद सुरु भएको छ। 

यस विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा पनि छलफल हुने भएको छ। उक्त विवादले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पनि विवादमा तानेको छ। 

म्यानमार सरकारका प्रवक्ता जा एचतेले भन्नुभयो– विदेशमन्त्री एवम् म्यानमारका राज्य सल्लाहकार सुकीले संयुक्त राष्ट्रसङ्घीय महासभामा आफ्नो उपस्थिति जनाउनुहुने छैन, उहाँले सो भ्रमण रद्द गर्नुभएको छ। 

उहाँँ आगामी हप्ता संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुहुने कार्यक्रम रहेको थियो। सो सभामा उहाँ उपस्थित नहुने कुरा सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिनुभएको हो। 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणको कारण दशौं हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन्। विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचारबिना नै बसेका छन्। 

गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको छ। सो विवादको कारण रोहिङ्ागाले देश छोडेका छन्। जसको कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ।  

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ। उनीहरूलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकताको व्यवस्था नरहेको बताइन्छ। 

उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ। सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै देश छोडेर नभाग्न सबैसँग बारम्बार आग्रह पनि गर्दै आएको छ। 

म्यानमारका विदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादति गरेको भनी दुष्प्रचारमात्र गरिएको बताउदै आउनुभएको छ। 

एएफपी