September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नाचगानको सहर भक्तपुर

ओम धौभडेल
    काठमाडौं उपत्यकाका तीन नगरहरूमध्ये क्षेत्रफलको आधारमा सानो भक्तपुर सांस्कृतिक सम्पदाले अत्यन्त धनी  छ। यहाँ प्रत्येक दुई पाइलाको फरकमा एउटा सम्पदा भेटिनु अनि यहाँको जीवन नै संस्कृतिमय भएकोलाई बिर्सन सकिंदैन। राजधानीसँग जोडिएर पनि वर्तमान युगको परवाहविना नै यो नगर आफ्नै धुनमा, आफ्नै संस्कृतिमा व्यस्त रहेको पाउँदा यहाँ पुग्ने हरेकको मन प्रफुल्ल हुन्छ अनि मुखबाट 'वाह !' शब्द प्रस्फुटन हुन्छ। यसबाट भक्तपुरका मौलिक संस्कृतिहरू देखाउने दाँतमात्र हैन भन्ने पुष्टि हुन्छ। यहाँको संस्कृति यहाँ रहने भक्तपुरवासीको जिउने आधार हो। जसबाट उसलाई समाजमा प्रतिष्ठित भएर जिउन सिकाएको हुन्छ। हरेक भक्तपुरवासीको बिहानदेखि बेलुकासम्मका हरेक क्रियाकलाप उसको संस्कृति हो। कलात्मक झ्याल ढोकासहितको उसको घर, उसले अपनाएको पेसा तथा ऊसित रहेको सीप सबै संस्कृतिकै अङ्ग हो। बिहान उठेपछि नित्यकर्मसँगै सुरू हुने देवदेवीको दर्शन तथा पूजापाठ पाटीपौवामा घन्किने दाफाभजन, धल्चाको माधुर्यता, उसले बोल्ने ठेट नेपालभाषा, ऋतुअनुसार गाउने गीतहरू, ऋतुअनुसार मनाइने जात्रा, चाडपर्वहरू हरेकले उसको संस्कृति झल्काइरहेको हुन्छ। उसले जानेको सीप, सीपअनुसारको पेशा, पेशाअनुसारको थर हुनुबाट भक्तपुरको संस्कृति उच्च रहेको ज्ञात हुन्छ।
       भक्तपुरको संस्कृतिको अर्काे महत्त्वपूर्ण पक्ष प्याख अर्थात् नाच हो। 'मानो रोपेर मुरी फलाउन' दिलो ज्यान लगाएर खेती कार्य गरिसकेपछिको फुर्सदिलो समयमा नाचगान बजानमा ध्यान दिने उद्देश्यले प्रत्येक वर्षको गुन्हीपुन्हीको आठ दिन यहाँ प्रशस्त नाच अर्थात् प्याखँ प्रदर्शन गर्ने चलन छ। साहित्य अनि कलाकारिताको ओतप्रोत यो समयमा जनस्तरबाट समाजलाई दिग्दर्शन गर्ने खालका प्रशस्त प्याखँहरू प्रदर्शन हुनुबाट भक्तपुरवासीको साहित्यिक घरातल मापन हुन्छ। प्याखँको इतिहास खोतल्ने हो भने लिच्छवी राजाहरूकै समयमा राजा एवम् राजपरिवारसँग सम्बन्धित घटनाहरू विशेषगरी शुभकार्यमा प्याखँ देखाउने परम्पराले मनोरञ्जनलाई बढावा दिएको मान्न सकिन्छ। यो कार्य मल्ल कालमा पनि निरन्तरता पायो। 
    जनस्तरकै कुरा गर्ने हो भने भक्तपुर जेलाा टोलवासीहरूले ने.स. ५६१ मै चतुरङ्ग रामायण नाटक (प्याखँ) मञ्चन गरेर देखाएको इतिहास छ। ने.स. ८२७ मा नासमनाको मङ्गलेश्वर महादेव नजिक घण्टा स्थापनार्थ गौरी विवाह प्याखँ देखाएको इतिहास छ। भक्तपुरको प्रसिद्ध ५ तले मन्दिर बनेको अवसरमा थिमी, बोडे, नगदेश, बनेपा, पनौती, धुलिखेललगायतका प्याखँ प्रदर्शन गर्दा सर्वाेत्कृष्ट प्याखँहरूलाई पुरस्कार दिएको घटना प्रेरणादायी छ। 
    ने.स. ८५९ मा भक्तपुर लायकु अगाडि ठूलो घण्टा बडो कष्टपूर्वक स्थापना गरिसकेेको अवसरमा भक्तपुरका सबै दाफा र प्याखँ प्रदर्शन गरेको उदाहरण छ जहाँ कृष्ण चरित्रनामक प्याखँ प्रदर्शन गरिएको थियो। ने.स. ८६६ मा रुक्मणि हरण प्याखँ प्रदर्शन गर्दा भएको आम्दानीबाट गजुर हालेको साक्षी छ। राजा जगतप्रकाश मल्लदेखि रणजीत मल्लसम्मको करिब १५० वर्ष त नेपालको इतिहासमा प्याखँको लागि भक्तपुर सर्वाेत्कृष्ट गन्तव्य बन्यो। यता वर्तमान समयमा भक्तपुर नगरपालिकाले प्रतियोगितात्मक प्याखँ प्रदर्शनपश्चात् लोप हुन लागेका कति प्याखँहरू पुनःप्रदर्शनमा आउनु अत्यन्त महत्त्वपूर्ण क्षण हुन आउँछ। यसरी आफ्नो रगतमा रहेको कलाकारिता एवम् साहित्यिकलाई ताल दिन खप्पिस यहाँका जनताले यति मार्मिक, आकर्षक एवम् जीवन्त शैलीमा प्याखँ, गीति नाटक, ख्याल प्रहसनको रुप दिन सफल भयो कि हरेक वर्षको गुन्हीपुन्हीदेखि यन्यापुन्हीसम्म भक्तपुरको हरेक टोल, चोक, सडक, गल्लीमा सयौं परम्परागत प्याखँहरू देख्न पाउने सौभाग्य छ। वर्षको सबैभन्दा लामो नवदुर्गा भवानीको ङा लाकेगु प्याखँबाट हेर्दा पनि कहिल्यै नथाक्ने भक्तपुरवासीहरू आठदिनसम्म यहाामञ्चन हुने भैल प्याँख, देवी प्याँख, ङा प्याखँ, सलााप्याखँ, मथु प्याखँ, नटुवाचा प्याखँ, हनुमान प्याखँ, गाइँचा प्याखँ, लुसि प्याखँ, फाकँदली प्याखँ, झ्याउरे, भालु प्याखँ, खिचा प्याखँ, कलाँली प्याखँ, लाखे प्याखँ, जटायुप्याखँ, म्हेखा प्याखँ, माक प्याखँ, नागाचा प्याखँ, कपायँ फेनेगु प्याखँ, किजापुजा यनेगु प्याखँ, जङ्गली प्याखँ, ख्या प्याखँ, झ्याझ्या प्याखँ, शेरसिंह प्याखँ, महाद्य पावर्ती प्याखँ, भूत ख्य वईगु प्याखँ, कचिमचा वाँछेयेकेयु प्याखँ, हाय प्याखँलगायतका थुप्रै प्याखँहरू हेर्न पाउँदा मन आनन्दिमात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक नैतिक धरातल उच्च पार्न प्रत्यक्ष वा अप्रत्यक्ष सन्देशहरू प्राप्त गर्नसकिन्छ।