September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

कुचो समाउनु नै प्रम भट्टराईको ठूलो उपलब्धि

विगोल
    इतिहासमै सबभन्दा छोटो शासन गर्ने अभिलाषा लिएका प्रधानमन्त्री बाबुराम भट्टराईको शासनकाल एक वर्ष पूरा भयो। उनले आफ्नो एक वर्ष शासनकालको उपलब्धिबारे देशवासीको नाउँमा भदौ १२ (द्दड ब्गनभकत) मा सम्बोधन गरेर जानकारी दिए। एमाओवादीको नेतृत्वमा रहेको भट्टराईको सरकार अहिलेसम्मकै सबभन्दा बढी बद्नामी, भ्रष्टाचारी र असफल सरकार उद्घोष भइरहको बेला प्रम भट्टराईले आफ्नो एक वर्ष शासनकाल उपलब्धिमूलक या सफल भएको दाबी गरे। मधेसवादी दलका नेताहरूले राजधानी काठमाडौंलाई आर्थिक नाकाबन्दी गर्ने, तराईमा रहेको २० जिल्ला अलग गर्ने एक मधेस एक प्रदेश नभए देश पनि नरहने चेतावनी उनकै पालामा दिइएको हो। देश नरहने चेतावनी  दिए पनि सत्ता जाने चिन्ताले मौन बस्ने प्रम भट्टराई नै हुन्। यसरी देश सङ्कटको गम्भीर मोडमा पुगे पनि निकास नखोज्ने, देशलाई अनिर्णयको बन्दी बनाउने, राजनीतिक सङ्कट लम्ब्याउने असफल प्रम पनि भट्टराई नै हुन्। तर पनि लाजै नमानी आफ्नो शासनकाल उपलब्धिपूर्ण रहेको बताउन उनी पछि परेनन्। ठूल–ठूला उपलब्धि मेरै सरकारको पालामा भएको भनी नाक फुलाउनु प्रम भट्टराईको अभिमानीबाहेक अरु होइन।
    प्रम भट्टराईले सम्बोधनमा एउटा राज्यमा दुईवटा सेनाको स्थिति अन्त्य गरेको उल्लेख गरे। 'जनयुद्ध' छोडेर संसदीय व्यवस्थामा आएपछि दुईवटा सेनाको अन्त्य भयो भनेर गर्व गर्नुको कुनै तुक छैन। माओवादी 'जनयुद्ध' असफल भएरै संसदीय व्यवस्थामा आएको हो, सरकारसामु आत्मसमर्पण गरेको हो। सरकारलाई हतियार बुझाएर आत्मसमर्पण गरे पनि एमाओवादीमा अझै दम्भ घटेको छैन। अहिले पनि माओवादी लडाकू, स्वयम् माओवादीहरू जनमुक्ति सेना भनी सम्बोधन गर्छन्,  आफ्नै पार्टी कार्यकर्ता सम्झेर राजनीतिक प्रशिक्षण दिन्छन्। यो एमाओवादीको द्वैधचरित्र हो। एमाओवादीको यस्तै द्वैधचरित्रले गर्दा 'माओवादी लडाकूहरू' चिढिएका हुन्र एमाओवादीविरुद्ध खनिएका हुन्। एमाओवादीले माओवादी लडाकूकै नाउँमा अरबौं रकम कमाया या माओवादीको झूट विवरण दिएर राज्यको रकम असुल्ने काम गर्‍यो। यो एमाओवादीले गैरकानुनी ढङ्गले देशको रकम असुलेको हो। यो भ्रष्टाचार हो। माओवादीले गरेको भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नैपर्छ, अपराधीहरू पत्ता लगाउनैपर्छ र जेलमा कोचिएर राख्नुपर्छ। यसतर्फ अख्तियारको ध्यान जानैपर्छ। 
    प्रम भट्टराईले ध्वंसात्मक राजनीति छोडेर रचनात्मक र क्रियात्मक काममा लागेको बताए। यसबाट एमाओवादीको राजनीति ध्वंसात्मक गतिविधिबाट सुरु भएको पुष्टि हुन्छ। ध्वंसात्मक राजनीति छोड्ने प्रम भट्टराईले सार्वजनिक जग्गा आफ्नो पार्टी कार्यालय खोल्न किन दिए? स्थानीय निकायको बजेटमा आफ्नै कार्यकर्ताले ब्रह्मलूट गरे पनि किन मौन? पुल, बाँध, दरबार जलाएर भष्म पार्ने ध्वंसात्मक काम छोडेर, डर धम्की देखाएर राजस्वमाथि रजाइँ गर्नु के भट्टराईको रचनात्मक काम हो? जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिमा धम्की दिएर चन्दा असुल्ने, योजना हात पार्ने काम गरेर त्यही चन्दाले कहिले चउर या सार्वजनिक जग्गामा झण्डा गाडेर त कहिले वृक्षरोपण गरेर सम्पत्ति कब्जा गर्ने काम गर्नु क्रियात्मक हो? सुशासन र मितव्ययिताको नाउँमा कार्यकर्ताहरूलाई चियापान गराउन ३० लाख खर्च गर्नु क्रियात्मक काम हो? प्रचण्ड पुत्रलाई शान्ति अभियानको नाउँमा २ करोड रुपैयाँ आर्थिक सहयोग गर्नु क्रियात्मक काम हो? राष्ट्रिय अखण्डता दिनपरदिन कमजोर भइरहेको स्थितिमा जातिवादी कुरा गरेर देश विखण्डनको स्थितिमा पुर्‍याउनु के रचनात्मक काम हो?
    हो, कुनै काम उपदेश र आदेश दिएरमात्र बन्दैन। सरकारले आश्वासन बाँडेर, निर्णय गरेर मात्र काम हुने होइन। त्यसो त एमाओवादी नेताहरू आश्वासन बाँड्नेबाहेक अर्काे गर्दैनन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयम् हल्लाको राजनीति गर्छन्, कहिले भावनामा डुब्छन्। कहिले आवेगमा कुड्छन्। प्रम भट्टराई अध्यक्ष दाहालझै भावनामा नबगे पनि आक्रोश र आवेगमा कुड्छन्। उनी प्रम बन्न लायक छैनन्। उनी ठाडो भाषा बोल्छन् र कूटनीतिक उपाय अपनाउँदैनन्। जो कोहीसँग कडा बोली बोल्ने उनको बानी देखिन्छ। उनमा अभिमानी त भरपुर नै देखिन्छ। आफ्नो एकवर्षे कार्यकालको महत्त्वपूर्ण या ठूलठूला उपलब्धिमध्ये आफै बागमती नदीमा सरसफाइमा सहभागी हुनु र कुचो लिएर सडकमा कुचो बढार्नु उनको महत्त्वपूर्ण देन रह्यो। यसरी नै भोलि सडक पेटीमा बसेर दाँत माझ्ने र हातमुख धोएर अर्काे ठूलठूला उपलब्धिमूलक काम थप्ने हो कि ! कुचोले सडकमा बढार्नुलाई नै प्रमले ठूलो उपलब्धि मानेपछि अरुको के बयान गरुँ।
    सडक विस्तार गर्नु, पीच मर्मत गर्नु प्रमको दृढ इच्छा होइन। सामान्य मर्मत सुधारको कामलाई दृढ इच्छा शक्तिको परिचय ठान्छ भने भोलि आमूल परिवर्तनलाई के उपमा दिने होला? दिसा बस्नु र सिंगान फाल्नु त्याग होइन, त्यसलाई देन सम्झनु गलत हुनेछ। 'हेलो सरकार' 'जनताको घरदैलोमा प्रधानमन्त्री कार्यक्रम' र 'जनतासँग प्रधानमन्त्री मासिक रोडियो कार्यक्रम' पनि प्रमका ठूला ठूला उपलब्धिमूलक काममा परेका छन्। यथार्थमा माओवादीहरू लोकाचारको राजनीति गर्न सिपालु रहेछन्। 
    कामभन्दा आश्वासन बाँडेर जनतालाई आफ्नो हातमा लिंदारहेछन्। सरकारले त सानातिना विकास पनि गर्न सकेन। देशको योजना बजेट नै पूरा गर्न सकिएको छैन। भएको योजना नै पूरा गर्न नसक्ने सरकारले केको विकासको बखान गर्ला? युवा  वर्गलाई स्वतःस्फूर्त सहभागी बनाउने उद्देश्यले राखेको स्वयम् सेवा अभियान पनि अधुरो रह्यो। कुनै पनि अभियानको सफलता भनेको एक दिन गरेर हुने होइन। एकदिन झारपात सफा गरेर, ढलको फोहर सफा गरेर, सफा हुने होइन। सफा राख्न, स्वच्छ पार्न निरन्तर काम भइरहनुपर्छ। कार्यकर्तालाई सरकारले पैसा बाँडेर गरिने स्वयम् सेवा अभियान कसरी नै सार्थक बन्छ?
    प्रम भट्टराईलाई थाहा छ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रम भएको बेला दिनको १८ घण्टासम्म लोडसेडिङ भएको थियो। सबभन्दा बढी लोडसेडिङ गरेर पूर्वप्रम दाहालले चमत्कारपूर्ण काम गरेकै हुन्। त्यसो त प्रम भट्टराईले पनि अहिलेसम्मकै सबभन्दा बढी ठूलो मन्त्रिमण्डल गठन गरेर ख्याति कमाए। अहिले उनी दिनको १०–१२ घण्टामा  लोडसेडिङ नबढाउने बताइरहेका छन्। जलस्रोतको धनी देशमा लोडसेडिङमुक्त देश बनाउने योजना कहिले आउने हो र समस्या समाधान हुने हो? असोज १ गतेदेखि हुने भनिएको गरिबी निवारण कोषमार्फत् हुने कार्यक्रम पनि कार्यकर्ता पाल्ने मेसोमात्र बन्ने हो कि ! भट्टराई विनाछलफल या सहमति, विनापूर्वाधार निर्णय गर्छन्। अनि त्यो निर्णय लागू भएन भनेर अरु दलमाथि दोष थोपर्छन्। सुकुमवासीहरू थापाथलीबाट चोभार र त्यसपछि ललितपुर बसाइ सार्ने प्रमको असफलता यसको ताजा उदाहरण हो। यसरी प्रम भट्टराईको एक वर्षको कार्यकाललाई फर्केर हेर्दा त्यो समय निराशाजनक छ, सरकारको नेतृत्व असफल छ। देश विखण्डनतर्फउन्मुख भएको छ। जातिवादी राजनीतिले साम्प्रदायिक भावना फैलाउने काम गरेको छ। संविधान निर्माण र शान्ति प्रक्रिया हल्लामात्र भएको छ। तब प्रमको कार्यकाल कसरी उपलब्धिमूलक र सफल छ भन्ने !