September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एनक्रुमा – ४

एनक्रुमालाई बोलाउने संयुक्त गोल्ड कोष्ट सम्मेलन १९४७ अगष्ट महिनामा स्थापना भएको थियो। त्यसमा ठूलठूला व्यापारी जर्ज ग्रान्टजस्ता काठ र कोकोआको निर्यातकर्ता, वकिल, गाउँ र सहरका खान्दानी व्यक्तिहरू र धनाढ्यहरूमात्रै थिए। तिनीहरू कानुनी ढङ्गले नै सरकारमा पुगेर माथिल्लो वर्गको हित चाहन्थे।
    एनक्रुमाले संयुक्त गोल्ड कोष्ट सम्मेलनको भित्री कुरा बुझेपछि नयाँ सङ्गठनको आवश्यकता अनुभव गरे। उनी जनवरी १९४८ मा युवाहरू, मजदुर, माझी र किसानको सङ्गठन, आइतबारको दिन राजनैतिक कक्षाको सञ्चालन र पछिको निम्ति देशभरि आफ्नो सङ्गठनको विस्तारमा लागे। साल्टपोण्ड भन्ने टाढाको सानो सहरमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेर जङ्गल र पहाडहरूमा गई सरल भाषामा भाषणहरू दिँदै सयौं सङ्गठनहरू बनाए। सानो बनाउँदै र बाटोमा छोड्दै उनी अगाडि बढे। क्रोबोइडूसी, कोफि बूको र कोजो बोत्सिओजस्ता साथीहरूले उनलाई साथ दिए।
    सन् १९४८ को फेब्रुअरी महिनामा दोस्रो विश्वयुद्ध बेलायतको तर्फबाट लडाइँ लडेका ६५ हजार भूपू सैनिकहरूले रोजगारी र मूल्यवृद्धिलाई लिएर गभर्नरकै निवासमा विरोध प्रदर्शन गरे। बेलायती सरकारले राजधानी आक्रा र कुमासि सहरमा गोली चलाएर २० जनाको हत्या र २३० जनालाई घाइते बनायो। त्यसको दोष संयुक्त गोल्ड कोष्ट सम्मेलनलाई दिई एनक्रुमा र अन्य नेताहरूलाई 'कम्युनिष्ट षड्यन्त्र' भनी पक्राउ गर्‍यो। बेलायती उपनिवेशवादीहरूले वास्तविकता थाहा पाएर एनक्रुमा र अन्य नेताहरूलाई ६ हप्ता पछि छोडे। त्यस पक्राउले एनक्रुमा १९४८ को युवा आन्दोलनको नेताका रुपमा प्रतिष्ठित भए। उनलाई कुमासि जेलमा नजरबन्द गरिएको थियो। त्यस घटना वा उपद्रोहमा दुई करोड पाउण्ड क्षति भएको बताइएको थियो।
    कारागारबाट छुटेर एनक्रुमा देश भ्रमणमा निस्के नारा थियो – 'अब स्वराज चाहिन्छ।' कोकाआका किसानहरू बेलायती उपनिवेशवादका विरोधी थिए तथा उनले महिलाहरूको पनि मताधिकारबारे आवाज उठाए। घानामात्रै होइन अफ्रिकाकै निम्ति पनि त्यो विषय नयाँ थियो।
    बेलायती गभर्नर र उपनिवेशवादीहरू वर्नस संविधानअनुसार ५५ वर्षको एक कानुन व्यवसायी हनली कौसीको नेतृत्वमा ४० जनाको परिषद् गभर्नरको मनोनयनमा बनाउने योजना बन्यो। त्यसमा एनक्रुमालाई राखिने थियो।
    एनक्रुमाको परिवर्तनवादी दृष्टिकोणलाई बुझेर संयुक्त गोल्ड कोष्ट सम्मेलनको कार्यकारी समितिले एनक्रुमालाई महासचिवबाट हटायो र बेलायत फर्कन १०० पाउण्ड दिने प्रस्ताव राख्यो। एनत्रु्कमाले त्यो प्रस्तावलाई अस्वीकार गरे तथा पार्टी स्थापना गर्ने योजना बनाए।
आक्रा साँझ समाचार
    नयाँ राजनैतिक दल स्थापना गर्नुभन्दा पहिले 'अगुवाहरूको समूह', 'प्रचार समूह', 'गतिविधि गर्ने समूह', 'सङ्गठनकर्ताहरूको समूह' र 'राजनैतिक शिक्षकहरूको समूह' आवश्यक हुन्छ। यसकारण प्रचार, शिक्षण र गतिविधि गर्न पनि एउटा समाचार पत्र आवश्यक हुँदा एनक्रुमा र अन्य ४–५ जना साथीहरू मिलेर 'आक्रा साँझ समाचार' सेप्टेम्बर १९४८ मा स्थापना गरे। त्यसको मुख्य उद्देश्य थियो – 'मानिसको रुपमा बाँच्ने हाम्रो अधिकार छ', 'शासन गर्ने हामीसँग अधिकार छ', 'दासताको खतराको विरोधमा स्वराज' र 'स्वराज नै आजको आवश्यकता' हो।
    पत्रिका हातहातमा बिक्यो, सम्पादक मण्डलको कार्यालय अगाडि मानिसहरू झुम्मिन्थे। प्रेसको काम हातैले अक्षर मिलाउने र छाप्ने पुरानै शैलीको थियो। एनक्रुमा र साथीहरू आफैले सबै काम गर्थे। पत्रिकाको भाषा अत्यन्त सरल र बुझ्ने खालको हुन्थ्यो।
    रुढीवादी नेतृत्वसँग अलग भएपछि एनक्रुमाले राजनैतिक रुपले सचेत र सक्रिय युवाहरूलाई लिएर जून १९४९ मा तार्कवा भन्ने सहरमा एक सम्मेलन गरी 'जनताको सम्मेलन' भन्ने दल स्थापना गरे। 'स्वराज' को निम्ति सबै किसिमका संवैधानिक उपायद्वारा गोल्ड कोष्टका जनताको निम्ति सबै किसिमका दमनकारी रुपहरूलाई हटाएर सङ्घर्षशील सचेत राजनैतिक अगुवाहरूले जनताको सेवाको निम्ति एक प्रजातान्त्रिक सरकार स्थापना गर्ने उद्देश्य राखिएको थियो।
    १९४९ जून १२ को दिन आक्राको रङ्गशालामा ६० हजार जनताको भेलामा एनक्रुमाले पार्टीको स्थापना र उद्देश्यको घोषणा गरे। रातो, सेतो र हरियो रङ्गको झण्डा तल अन्तिम साससम्म जनताको हितको निम्ति लड्ने उद्घोष गर्दा सहभागीहरू उनको वक्तृत्वकलाबाट मन्त्रमुग्ध भए। केही समयमै गाउँगाउँमा सङ्गठनहरू बने। उनी ४९ वर्षका प्रौढ थिए। ६ महिनाभित्र अर्थात् १९५० सम्ममा त्यस पार्टीको सदस्य सङ्ख्या १० लाखभन्दा बढी पुग्यो।
    जनवरी १९५० मा बेलायती सरकारको तर्फबाट रेजिनाल्ड सालोवेको नेतृत्वमा एक उच्चस्तरीय अधिकारी घाना पुग्यो। बेलायतीहरूले बनाएको संविधान लागू नगराएको र त्यसको विकल्पमा अर्कै प्रतिनिधिसभाको स्थापना गरी उपद्रव गरेको आरोपमा एनक्रुमा र जनताको सम्मेलनलाई दोष दियो। त्यसको विरोधमा एनक्रुमाले बेलायती सामानको बहिष्कार, शान्तिपूर्ण प्रदर्शन र सभाहरूको आयोजना गर्न लगाए। जिल्ला जिल्लाको भ्रमण गरी मजदुर सङ्गठनहरूको महाधिवेशनमार्फत् देशव्यापी हड्ताल गर्न लगाए। ११ जनवरीको दिन देश पूर्ण रुपले बन्द भयो। सरकारले दमनको उपाय अपनायो, सेना र प्रहरीमार्फत् सङ्कटकाल लागू गर्‍यो। धेरै नेता र कार्यकर्ताहरू पक्राउ परे, पत्रपत्रिका बन्द गरियो, तर दमनले जनतामा झन् राजनैतिक चेतना बढ्यो। एनक्रुमालाई आक्राकै जेम्स किल्ला कारागारमा ३ वर्षको जेल सजाय भयो। सरकार समर्थक पत्रपत्रिकाले एनक्रुमा र उनको पार्टीलाई 'कम्युनिष्ट', 'विध्वंशात्मक तत्वहरू' र 'हुल्याहाहरू' जस्ता लाञ्छना लगाए तथा पार्टी फोर्ने कोसिसहरू गर्‍यो। उनी एक वर्ष विना कलम कापी थुनिए।
    १ जनवरी १९५१ को दिन बेलायती सरकारले एक संविधान स्वीकार गर्‍यो र ८ फेब्रुअरीको दिन नयाँ संविधान सभाको निर्वाचनको घोषणा गर्‍यो। जनताको सम्मेलनका नेताहरूले कारागारमै बसेर महानिर्वाचनमा भाग लिने वा बहिष्कार वा संसदीय बन्दोबस्तको निन्दा वा सङ्घर्ष के गर्ने भन्नेबारे छलफल गरे। निर्वाचनलाई उपयोग नगर्दा प्रतिगामीहरूले फाइदा उठाउने हुँदा निर्वाचनमा भाग लिने र एनक्रुमालाई आक्राको केन्द्रीय जिल्लाबाट उम्मेदवार बनाउने पार्टी बैठकले निर्णय गर्‍यो।
    एनक्रुमाले कारागारबाटै चुनावी घोषणापत्र तयार पारे, त्यसमा देशलाई औद्योगिकीकरण गर्ने, बेरोजगारी उन्मूलन गर्ने, शिक्षा र स्वास्थ्यलाई प्रजातान्त्रिकीकरण गर्ने, पुरुष र महिलालाई समान अवसर दिई समाजवादी राज्य निर्माण गर्ने बताए र अन्तमा शोषित र पीडित घानाबासीहरूलाई आह्वान गरियो – 'आफ्नो देश जोगाउने मौका जनताकै हातमा छ। जनताको सम्मेलनलाई मत देऊ !' ५ देखि १० फेब्रुअरी १९५१ को बिहान निर्वाचन सुरु भयो।
    ९ फेब्रुअरी १९५१ को बिहान जेलका अधिकारीहरूले एनक्रुमालाई उनको निर्वाचन क्षेत्रमा ९८ प्रतिशत जनताले उनलाई मतदान गरेको तथा ३८ वटा विधानसभाको स्थानमा उनको दलले ३४ स्थान प्राप्त गरेको बताए। कोम्ला आग्बेली गेडेमाह नै निर्वाचन प्रचारका नायक थिए।
    १२ फेब्रुअरीको दिन एनक्रुमा जेलबाट छुटे तथा १३ फेब्रुअरीको दिन गभर्नरले सरकार बनाउन आमन्त्रण गर्‍यो। 
पहिलो अफ्रिकी प्रधानमन्त्री
    १२ फेब्रुअरीको दिन एनक्रुमा जेलबाट छुटे तथा १३ फेब्रुअरीको दिन गभर्नरले सरकार बनाउन आमन्त्रण गर्‍यो। बेलायती गभर्नरको दरबारजस्तो बनाइएको क्रिश्चियनवर्ग किल्ला कहिल्यै पुगेका थिएनन्। नामै 'सुनको किनार' नाम भएको देशको गभर्नरको निवास सेतो ढुंगाले बनाएको र भित्रभित्र सजाइएको भवन थियो। बुर्जामा बेलायती राष्ट्रिय झण्डा फहराइएको थियो। गभर्नर आर्डेन–क्लार्क  र एनक्रुमाको पहिलो भेट पनि भएको थिएन। त्यो भेट जोगीदेखि भैंसी डराउने र भैंसीदेखि जोगी डराउने खालको थियो। वार्तामा ७ जना मन्त्रीहरू र ५ जना एनक्रुमाको पार्टी जनताको सम्मेलनले पाउने भयो। तर संयुक्त गोल्ड कोष्ट सम्मेलनका बेलायत समर्थक नेताहरू गभर्नरद्वारा आफूहरू ठगिएको अनुभव गरे। एनत्रु्कमाको दलले ठूलो विजय हासिल गरे पनि उनी विनम्र थिए र प्रेस सम्मेलनमा उनले भने –'म बेलायतकै मित्र भएको झन्  प्रस्ट्याउन चाहन्छु। हामी बेलायती राष्ट्रमण्डलकै सदस्यको हैसियतमै रहन्छौं। गणतन्त्रको मैले कल्पनै गरेको होइन।' तर घानाको स्थितिले पश्चिमी देशमा भैंचालो गएको थियो।
    २० फेब्रुअरी १९५१ को दिन आक्रा बेलायती शैलीले सजिएको थियो। विधानसभाको चारैतिर सेनाको पहरा थियो। उद्घाटन समारोहमा गभर्नरको घोडचढी सेनाद्वारा सवारी चलाइएको थियो। हरियो र रातो रङ्गको पोशाक र कालो रङ्गका घोडसवारी सबै बेलायती ढङ्गले नै सजाइएको थियो। सैनिकको बेन बाजाले 'ईश्वरले राजाको रक्षा गरुन्' भन्ने राष्ट्रिय गान बजाइयो। आयोजकहरू र जातीय प्रमुखहरू सुनचाँदीका गहना र लुगाले सजिएका थिए। विधानसभाको अध्यक्ष पनि सोहीअनुसार सजिएका थिए।
    एनक्रुमा र उनका पार्टीका नेताहरूलाई त्यसबेला 'जेलका स्नातक' भनिन्थ्यो। तिनीहरू आफ्नै संस्कृति अनुसारको घरेलु लुगा र टोपीमा थिए। देशविदेशबाट शुभकामना र बधाईहरू आउँदै गर्‍यो। तर उनलाई थाहा थियो – बाटो सजिलो छैन। नागरिक प्रशासन, प्रहरी, सेना, अदालत र विदेश विभाग गभर्नरको हातमा थियो। देशको प्रशासनिक कर्मचारीहरूमा ४ भागको ३ भाग बेलायतीहरू र तिनीहरूका पिछलग्गुहरू थिए। मार्च १९५२ को दिन एनत्रु्कमाले प्रधानमन्त्रीका रुपमा संविधान संशोधनलाई 'भाग्यको प्रस्ताव' भनी राखे। ४५ मध्ये ३१ जनाको बहुमत थियो र आठ जना अनुपस्थित रहे। १० जुलाई १९५३ मा त्यो प्रस्ताव बेलायती राष्ट्रमण्डलबाट स्वीकार गरियो।
    बेलायती उपनिवेशवादीहरूले एनक्रुमा र उनका मन्त्रीहरूका निम्ति राम्रा राम्रा भवनमा आवास र महँगा गाडीहरूको बन्दोबस्त गरिएको थियो। तर शत्रुको 'चास्नी पोतेको गोली' बाट बच्न एनक्रुमा र उनका मन्त्रीहरू दुई तले साधारण भवनलाई नै आफ्नो प्रधानमन्त्री र मन्त्रीहरूको निवास बनाए। उपनिवेशवादीहरूले दामी रात्रीभोज र रक्सी पार्टीहरूबाट एनक्रुमा र उनका साथीहरूलाई फसाउन खोजे। तर तिनीहरू आफूहरूलाई आफ्ना गाउँ, नगर र बस्तीका साधारण महिलाहरू, किसान र मजदुरहरूसँगको भेटघाटमै व्यस्त राखे।
    एनक्रुमा ठूलाबडा कर्मचारीहरूको चाकडी र चुगुलीबाट बच्न चाहन्थे, दिनको झण्डै चार घण्टामात्र सुत्थे। बिहान सबेरै उठ्थे र काममा अल्छी गरेको उनी हेर्न पनि चाहँदैनथे। पार्टी केन्द्रीय कार्यालयमा पनि अति व्यस्त रहन्थे। उनी विधानसभा, जनसभा र कार्यकर्ताहरूको बीचमा छलफल र भाषण दिन व्यस्त 
रहन्थे।
    एनक्रुमा घानाका नदी–नालाहरूमा जलविद्युत् उत्पादन गरेर देशलाई झिलिमिली पार्ने र उद्योगधन्दालाई अगाडि बढाउन चाहन्थे। काकाओ रुखमा लागेको रोग निर्मूल गर्न चाहन्थे र जनता पनि छिट्टै देशको द्रूततर विकास गर्न चाहन्थे। तर उपनिवेशवादीहरू भित्रभित्रै देशलाई विध्वंश गर्ने र प्रतिपक्षलाई उचाल्थे। तर एनक्रुमा र उनको पार्टी सबैसँग मिलेर काम गर्न चाहन्थे। जातीय नेताहरू आफ्नो प्रभाव क्षेत्र गुमाउन चाहँदैनथे र एनक्रुमाका साँचो एकीकृत बन्दोबस्तका विरोधी थिए। पुरानो संस्कार र प्रभावलाई कायमै राखेर ती जाति र जनजातिहरूलाई उचाल्दै अशान्ति समाजका तत्वहरूले राष्ट्रिय मुक्ति मोर्चाजस्ता खाइलाग्दो नामको दल खोलेर घानालाई ४ राज्यको संघीय व्यवस्थाको वकालत गरे।
वर्ष २ अङ्क १, पूर्णाङ्क ७ असार–साउन २०६९