September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

मिसावट, कालोबजारी र भ्रष्टाचार


–सुरज सिंह
    हिजो आज हरेक दिनजसो छापा तथा विद्युतीय सञ्चारमाध्यममा कृत्रिम अभाव, कालोबजारी, मिसावट, अनियमितता र भ्रष्टाचारका समाचार आई नै रहेका छन्। पेट्रोलमा मट्टितेल तथा पानी आदिको मिसावट पुरानै रोग हो। पेट्रोलमा गरिएको मिसावटका कारण मोटर तथा मोटरसाइकलका इन्जिनका छोटो समयमै खराबी आउने गरेको छ। धेरै नै समस्या देखिएपछि नेपालगञ्ज वरपरका पेट्रोल पम्पहरूमा शुक्रबार अनुगमन गरिया तर कुनै  मिसावट नभेटिएको बताइयो। त्यस्तै बजारमा चामल, चिनीलगायत वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ। अनपेक्षित रुपमा  मूल्यवृद्धि पनि भएको छ। 
    तर बजार  अनुगमन गरी आपूति गर्नुपर्ने आपूर्ति तथा वाणिज्य विभाग कसैलाई दोषी देख्दैन। हुन त बजारमा कृत्रिम अभाव सिर्जना गरी अनियन्त्रित मुनाफा गर्न पल्केका कालाबजारीहरूलाई नियन्त्रण गर्न सरकारले नेपाल राजपत्रमै अत्यावश्यकीय उपभोग्य वस्तुको मूल्यसूची प्रकाशित गरेर अङ्कुश लगाउने भनेको छ। तर व्यवहारमा कुनै कदम चालेको र बजारमा कुनै सुधार आएको देखिएको छैन।
    नाफाखोरी प्रवृत्तिका कराण कैयौं व्यापारीहरूले सार्वजनिक स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने गरी मिसावट गरिरहेका छन्। त्यस्ता नाफाखोरहरूमाथि कारबाही गर्ने चेतावनी पटकपटक दिइन्छ तर कार्यान्वयन हुँदैन।त्यसैले नाफाखोर व्यापारीको अवैध क्रियाकलाप पनि निरन्तर चलिरहन्छ र उपभोक्ता ठगिने र पीडित हुने क्रममा त्यत्तिकै रहन्छ। 
    उपभोक्ता हक–हितसित सम्बन्धित सङ्घसंस्था र सञ्चारमाध्यमहरूको निरन्तर घच्घच्याइका कारण प्रशासन समय – समयमा बजार अनुगमन गर्न बाध्य भइरहेको छ तर त्यो औपचारिकतामै सीमित हुन्छ। अनुगमन टोली कुनै स्टोर या गोदाममा पुग्नु अगावै त्यहाँ भइरहेको सबै अनियमितता घटाइसकिएको हुन्छ। वैधानिक मूल्य एक दिन या एकक्षणका लागि कायम गरिसकिएको हुन्छ। मिसावटयुक्त चीज अन्यत्रै लुकाइसकेको हुन्छ। 
    अन्य दिन फोहोर भएका खाजाका पसल तथा रेष्टुरेण्टहरू त्यसदिन सफा राखिसकिएका  हुन्छन्। त्यसको कारण अनुगमनको सूचना चुहावट हुनु हो। सूचना चुहावटमा कर्मचारीहरूको भ्रष्ट प्रवृत्ति कारक हो। व्यवसायीहरूसितको अस्वाभाविक हिमचिम र फाइदा लिने क्रियाकलाप नै त्यसको मुख्य कारण हो। त्यसैले बजारको कृत्रिम अभाव, कालोबजारी, मिसावट, कैयौं  अनियमितता र कर्मचारीतन्त्रमा रहेको भ्रष्ट मनोवृत्ति एउटै धागोका गाँठाहरू हुन्। ती गाँठो एकएक गरी नफुकाएसम्म समस्या समाधान या सर्वसाधारणको हित असम्भव छ।