September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

असंलग्न अभियानको सन्देश

मोहिनी रिसाल
    पारमाणविक हतियार विकास गर्न खोजेको भनी हालैका वर्षमा व्यापक रूपमा आरोपित राष्ट्र इरानमा असंलग्न राष्ट्रको १६ औं शिखर सम्मेलन सम्पन्न भएको छ।
    इरानलाई तर्साउन वा कमजोर पार्न विश्वका कतिपय शक्तिशाली राष्ट्रले उसमाथि लामो समयदेखि आर्थिक एवम् सामाजिक नाकाबन्दी लगाइरहेकै बेला इरानको राजधानी तेहरानमा असंलग्न राष्ट्रको शिखर सम्मेलन आयोजना हुनु नियोजित घटना वा आयोजना नभएर एउटा संयोगमात्र बनेको छ।
    सो सम्मेलनलाई इरानले आफ्नो कूटनीतिलाई विश्वका विकासशील राष्ट्रसामु फैलाउने एक प्रभावकारी अवसरका रूपमा प्रयोग गर्न पाएको छ। आणविक भट्टीका विषयमा विश्वले उसमाथि लगाएका आरोपहरूका बारेमा आफ्नो सन्देश दिने अवसर उसले पाएको छ।
    उता सो सम्मेलनको मञ्चलाई विश्वका कतिपय राष्ट्रले हाल संसारकै टाउको दुखाइको विषय बनेको सिरियाको आन्दोलनका बारेमा पनि आ–आफ्ना धारणा राख्ने उचित स्थानको रूपमा लिन पाए। संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले सिरियाका प्रधानमन्त्रीलाई शुक्रबार नै तेहरानमा भेटी चाँडै हत्या आतङ्कको शृङ्खला रोक्न गरेको आग्रह यसको एउटा उदाहरण हो।
    सिरियाका विरोधी र उसका समर्थकले पनि सो मञ्चलाई राम्रैसँग प्रयोगगर्ने अवसर पाए तेहरानमा। इरानले नै अमेरिका र इजरायलले सिरियामा आन्दोलन चर्काएको आरोप लगाएको थियो। उता इरानले सोही मञ्च प्रयोग गरेर संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको व्यापक आलोचना गरेको थियो।
    बिहीबार सो सम्मेलनको उद्घाटन गर्दै इरानका वरिष्ठ नेता आयतुल्लाह खामेनी संयुक्त राष्ट्रसङ्घमाथि खनिनुभएको थियो। उहाँले राष्ट्रसङ्घको सुरक्षा परिषद् निरङ्कुश र स्वेच्छाचारी चरित्रको रहेको आरोप लगाउनुभएको थियो।
    युद्ध वा वादविवादमा कुनै पनि राष्ट्रतर्फ पनि नढल्किने वा असंलग्न रहने प्रण गर्दै सन् १९५५ मा वीजारोपण भएको सो सङ्गठन केही समययता प्रत्यक्ष रूपमा विवादमा संलग्न हुँदैआएका राष्ट्रका पक्ष र विपक्षमा बोल्ने मञ्चका रूपमा प्रयोग हुँदै आएको छ। दोस्रो विश्वयुद्धले युद्धरत राष्ट्रलाई भौतिक र आर्थिक रूपमा तहसनहस बनाएपछि युद्धपश्चात आ–आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन पश्चिमी युरोपेली तथा अमेरिकी राष्ट्र नर्थ एटलान्टिक टि्रटी अर्गनाइजेसन (नेटो) नामक सङ्गठन खडा गरी संयुक्त राज्य अमेरिकाको छत्रछायाँमा रहन पुगे।
    त्यसैगरी तत्कालीन सोभियत सङ्घ (युएसएसआर) लगायत पूर्वी युरोपेली तथा युएसएसआर समर्थक राष्ट्र रसियाली छत्रछायाँको वार्सा प्याक्ट नामक सङ्गठनमा आवद्ध हुन पुगे। दोस्रो विश्वयुद्धमा प्रत्यक्ष अथवा परोक्ष रूपमा असंलग्न वा तटस्थ रहेका बाँकी मुलुक भने यी दुबै सङ्गठनमा नलागी निष्पक्ष रहे। यिनै तटस्थ राष्ट्रको अभियान नै असंलग्न सङ्गठनको वर्तमान रूप हो। विकासका हिसाबले अब्बल दर्जामा पर्न नसकेका तथा विश्वको राजनीतिक परिवेशमा पश्चिमा भनी कहलाएका शक्तिशाली राष्ट्रको दर्जामा पनि नपरेका यी राष्ट्रलाई पश्चिमा देशले विकासशील राष्ट्रको उपमा दिइरहेका छन्।
    स्वाधिनताको रक्षा गर्ने, युद्धको सम्भावनालाई रोक्ने, साम्राज्यवाद, उपनिवेशबाट मुक्ति पाउन शक्तिशाली गुटबाट अलगै रही एउटा सशक्त र शान्तिपूर्ण सङ्गठन खडा हुनु अपरिहार्य रहेकाले यिनै असंलग्न एसियाली र अफ्रिकी मुलुकले इण्डोनेसियाको बाङडुङ नगरमा सन् १९५५ मा भेला भएपछि त्यहींबाट असंलग्न आन्दोलनको नाम दिएका हुन्। हाल नाममा १२० राष्ट्र सदस्य छन्। नाम गठन भएपछि यसको पहिलो शिखर सम्मेलन युगोस्लाभियाको राजधानी बेलगे्रडमा सन् १९६१ को सेप्टेम्बरमा सम्पन्न भएको थियो। जाम्बिया, श्रीलङ्का र भारत हुँदै यसवर्ष इरानको राजधानी तेहरानमा सोह्रौ सम्मेलन अगस्त ३० देखि ३१ सम्म आयोजना गरियो।
    पहिलो सम्मेलनमा २५ राष्ट्रका प्रतिनिधि तीन राष्ट्रका पर्यवेक्षक भेला भएका थिए भने यो पटक १२० सदस्य राष्ट्र, १७ पर्यवेक्षक र १० वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक सङ्गठनले भाग लिएका थिए।
    पहिलो शिखर सम्मेलन द्वितीय विश्वयुद्धबाट परेका प्रभाव र त्यसको न्यूनीकरणमा केन्द्रित थियो। समय परिवर्तनसँगै असंलग्न आन्दोलनको एजेन्डामा पनि समयानुकूल परिवर्तन हुँदै आएको छ।  विश्वमा आणविक शस्त्रको होडबाजी चलिरहेको र एकअर्काको  आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तक्षेप भइरहेको वर्तमान सन्दर्भमा असंलग्न आन्दोलनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। तर नाम सदस्य राष्ट्रबीच अत्यन्त इमान्दारिता अबलम्बन हुनु आवश्यक छ।
    सन् १९९० को दशकमा तत्कालीन सोभियत सङ्घका राष्ट्रपति मिखाइल गोर्वाचेभको खुला र उदार अर्थ तथा राजनीतिक व्यवस्था (पेरेस्त्रोइका र ग्लासनोस्त) का कारण सोभियत सङ्घ अधिनस्थ १६ वटा गणराज्यले स्वतन्त्रता प्राप्त गरी सोभियत सङ्घ टुक्रिएपछि विश्वव्यापी शीतयुद्ध अन्त्य भई संयुक्त राज्य अमेरिकाको शक्ति विश्वभर छाउन पुगेको छ। साथै वार्सा सङ्गठन विघटन भइसकेकाले पनि पुराना कालजस्तै अब विश्वमा द्विपक्षीय सैन्यध्रुवीकरणको अवस्था रहेन। यसको सट्टा अब आवश्यक छ अर्कै खाले द्विपक्षीय धु्रवीकरणको। हिजोआज नेटोको समर्थन र यसको विरोधका आवाज विश्वमा मुखरित हुनथालेका छन्। कुनै पनि देशमा आन्तरिक विवाद वा आन्दोलनमा पनि नेटो सेना प्रयोगको कुरा उठ्न थाल्दछ। जस्तो गत वर्षको आन्दोलनका क्रममा लिबियामा त्यस्तो अवस्था देखियो भने हालैको आन्दोलनमा सिरियामा पनि यो प्रसंग उठ्ने गरेको छ। तर यस्तो विवादमा असंलग्न राष्ट्रको यो अभियान आगामी दिनमा पनि यसैगरी कतिको असंलग्न भएर बस्न र बाँच्न सक्छ भन्ने कुरा चासोको विषय हुनसक्छ।
    तर पनि सबैभन्दा बलियो पक्षका साथै विश्व परिवेशको सबैभन्दा टड्कारो आवश्यकता भने विश्व भाइचारा र सहिष्णुता नै हो। युद्ध वा युद्धमा संलग्नताको कुरा अबको विश्वका लागि असान्दर्भिक हो। दिनप्रतिदिन बढ्दो रूपमा देखापर्ने आतङ्कवादका विभिन्न रूप आगामी विश्वका लागि चुनौती बन्नसक्छन्। त्यसैले यो असंलग्न अभियानलाई आगामी विश्व शान्तिको एक अभियानका रूपमा मात्र विकास गरिनुपर्दछ। यसको सिद्धान्त पनि त्यही हो।