|
अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एनक्रुमा – ५
उपनिवेशवादीहरूले देशको विघटनकारी गतिविधि चर्काउँदै गए, ठाउँठाउँमा एनत्रु्कमाका पार्टी कार्यकर्ताहरूमाथि हमला, विरोध र हत्यासमेत गरियो। एक साँझ प्रधानमन्त्री निवासकै बार्दालीमा थिए, एउटा बम विस्फोट भयो तर कोही हताहत भएन। राजनैतिक उपद्रव र हत्याहरू हुँदै गए। घानामा त्यसबेला ७ लाख मुसलमानहरू थिए। तिनीहरूले पनि मुसलमान समुदाय दल, घाना काङ्ग्रेस पार्टीजस्ता अनुदारवादीहरूका दलहरू खुल्दै गए। जून १९५२ मा बेलायती अनुदारवादी सरकारको उपनिवेश मन्त्री ओलिभर लाइटील्टोन आउँदा एनक्रुमाले माथिल्लो सदन बनाउन संविधान संशोधन गराउन राजी गराए। १९५३ मा घानाको मुक्ति आन्दोलनलाई दबाउन साम्राज्यवादीहरूले 'शीतयुद्ध' कै सिलसिलामा 'कम्युनिष्ट विचार' दबाउन एनक्रुमालाई दबाब बढाउन थाले। उनले विश्व मजदुर फेडरेसन र युवा फेडरेसनको गतिविधि र साहित्यमा प्रतिबन्ध लगाउने 'व्यावहारिक' पाइला चाले। उनले आफूलाई कम्युनिष्ट होइन एक क्राइश्चेली र मार्क्सवादी समाजवादी बताए। घानालाई ४ भागमा विभाजित गर्न खोज्ने राष्ट्रिय मुक्ति आन्दोलनका नेता कोफि आब्रिफा बुसिया एक अमेरिकी परोपकारी संस्थाबाट छात्रवृत्ति पाएका र बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढेका थिए। उनी बेलायतीहरूलाई घाना छोड्नु हुन्न भन्थे। अप्रिल १९५४ मा जातीय नेताहरूलाई पनि राख्नसक्ने गरी माथिल्लो सभासहितको नयाँ वा एनक्रुमा संविधानअनुसार नयाँ निर्वाचन भयो। निर्वाचनमा जनता सम्मेलनको नारा थियो – 'साधारण जनतासँग अगाडि बढ' र निर्वाचन चिन्ह थियो – विजयको चिन्ह रातो भाले। तर निर्वाचनमा विपक्षीहरूले एनक्रुमाले जनताको हितलाई बेवास्ता गरेको, उपनिवेशवादीहरूसँग मिलेको जस्ता झूटा प्रचारहरू गर्न बेलायती प्रेस नै लागिपरे। त्यस्ता झूटा आरोपहरूको कारण एनक्रुमाका आफ्नै दलका ८० जना उम्मेदवारहरूलाई अनुशासन भङ्ग गरेकोमा निकाला गरे। तिनीहरू सबै विरोधीहरूसँग मिल्न गए। तर निर्वाचनमा एनक्रुमाको पार्टीले १०४ स्थानमध्ये ७२ स्थानमा विजय प्राप्त गर्यो, उत्तरी जनता पार्टीले १२ स्थान र अन्य दलहरू एक दुई स्थानहरूमा विजयी भए। एनक्रुमाको नेतृत्वमा नयाँ सरकार बन्यो। सन् १९५१ देखि १९५७ सम्मको त्यो औपनिवेशिक द्वैधशासनमा एनक्रुमाले प्राथमिक शिक्षा निःशुल्क गरे, विद्यालय जाने विद्यार्थी सङ्ख्या दोब्बर बनाए, माध्यमिक विद्यालय र शिक्षक तालिम कलेजहरू, संयन्त्रहरू व्यापक बनाए, प्रौढहरूमा निरक्षरता उन्मूलन अभियान चलाए, स्थानीय भाषाहरूमा समेत साहित्य र समाचारपत्रहरू प्रकाशित गर्न उत्साहित गरे, नौ वटा अस्पताल, १५ वटा अस्पताललाई आधुनिक बनाए, पछि परेको उत्तरी क्षेत्रमा स्वास्थ्य सेवालाई ध्यान दिए। स्वतन्त्रताको घोषणा एक सय तेर्ह वर्ष पहिले बेलायती उपनिवेशवादीहरूले घानाको फान्टी जातिको मुखिया या प्रमुखसँग एक असमान सन्धि गरी उपनिवेश बनाएका थिए। ६ मार्च १९५७ को दिन गाउँगाउँबाट एक लाखभन्दा बढी जनता राजधानीमा राष्ट्रिय पोशाकमा भेला भए। मध्यरातको बला बेलायती झण्डा तल झारियो र रातो, पहेंलो र हरियो तीन रङ्ग र कालो रङ्गको पाँचकुने ताराको झण्डा विस्तारै फहरियो। रगतको रातोले स्वतन्त्र र गौरवको अभिव्यक्ति दिन्थ्यो भने पहेंलो रङ्ग त्यस देशको सुनको प्रचुरताको प्रतीक थियो र हरियो रङ्गले त्यहाँको काकाओको उत्पादनलाई तथा ठूलो कालो रङ्गको पाँचकुने ताराले उपनिवेशवादको विरोधमा अफ्रिकी जनताको एकतालाई प्रतिनिधित्व गर्थ्यो। समारोहमा ६५ देशका प्रतिनिधिहरू उपस्थित थिए तथा झण्डोत्तोलनपछि 'स्वतन्त्रता ! स्वतन्त्रता !! भन्ने राष्ट्रिय गीत बजाइयो। सारा जनता एक आपसमा अँगालो हाली हर्षको आँसु झारे। एनक्रुमाले बोले –'अन्तमा स्वतन्त्रताको सङ्घर्ष विजयमा टुङ्गियो, हामी अब स्वतन्त्र र स्वाधीन जनता भयौं, अब हामी उपनिवेशी होइनौं। .... तर अहिले हामी कठिन काम सुरु गर्दैछौं, हामी तपाईंहरूको समर्थन चाहन्छौं।' 'हामी सबै देशसँग मैत्रीपूर्ण र हार्दिक सम्बन्ध स्थापना गर्न इच्छुक छौं, संयुक्त राष्ट्रसङ्घमा हामीले पूर्ण भूमिका खेल्न सक्नेछौं र हामी त्यसका प्रतिनिधिहरूप्रति सम्मान प्रकट गर्दछौं।' यसरी अफ्रिका विश्व इतिहासको मोर्चामा अगाडि बढ्यो। एनक्रुमा 'मुक्तिदाता' र 'उद्धारक' सम्भि्कए। एनक्रुमा ५० वर्षका प्रौढ भए, जीवनको एउटा उद्देश्य पूरा भयो। सन् १९५७ को अन्ततिर उनले २७ वर्षकी एक मिश्रेली युवती फातिया हेलेन रिजसँग विवाह गरे। यो विवाह एक राजनैतिक ढङ्गको थियो र मिश्रका राष्ट्रपति नासेरले नवदम्पत्तिलाई बधाईस्वरुप केही उपहारहरू पठाए। विवाह समारोहमा एनत्रु्कमाका आमा र केही नातेदारहरुमात्रै थिए। विवाहको शैली ग्रीसेली चर्च र मिश्रेली क्रिश्चियन शैलीको थियो। यस समारोहमा गिनीको राष्ट्रपति सेकू तुरे पनि उपस्थित थिए। कता जाने? सन् १९५७ को नोभेम्बर महिनामा जातीय, क्षेत्रीय र धार्मिक सङ्गठन र पार्टीका विपक्षीहरू मिलेर संयुक्त पार्टीका ४३ सक्रिय सदस्यहरूलाई पक्राउ गरी सरकार फाल्न खोजेको आरोपमा मुद्दा चलाइयो। कोफि ए बुसिया विदेश भागेर गतिविधि चालू राख्यो। घाना स्वतन्त्र र स्वाधीन घोषणा भए पनि बेलायती राष्ट्रमण्डलको सदस्य थियो र बेलायती महारानी त्यसको सार्वभौमिकताको प्रतीक नै थियो। बेलायती महारानीले गभर्नर जेनेरललाई राज्य प्रमुखमा नियुक्त गरिन्। पूर्वगभर्नर आर्डेन क्लार्कको ठाउँ लिस्तोवेलको रजौटाले लियो। उनी नै घानाको प्रधानसेनापति बनाइए र बेलायती जेनरल एच.टी. आलेक्जेण्डर सेनानायक बनाइए। घानाका राष्ट्रिय सरकारले बेलायती गद्दीको शपथ लिनुपर्दथ्यो। तर ६०–७० को दसकमा साम्राज्यवादीहरू निर्वाचित स्वाधीन सरकारहरूलाई अपदस्थ गर्न हरेक तीन महिनामा एउटा सैनिक विद्रोह गराउँदै गए। घानाले स्वतन्त्रता पायो, त्यहाँकै जनताको सरकार बन्यो, त्यहाँको अर्थतन्त्र विश्व पूँजीवादी बजारले गाँजेको थियो, सियोदेखि खानेकुरा समेत बेलायतबाट आउँथ्यो। त्यहाँको खेती जातीय मुखियाको सामन्तवाद र सामुदायिक खेती बन्दोबस्तमा थियो, वर्षको एउटैमात्र बाली लगाइन्थ्यो, काकाओको निर्यात नै देशको ७० प्रतिशत निर्यात थियो। हीरा, सुन, मान्गानिज, बाक्साइट, काठ आदि खनिज र प्राकृतिक उत्पादन सिधै बेलायत जान्थ्यो। स–साना साहुमहाजन, कालिगढ र हाते उद्योगपतिमात्रै थिए र औद्योगिक कारखानाहरूको सुरुवातमात्रै भएको थियो। रक्सी भट्टी, साबुन कारखाना, चुरोट कारखाना, चिसो पेय पदार्थको कारखाना, केही लुगा सिउने कारखानाजस्ता स–साना कारखानामात्रै थिए, नत्र खल्ती रुमालदेखि सलाई बट्टासमेत बेलायतबाट आउँथ्यो। आलु, काउती, गाजर, सखरखण्ड, दूध, नौनी आदि त्यहींबाट आउँथ्यो। ८० प्रतिशत जनता निरक्षर थिए, खेत र भूमि बाँझो थियो, सडक साँघुरा थिए, छोटो दूरीका स–साना रेलका बाटामात्रै थिए, बन्द–व्यापार सबै विदेशीको हातमा थियो। सारमा अर्थतन्त्र सार्है पिछडिएको थियो, सहरहरु फोहर र अव्यवस्थित थिए। उपनिवेशवादीहरू 'स्वाधीन र सार्वभौम घाना', 'गणतन्त्र घाना' को तमासा हेर्न चाहन्थे। पुराना सबै प्रशासन गभर्नरको निवासमा सरे तथा सबै कागजपत्र बेलायत पठाइए, अलपत्र परेको, भाँचेको मेचकुर्सी र लथालिङ्ग र नाममात्रका कार्यालयहरू राज्यले पायो। त्यसबेला अफ्रिकी नेताहरूलाई पूँजीवाद र समाजवादबारे सैद्धान्तिक जानकारी थियो। समाजवाद मनपराउँथे तर त्यसलाई आ–आफ्नो देशमा ल्याउने र आवश्यक परिस्थितिबारे जानकारी थिएन। बेलायतमा 'प्रजातान्त्रिक समाजवाद' जस्ता शब्दावली प्रचलित थियो। तर भर्खर स्वतन्त्र भएका देशहरूको कच्चा सामान उपनिवेशवादी देशहरूमा पठाएन र तिनीहरूका तयारी सामान आफ्नो बजारमा प्रवेश दिएन भने उपनिवेशवादीहरू बदला लिन वा नयाँ लडाइँकै निम्ति तयार हुन्छन् भन्ने थाहा थिएन। यसकारण एनक्रुमा र उनको दल आर्थिक विकासको कार्यक्रमबारे प्रस्ट थिएन। हो, तिनीहरू शोषण रुचाउन्नथे र समाजवाद मनपराउँथे तर मनपरेको वस्तु त्यसै आउँदैनथ्यो। उनी 'आर्थिक उदारवाद' र पश्चिमी युरोपको दोस्रो युद्धपछिको योजना 'मार्शल प्लान'बाट प्रभावित थिए। तर पश्चिमी युरोप र अफ्रिकाको परिस्थिति फरक थियो। १९६० फेब्रुअरी महिनामा संसदबाट गणतन्त्रको प्रस्ताव अगाडि बढाइयो। त्यसको विरोधमा एनक्रुमालाई बेलायती महारानी ऐलिजावेथ दोस्रोको विरोधमा 'विद्रोह' र 'निर्वाचित राजतन्त्र' भन्दै बेलायती प्रतिक्रियावादी प्रचारमाध्यम खनियो। १९, २३ र २७ अप्रिल १९६० मा घानाको पहिलो राष्ट्रपतिको निम्ति जनमतसङ्ग्रह आयोजना गरियो र राष्ट्रपतिको निर्वाचन घोषणा गरियो। एनक्रुमाको विरोधमा संयुक्त दलको उम्मेदवार जे.बी. डानक्वाह थिए। ८९ प्रतिशत मत एनक्रुमाको थियो। भने प्रतिपक्षले ११ प्रतिशतमात्रै मत पायो अर्थात् एनत्रु्कमाले १०,१६,०७६ मत प्राप्त गरे भने प्रतिपक्षी उम्मेदवारले १,२४,६२३ मत प्राप्त गरे। घानाको पहिलो राष्ट्रपति निर्वाचित हुँदा उनको उमेर ५१ वर्षका थिए। गणतन्त्रको घोषणा १ जुलाई १९६० मा राष्ट्रपति एनत्रु्कमाद्वारा घाना एक स्वाधीन गणतन्त्रको घोषणा समारोह आयोजना गरियो। त्यस समारोहमा पाँच सय विदेशी पाहुनाहरू र गिनीका राष्ट्रपति सेकु तुरे र विलियम डु बोइस पनि सहभागी थिए। साँझको समय थियो, एउटा ठूलो भाँडोमा राष्ट्रपति एनक्रुमाले आगो बालेर अन्धकारलाई हटाई समारोहको उद्घाटन गरे। मुक्तिको प्रतीक आतसबाजी र भुइँचम्पा आकासमा पड्काइयो। गीतहरू गाइए, राष्ट्रपति एनक्रुमालेे विधिवत् शपथग्रहण गरे। नयाँ संविधानअनुसार उनी नै राज्यप्रमुख र मुख्य कार्यकारी भए, साथसाथै उनी नै घानाको सेनाको परमाधिपति भए। यसरी सारमा घानालाई एक प्रगतिशील समाजमा रुपान्तरण गरियो। पहिलो प्रतिनिधिमण्डल मस्को सिद्धान्ततः अफ्रिकी नेताहरू तुलनात्मक रुपले समाजवादी व्यवस्थाले छिटो आर्थिक विकास हुन्छ भन्नेबारे जानकारी राख्थे। यसकारण समाजवादी देशहरूसँग नवस्वाधीन अफ्रिकी देशहरूको सम्बन्ध नजिकिँदै थियो। सोभियत सङ्घको सर्वोच्च सोभियत र सरकारको निमन्त्रणामा १० जुलाई १९६१ मा एनक्रुमा र मन्त्रीहरूसहितको उनको प्रतिनिधिमण्डल मस्को पुग्यो। रुसको पूर्वदेखि पश्चिमसम्मका विभिन्न जलविद्युत् योजना, कपास खेती र पशुपालन तथा मासु उत्पादनसम्बन्धी योजना आदि अवलोकन त्यस प्रतिनिधिमण्डलले गर्यो। वर्ष २ अङ्क १, पूर्णाङ्क ७ असार–साउन २०६९
|