September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

दुराग्रह – अख्तियारको कि पुलिसको?

प्रकाश नेपाल, भक्तपुर
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखाका प्रहरी नायव महानिरीक्षक रमेशशेख बज्राचार्यले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजप्रति दुराग्रह राखेको समाचार चिठी र टिप्पणीहरू लोकप्रिय 'मजदुर' दैनिकमा पटकपटक पढें। त्यसैले केही लेख्न बाध्य पार्‍योर लेख्दैछु। नेपालका मन्त्रीदेखि बहिदार अझ पीयनहरूमा समेत अधिकांशमा आफ्नो दायित्व र कर्तव्यको पालना गर्नुभन्दा अधिकार क्षेत्र र कार्यक्षेत्र बाहिर गएर अख्तियार दुरुपयोग गर्ने दीर्घरोग छ। 
    त्यो रोग उक्त बज्राचार्यमा पनि भएको महसुस गर्दैछु। आयोगको महानिरीक्षकलाई कलेजका प्राचार्यलाई आयोगमा बोलाउने, बयान लिने अधिकार छ कि छैन? चिठी लेख्ने हैसियत छ कि छैन? आयोगमा कार्यरत भएकै आधारमा त्यस्तो काम गर्ने अख्तियार पाउँछ? यदि छैन भने ख्वप इन्जिनियरिङ कलेजले उनीविरुद्ध अख्तियार दुरुपयोग गरेको उजुरी दिन डराउन नहुने देखिन्छ। यस विषयमा कलेजले कानुन व्यवसायीहरूसँग परामर्श गर्न विलम्ब नगरोस्, यही सुझाव छ। बज्राचार्यको दुराशय र दुराग्रहको पछाडि केही कारण हुनैपर्छ। मलाई लाग्छ, उनका केही नातेदार वा आफन्तले त्यस कलेजको प्रवेश परीक्षा उत्तीर्ण गर्न सकेन, सायद भनसुनको असफल प्रयास गर्दा पनि केही लागेन होला, त्यसैको रिस पोख्न प्राचार्य र विद्यार्थीसँग कलेजकै बद्नाम गर्न खोजेको हुनुपर्छ। बेनामी उजुरीमा भक्तपुरका विद्यार्थीहरूलाई बढी नम्बर दिएको कुराको यही सङ्केत गर्छ। 
    त्यसैले यसतर्फ अनुसन्धान गरी कलेजले जनतालाई सुसूचित गर्नुपर्दछ। त्यसो नगरे पूर्वाग्रही र दुराग्रहीहरूको दुरुत्साह बढ्छ र अरुलाई पनि दुःख दिन्छ। यो दुराग्रह अख्तियारको हो कि पुलिस कर्मचारीको? प्रश्न पनि उठेको छ। नबिराउनु नडराउनु भन्ने मन्त्र बोकेर हिंडेको भक्तपुरवासी कुनै पुलिसको धम्कीले डराउने कुरै छैन। विगतमा पर्यटक सेवा शुल्कको सन्दर्भमा स्थानीय विकास मन्त्रीको धम्कीपत्रलाई रद्दीको टोकरीमा फालेको तथ्य हो। 
    पञ्चायतकालमा बहुदलवादीहरूले राम्रो काम गर्दा पनि प्रतिक्रियावादीहरूले खेदो खन्थे। अहिले गणतन्त्रमा पनि त्यही प्रतिक्रियावादी र प्रतिगामी चरित्र बोकेर कोही कसैले अनाधिकार, पूर्वाग्रही र दुराग्रही व्यवहार गर्छ भने के सहेर बस्नु ठीक हुन्छ? केही वर्षपहिले वर्तमान प्रमका श्रीमती हिसिलालगायतका एमाओवादीहरूले पनि भक्तपुर नगरपालिकाले कलेज, उमावि सञ्चालन गरेकोमा डाहा, इर्ष्या, निराशा र कुण्ठाले ग्रसित भएर सार्वजनिक सभामै विषवमन गरेका थिए। तर केही लछारपातो लाएन। त्यसैले अख्तियारमा बसेर दुराग्रहीको काम गर्ने कुनै कर्मचारीको धम्कीबाट चिन्तित हुनुपर्ने देखिंदैन, बरु आइलाग्नेमाथि जाइलाग्ने तिर ध्यान दिइयोस्–यही आग्रह छ।