अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एनक्रुमा – ६
सोभियत सङ्घबाट फर्किसकेपछि एनक्रुमाको दृष्टिकोणमा समाजवादप्रतिको विश्वास झन् बलियो भयो र उनले 'अफ्रिकी शैलीको समाजवाद' को वकालत गर्न थाले। अफ्रिकी संयुक्त सङ्घ, 'तेस्रो शक्ति' र तटस्थ राष्ट्रहरूको एकताप्रतिको उनको दृढताले परिपक्वता प्राप्त गर्दै लगेपछि उपनिवेशवादीहरू र स्थानीय प्रतिक्रियावादीहरू उनीमाथि झन्झन् आक्रामक हुँदै गए। सम्भवतः त्यसबेला हिजोको रोडेशिया र आजको जिम्बावेमा जातिवादी तानाशाही, स्मिथको गोरा सरकारको विरोधमा त्यहाँका लडाकूहरूलाई सैनिक सहयोग गरेको हल्ला चलेको थियो।
२ जनवरी १९६४ मा आफ्नो निवासबाट कारमा बस्न गइरहेका राष्ट्रपति एनत्रु्कमालाई एक प्रहरीले पाँचवटा गोली प्रहार गर्यो। उनलाई गोली लागेन तर उनका एकजना अङ्गरक्षक गोली लागेर मर्यो। साधारण जनता आ–आफ्नो काममा लाग्थे, राजनैतिक र सङ्गठनात्मक रुपले आवश्यक सचेतता जनतामा आइनसकेको हुँदा एनत्रु्कमा सारमा सेना, प्रहरी र कर्मचारीको घेरामा परे। ती तीनवटै अङ्गमा औपनिवेशिक प्रभाव बाँकी थियो। समाजका माथिल्लो वर्ग स्वाधीनता, प्रगतिशीलता र 'समाजवाद' का विरोधी थिए। तिनीहरू एनत्रु्कमाको विचारलाई जीवन र मरणको रुपमा लिँदै थिए।
तर घानामा सं.रा. अमेरिकी केन्द्रीय गुप्तचर विभाग सार्है सक्रिय थियो। अमेरिकी गुप्तचरहरू राजनीतिक प्रशासनिक कर्मचारी र जीवनका हरेक क्षत्रमा घुस्दै संवैधानिक सरकारलाई भाँड्ने, विश्वासघाती बन्न घूस दिने आदि काम तीव्रतापूर्वक गर्दै थिए।
शोषक वर्ग सरकारलाई असफल पार्न सामानको मूल्य बढाउँदै थियो, राज्य र पार्टीको संयन्त्रमा बढ्दै गएको भ्रष्टाचारको विरोधमा औद्योगिक हड्ताल चलाउँदै गयो, सेनाभित्र पनि गुप्त रुपले सरकारको विरोधमा राजनैतिक गतिविधि बढ्दै गयो। १९६५ को यस परिस्थितिलाई सम्हाल्न उनले आवश्यक ध्यान पुर्याउनै पाएनन्। अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्ने काम गर्दै गए र उनको भियतनाम र चीनको भ्रमण हुने भयो।
अमेरिकी राष्ट्रपति लिण्डन जोनसन थिए र भियतनाममा बमवर्षा चर्काइँदै थियो। एनत्रु्कमाले घानाको राष्ट्रपतिको रुपमा जोनसनलाई केही नभए पनि आफ्नो भ्रमणको बेला हनोइमा बम वर्षा नगर्न अनुरोध गरे। जोनसनले उनलाई एक व्यङ्ग्यात्मक उत्तर दिए– 'आक्रमण बन्द भएपछि हाम्रो सैनिक प्रतिरोध बन्द हुने हनोइलाई
सुनाउनुहोला।'
२१ फेब्रुअरी १९६६ मा ८० जनाको एक सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गरी एनक्रुमा एसियाको निम्ति उडे। हल्ला गरिएको थियो – एनक्रुमाले भियतनामलाई मद्दत दिन ८० लाख स्टर्लिङ पाउण्ड लगेका छन् र भियतनामलाई सैनिक सहायता दिने सम्झौतामा हस्ताक्षर गर्नेछन् र घानाको सेना भियतनाममा अमेरिकी सेनासँग लड्न बाध्य हुनेछ।
२३ फेब्रुअरी १९६६ को दिन एनक्रुमा पेकिङ्ग जान हनोइको आकासमै थिए, केही दिन अगाडि सेनाबाट हटाइएको लेफि्टनेन्ट जेनेरल जोसेफ आन्क्राहले निरक्षर र राजनीतिबारे ज्ञान नै नभएका सैनिकहरूको एक एकाइलाई हातमा लिई सैनिक विद्रोहको घोषणा गरे। २४ फेब्रुअरी १९६६ को दिन बिहान ५ बजे विद्रोही सेनाको एक कर्नेल एमानुयल क्वासि कोतोकाले रेडियो स्टेशन कब्जा गरी सेना र प्रहरीले सरकार र संसदलाई भङ्ग गरेको तथा राष्ट्रपति एनक्रुमालाई अपदस्थ गरेको घोषणा गर्यो। राष्ट्रपति भवनलाई सुरक्षा दिइरहेका ३० जनाको सानो सुरक्षा गार्डहरूलाई विद्रोही सिपाहींहरूले घेरेे र गोली हानाहान भयो र १०ः३० बजेतिर सुरक्षा गार्डको प्रतिरोध दबाइयो।
रक्सीले मातेका ती विद्रोही सिपाहींहरूले राष्ट्रपति भवनभित्र पसेर सम्पूर्ण सामान र राष्ट्रपतिको पुस्तकालयलाई ध्वस्त पारे। एनक्रुमाको जनता सम्मेलन पार्टीमाथि प्रतिबन्ध लगाइयो। अमेरिकी गुप्तचर विभागको मुख्य होवार्ड टी. बेनेसको तत्काल ठूलो पदोन्नति भयो र उसले घाना छोड्यो।
सेना र प्रहरीले मन्त्रीहरू र जनता सम्मेलन पार्टीका सांसदहरू पक्राउ गरे, एनक्रुमाको जहान र छोराछोरीलाई काइरो पठाइयो र एनक्रुमाको आमालाई राष्ट्रिय झण्डा भएको घरबाट निकाली आफ्नो गाउँ एनक्रोफूल पठाइयो। एनत्रु्कमालाई पेकिङ्ग हवाइ अड्डामा चिनियाँ प्रधानमन्त्रीले स्वागत गरे। त्यसबेलासम्म एनक्रुमालाई आफ्नो देशको सैनिक विद्रोहको समाचार थाहा थिएन।
चिनियाँहरूले घानाको समाचार राजदूतलाई थाहा दिए र पछि राजदूतले एनक्रुमालाई बताए। गम्भीर र शान्त मुद्रामा समाचार सुनेपछि २५ फेब्रुअरी १९६६ को दिन पेकिङ्गस्थित घानाको राजदूतावासबाट राष्ट्रपति एनक्रुमाले आफ्ना प्रतिनिधिमण्डललाई सैनिक विद्रोह दबाउन तत्काल घाना उड्न आदेश दिए तथा एक वक्तव्य दिए –
'म गणतन्त्र घानाको संवैधानिक प्रमुख हुँ र सशस्त्र शक्तिहरूको म सर्वोच्च सेनाको परमाधिपति हुँ। ..... घानाका जनता मप्रति समर्पित छन् भन्ने मलाई थाहा छ ....। विद्रोहमा भाग लिएका सबै सिपाहींहरूलाई ब्यारेकहरूमा फर्कन र विदेशमा रहेका सबै राजदूतहरूलाई सबै कागजपत्र र सूचना आदानप्रदान आक्रामा नगरी पेकिङ्गस्थित घानाली राजदूतावासमा गर्न आदेश दिन्छु।' जीवनको त्यस गम्भीर घाउमा एनक्रुमा ५७ वर्षका थिए।
विश्वासघात र प्रतिक्रान्ति
एनक्रुमाले आफ्नो पक्षमा घानाका जनता छन् भन्ने जुन विश्वास गरेका थिए, व्यवहारमा त्यो स्थिति देखा परेन। सेना व्यारेक फर्केन र विद्रोहीहरूको विरोधमा जनताबाट आशा गरेको विरोध प्रदर्शन र प्रतिरोध पटक्कै भएन। दक्षिणपन्थीहरुले राष्ट्रिय मुक्ति परिषद् बनाएर घानाको विधायिका र कार्यकारी शक्ति हत्याई देशलाई पूरै कब्जामा लिए।
विद्रोही परिषद्का नेता लेफि्टनेन्ट जेनेरल जोसेफ अन्क्राहले 'घानाका जनताका सबभन्दा पुरानो र सबभन्दा सम्पन्न परम्परालाई अविश्वास गरेको हुँदा घानाका जनताको समर्थन र विश्वास (एनक्रुमाले) गुमाए र स्वेच्छाचारी ढङ्गले शक्ति प्रयोग गर्नेलाई अपदस्थ गरिएको हो' भन्ने घोषणा गर्यो। कोफि बाकोजस्ता एनक्रुमाको राजनैतिक संरक्षणमा रहेका व्यक्तिले समेत प्रेस सम्मेलन गरी भने –'एनक्रुमा एक सच्चा नेता होइन भन्ने अनुभव हुँदा मलाई सदा चिन्ताले सताउँथ्यो।'
राष्ट्रपति एनत्रु्कमाका 'अफ्रिकी मामिला' का सल्लाहकार मिखाइल डेई–आनाङ्गले सैनिक विद्रोह लगत्तै 'अफ्रिकी एकताको नीतिको टाट पल्टेको' र 'एनक्रुमा एक 'राजनैतिक बोक्सा' अनुभव गरेको बतायो। एनक्रुमासँगै चीनमा गएका प्रतिनिधिमण्डलका सदस्यहरूले घाना फर्केर राष्ट्रपतिलाई अनेक लाञ्छना लगाए। तिनीहरूलाई पेकिङ्गबाट घाना फर्कने बेलामा सैनिक विद्रोहको विरोध गर्न भनेका थिए तर घाना फर्केपछि एनक्रुमालाई विश्वासघात गरी दक्षिणपन्थी नयाँ सरकारप्रति बफादारी देखाए।
२ मार्च १९६६ को दिन एनक्रुमालाई गिनीका राष्ट्रपति अहमद सेकु तुरेले राजधानी कोनाक्रीमा एक राष्ट्रपतिकै रुपमा स्वागत गरे। एनक्रुमासँग रहेका उनका अङ्गरक्षक र कर्मचारी टोलीसमेत थिए। राज्य प्रमुखकै रुपमा स्वागत गर्दा सेकु तुरेले हवाइ अड्डामा २१ तोपको सलामी दिँदै भने – 'एनक्रुमा गिनीकै एक राज्य प्रमुखको रुपमा आफैंसँग रहनुुहुनेछ र गिनीयाली प्रजातान्त्रिक पार्टीको महासचिवको रुपमा रहनुहुनेछ।' गिनीको राजधानी कोनाक्रीको एक जनसभामा एनक्रुमाले घोषणा गरे –'गिनीलाई एक दबुको रुपमा प्रयोग गर्ने उद्देश्यले म यहाँ आएको हुँ र म चाँडै घानाको आक्रामा रहनेछु भनी संसारलाई बताउँछु।' गिनीमा एनक्रुमा सह–राष्ट्रपतिको रुपमा रहे।
एनक्रुमा गिनीको राजधानीमा समुद्रको नजिकै राम्रो सुरक्षाका साथ एक आवासमा बसे। घानाका दक्षिणपन्थी नयाँ सरकारले एनक्रुमाको टाउको ल्याउनेलाई एक लाख सेडि अर्थात् एक लाख २० हजार डलर दिने घोषणा गर्यो। तर उनी अध्ययनको निम्ति ठूलै कोठामा रहन्थे र उनले मार्क्सवादी साहित्य अध्ययन गर्न थाले। त्यही निवासमा गिनीमा रहेका कूटनैतिक व्यक्तिहरू, अफ्रिकी राष्ट्रिय मुक्ति आन्दोलनका मुख्य मुख्य नेताहरू, विभिन्न देशका सहयोद्धा र पुराना मित्रहरू, घाना र गिनीका प्रवासी र प्रमुख नेताहरूसँग भेटघाट, छलफल र सरसल्लाह गर्थे। सेकु तुरे र श्रीमती बरोबर एनत्रु्कमासँग भेटघाट गर्न जान्थे र प्रचार माध्यमसँग भेट्ने र अन्तर्वार्ता दिन उनी अस्वीकार गर्थे। गिनीको बिदाका दिनहरू मानार्थ राष्ट्रपतिको रुपमा रहेका एनक्रुमा सेकु तुरेसँग बिताउँथे। अध्ययन, बगैंचामा घुमफिर, फूल र विरुवाको गोडमेल, कहिलेकाहीं टेनिस खेलेर दिन बिताउँथे। फ्रान्सेली भाषा सिकेपद्धि फ्रान्सेली भाषा बोल्ने अफ्रिकी देशका नेताहरूसँग कुराकानी र छलफल गर्न उनी सजिलो अनुभव गर्थे।
सैनिक विद्रोहको ठीक १० दिनपछि छिट्टै घाना फर्कन सक्ने अनुमानअनुसार एनक्रुमाले एक शक्तिशाली प्रसारण यन्त्रबाट सैनिक विद्रोहको विरोधमा सङ्घर्ष गर्न जनतालाई आह्वान गरे। ६ मार्च १९५७ को दिन स्वाधीनताको घोषणाको दिन थियो भने ६ मार्च १९६६ को दिन अर्थात् स्वाधीनताको नवौं वार्षिकको दिन एनक्रुमाले आह्वान गरे –'मलाई थाहा छ, तपाईंहरू सदा मप्रति, पार्टी र सरकारप्रति बफादार हुनुहुन्छ र यस परीक्षाको घडीमा डर–त्रासपछि पनि दृढतापूर्वक अडान र प्रतिरोधमा रहनुहुनेछ। ..... घानामा अहिले घटेको घटना सैनिक विद्रोह होइन विद्रोह हो र त्यसको आफ्नै कार्यहरूबाट त्यो दबाइनेछ। ...... छिट्टै म तपाईंहरूको साथमा रहनेछु।' समयले एनक्रुमालाई व्यावहारिक बनाउँदै लग्यो र उनले आफूलाई पूर्णरुपले अध्ययन, अनुभव र सैद्धान्तिक लेखनमा लगाए।
संसारका विभिन्न किसिमका सैद्धान्तिक पुस्तकहरू, लेनिनको 'गुरिल्ला युद्ध', माओ त्से तुङ्गका रचनाहरू, चे गुएभारा र रेजिस डेब्रे आदिका रचनाहरूको अध्ययनले उनले घानामा स–साना गुप्त सङ्गठनहरू बनाउन निर्देशन दिए। तर पुराना सङ्गठनका सबै जगहरू खुला र खुकुलो ढङ्गको थियो भने त्यसकै जगमा सशस्त्र सङ्घर्षको निम्ति गुप्त सङ्गठनहरू बन्न गार्हो थियो।
पश्चिमी देशहरूले सेप्टेम्बर १९६९ मा सैनिक शासनको ठाउँमा कोफि बुसियाको सरकार बन्यो। त्यस सरकारले देशी र विदेशी पूँजीलाई स्वतन्त्र रुपले खेल्न दियो र १९७१ डिसेम्बर महिनामा घानाको मुद्रा केहीको अवमूल्यन गरेर सीमित आम्दानी भएका जनताको ढाड खुस्काउने काम गर्यो र त्यो सरकार बदनाम हुँदै गयो।
१५ अक्टोबर १९७१ को दिन आफ्नो अन्तिम कृति 'क्रान्तिकारी बाटो' को सारसङ्क्षेप लेख्न सिध्याए।
१३ जनवरी १९७२ को दिन कर्नेल इग्नाटियस अचेम्पोङ्गको नेतृत्वमा पुनः एउटा सैनिक विद्रोह गरी सत्ता हातमा लियो र एनक्रुमालाई घाना फर्कन स्वीकृति दियो। तर त्यसबेलासम्ममा एनक्रुमालाई क्यान्सरले छोइसकेको थियो र उपचारको निम्ति आफ्नो निजी चिकित्सक र आफ्नो सानो टोली लिएर उनी रोमानिया जाँदै थिए।
२७ अप्रिल १९७२ मा रोमानियामै एनक्रुमाको मृत्यु भयो। २९ अप्रिलको दिन गिनीले राष्ट्रिय शोकको घोषणा गर्यो र तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकायो। आफू बित्नुभन्दा पहिले उनले आफ्नो पार्थिव शरीरलाई आफू जन्मेकै गाउँ एनक्रोफूममा समाधिस्थ गर्ने इच्छा जाहेर गरेका थिए। एनक्रुमाका पुराना साथी काजो बोत्सीओ कोनान्क्री पुगी एनक्रुमाको अस्थिलाई घानामा लैजान अनुरोध गरे।
तर राष्ट्रपति सेकु तुरेले घानाको सरकारले औपचारिक रुपले जिम्मा नलिएसम्म एनक्रुमाको अस्थि नदिने अडान लिनुको साथै एनक्रुमाका साथीहरूलाई जेलबाट मुक्त गर्नुपर्ने शर्त राखे।
१६ मई १९७२ को दिन कोनाक्रीकै 'जनताको दरबार' मा अन्तिम संस्कारको समारोह आयोजना गरियो र उनको शवमा गिनीको राष्ट्रिय झण्डा ओढाइयो। कोनाक्रीमा ४० देशका प्रतिनिधिमण्डल आएर एनक्रुमाका जहान र छोराछोरीलाई समवेदना प्रकट गरे र अफ्रिकी स्वाधीनता आन्दोलनमा उनको योगदानलाई स्मरण गरे। त्यस शोक समारोहमा गिनीका राष्ट्रपति सेकु तुरेले उद्घोष गरे – 'एनक्रुमा घानालियाली होइनन्, उनी एक अफ्रिकी हुन्। एनत्रु्कमा कहिल्यै मर्ने छैनन्।'
औपचारिक अन्तिम समारोहपछि पार्थिव शरीरलाई रङ्गशालामा राखियो र हजारौं घानालियालीहरूले उनको शोकमा श्रद्धाञ्जली अर्पण गर्दै मौन धारण गरे।
अन्तमा घानाको सरकारले सेकु तुरेको शर्तलाई स्वीकार गरे तथा ९ जुलाई १९७२ को दिन कोजो बोत्सीओ र फातिमा एनक्रुमाको पार्थिव शरीरसहित आक्रा उडे। १० जुलाईको दिन उनको पार्थिव शरीरलाई घानाको राज्य भवनमा दर्शनको निम्ति राखियो। राजधानी आक्रामा धमिलो रातो झण्डाले सजिएको थियो, रेडियोले घानाका पहिलो प्रधानमन्त्री र राष्ट्रपतिका भाषणहरू बजाइँदै थियो, उनको जीवनी र उनका योगदानको बयान गरिँदै थियो।
अर्को दिन अर्थात् आइतबारको दिन हेलिकोप्टरले शवलाई उनको जन्मस्थल एनक्रोफूलमा लगियो। झण्डै आँखाले देख्न नसक्ने भएकी बुढी आमा रातभर शवसँगै शोकमग्न रहिन्। भोलि बिहान अर्थात् १२ जुलाई १९७२ को दिन एनक्रुमालाई अन्तिम सलामी दिई समाधिस्थ गरियो।
एनक्रुमाको व्यक्तित्व
इतिहास, दर्शन, संस्कृति र अर्थशास्त्रका अध्येता एनक्रुमा ताडीको रस, फलफूल, हरियो सागपात र फलफूलको रस मनपराउने, हाँसो मन पराउने, पौडी खेल्ने, घोडचढी र बुद्धिचाल खेल र बगैंचा हेरचाह गर्न मनपराउँथे।
उनी महात्मा गान्धीलाई आदर्श मान्थे र उनीजस्तै फलाहार र निराहार बस्थे। घाना पनि बेलायती उपनिवेश भएको र भारतकै नमुनाअनुसार गर्ने उनको अन्तरमनले काम गर्न खोजेको देखिन्छ। तर बेलायती उपनिवेशवादीहरूमा भारत र घानाबारे धेरै अन्तर हुनु स्वाभाविक थियो।
विवाहको एक वर्षपछि जन्मेको छोराको नाम मिश्रेली राष्ट्रपति गमाल अब्दुल नासिरको सम्झनामा 'नासिर' राखियो भने दोस्रो बच्चा छोरी थिइन्, उनको नाम सामिया ९क्ब्कष्ब० राखियो र तेस्रो बच्चा, छोराको नाम गिनीका राष्ट्रपतिको सम्झनामा सेकु राखिएको थियो।
उनीमाथि साम्राज्यवादीहरूले हत्या गर्ने योजना बनाउँदै गर्दा उनीबाहिरी गतिविधिबाट टाढिँदै गए तथा विरोधीहरूको षड्यन्त्रमाथि नियन्त्रण गर्ने अनेक कानुनहरू पनि बन्दै गयो। त्यसैलाई निहुँ बनाएर स्थानीय प्रतिगामी र साम्राज्यवादीहरूले उनलाई सुनको खाटमा सुत्ने, मेच नै सुनको, ऐय्यासी जीवन बिताउने र 'तानाशाह' जस्ता आरोप लगाउँदै गए। तर सुन घानाको निम्ति दुर्लभ वस्तु थिएन र देशको सम्पत्तिलाई नै एनक्रुमाको निजी सम्पत्ति भनी बदनाम गरियो।
सैनिक विद्रोहबाट अपदस्थ भई गिनीको प्रवासमा बस्दा एनक्रुमाले मनमनै आफ्ना सम्पूर्ण सङ्गठन, गतिविधि र सिद्धान्तमा समीक्षात्मक रचनाहरू लेखे। ती रचनामा अफ्रिकी एकता, अफ्रिकी सङ्घ र अफ्रिकी शैलीको समाजवाद भनिए पनि वैज्ञानिक समाजवादको आँखाले अफ्रिकालाई एनक्रुमाले देख्न नसकेको अनुभव हुन्छ। गिनीको प्रवासमा बस्दा उनले लेखेका रचनाहरू हुन् 'क्वामे एनक्रुमाको आत्मकथा'(१९६७), 'अफ्रिकी समाजवादबारे पुनर्विचार' (१९६७), 'कोनाक्रीको आवाज' (१९६७), 'घानाका अँध्यारा दिनहरू' (१९६८), 'क्रान्तिकारी युद्धका कखरा' (१९६८), 'अफ्रिकाको वर्गसङ्घर्ष' (१९७०) आदि। 'सङ्घर्ष चालु छ', 'म स्वतन्त्रताको निम्ति बोल्छु' र 'क्रान्तिको बाटो' उनको मृत्युपछि छापियो।
हरेक मानिसको आ–आफ्नै साना वा ठूला कमीकमजोरीहरू हुन्छन्, तर उसको उद्देश्य, प्रतिबद्धता र समर्पणमा उनी इमानदार छन् भन्नेबारे कुनै शङ्का छैन। एक क्षेत्र वा विचारको उदाहरण र प्रतीक बन्नु नै मानिसको भित्री गुण वा व्यक्तिको व्यक्तित्व हो। एनक्रुमा यस अर्थमा समशीतोष्ण अफ्रिकाको पहिलो राजनेता र अफ्रिकी महादेशमा समाजवादका अग्रदूत र प्रचारकहरुमध्येका एक हुन्। उनको जीवनका अन्तिम रचनाहरूमा गुप्त सङ्गठन र गुरिल्ला युद्धका विषयवस्तु नै आफ्नो राजनैतिक दर्शनको सिंहावलोकनको रुपमा अभिव्यक्त हुन्छ।
यस अर्थमा एनक्रुमा घानाका 'मुक्तिदाता' र अफ्रिकी एकताका एक प्रवर्तक हुन् र उनी साम्राज्यवादविरोधी र उपनिवेशवादविरोधी प्रातःस्मरणीय एक योद्धा हुन्।
वर्ष २ अङ्क १, पूर्णाङ्क ७ असार–साउन २०६९
समाप्त
|