September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

उत्कृष्ट जिल्लामा एम्बुलेन्स सेवा किन बन्द?


    जिल्ला विकास समिति भक्तपुरले गएको पुस–माघदेखि बन्द भएको एम्बुलेन्स अहिले पनि सञ्चालनमा ल्याएको छैन। एम्बुलेन्स नियमितरूपमा सञ्चालन गर्न जिविसको सर्वदलीय बैठकले पटकपटक निर्णय गरिसकेेको छ। हालै बसेको जिल्ला परिषद्को बैठकले पनि एम्बुलेन्स किन्न रू. १५ लाख बजेट छुट्याएको थियो। एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा छ भन्दै जिल्ला विकास समिति भक्तपुरले हालसम्म एम्बुलेन्स प्रक्रिया अघि नबढाएको जिविसकै कर्मचारीहरू बताउँछन्। 
    स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरू नभएको यो समयमा जिविसकै कति कर्मचारीहरू एम्बुलेन्स सञ्चालन गर्दा घाटा भयो भनी चलाउने पक्षमा नरहेको जनगुनासो नयाँ होइन। नेपालकै उत्कृष्ट जिल्लामा परेको जिविस भक्तपुरले आपत्तविपत्तमा सेवा पुर्‍याउने एम्बुलेन्सजस्तो इमर्जेन्सी साधन नचलाउनु जिविस भक्तपुर किंकर्तव्यविमूढ हुनु हो। जनताको पीर मर्का बुझेर काम गर्नुपर्ने प्रतिबद्धता जनाएका स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले पनि एम्बुलेन्स खरिद प्रक्रिया अघि नबढाइकन जिल्लावासीहरूको चाहनामा किन बेवास्ता गर्दैछन् भन्ने प्रश्न तड्कारो रूपमा उठेको छ।
    एम्बुलेन्स खरिद गर्ने निर्णय स्थानीय विकास अधिकारी प्रभा पाण्डेको पाला आव २०६७/६८ मै भएको थियो। त्यसबेला पनि रू. १५ लाख छुट्याइएको थियो।
    भएको एम्बुलेन्स बिग्रेपछि सञ्चालनमा नआएको हो। बताइएअनुसार बिग्रेको गाडि जिविसकै स्टोरकिपर गोकुल थापाको घर आँगनमा राखेको छ। एम्बुलेन्स सञ्चालन नभएका कारण गाडी चालकहरूलाई अन्यत्र काममा लगाइएको छ। जिविस भक्तपुरमा एम्बुलेन्स सेवा पाउन पीडितहरूले बरोबर खबर गर्ने गरेको पाइएको छ। तर एम्बुलेन्स सेवा उपलब्ध नहुँदा जिल्लावासीहरू जिविस भक्तपुरदेखि आक्रोशित छन्।
    एम्बुलेन्स सेवा नाफाको लागि होइन, जनताको सेवा गर्न राखिएको हो। एम्बुलेन्सको सेवाले बिरामीले समयमा उपचार पाउनेछ, रोगबाट मुक्त हुनेछ र कतिको ज्यान बचाएको हुन्छ। अतः एम्बुलेन्स सेवा छिटोभन्दा छिटो सञ्चालन गरियोस्। प्रक्रिया चल्दै छ भनी पन्छिने बानी रोकियोस्। जिल्लावासीहरूको चाहना समयमै पूरा गरियोस्। जिविस भक्तपुर जनताको सेवा गर्ने काममा पछि नपरोस्।
– दिनबन्धु केसी