|
इन्धनमा मूल्यवृद्धि अस्वीकार्य छ
नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमको निर्णयअनुसार पेट्रोल प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ११ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर ५५ रुपैयाँका दरले महङ्गो भएको छ। बढाइएको मूल्यअनुसार बजारमा अहिले पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ हवाई इन्धन १२० रुपैयाँ ६९ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर १४७० रुपैयाँ पुगेको छ। नेपाल आयल निगमले हरेकपल्ट मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिलाई नै कारण देखाउँदै आएको छ। तर नेपालमा कायम भएको इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यकै मात्र आधार भने होइन। आयल निगमले या सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा आन्दोलन हुन्छ, ती आन्दोलनको प्रमुख माग आयल निगमभित्रको चुहावट र बढ्दो प्रशासनिक खर्च घटाउने, सरकारले लगाउँदै आएको राजश्वमा कम गर्ने या पूर्णतया हटाउने भन्ने माग हुन्छ। सरकारले तीमध्ये कति माग पूरा गर्ने सहमति गर्छ या वचनबद्धता जाहेर गर्छ तर व्यवहारमा कहिल्यै कार्यान्वयन गर्दैन। नेपालमा इन्धनको मूल्यमा निरन्तर वृद्धि हुनु या कहिल्यै नघट्नुमा नेपाल आयल निगमले एउटै विनाप्रतिस्पर्धा एउटै कम्पनीसित मात्र तेल खरिद सम्झौता गर्नु पनि हो। आयल निगमले इण्डियन आयल कर्पोरेशन आईओसीसित मात्रै पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यदि आयल निगमले प्रतिस्पर्धी मूल्यका आधारमा अन्य कम्पनीसित पनि खरिद गरेको भए मूल्यमा कमी आउँथ्यो। त्यस्तै पेट्रोलियम पदार्थ भारतबाट मात्र नभई चीन र बङ्गलादेशबाट समेत ल्याउनेतिर कदम चालेको भए नेपालको इन्धन मूल्यमा आईओसीको एकाधिकारको अन्त्य हुन्थ्यो। नेपालका आजसम्मका सरकारहरूले यसतर्फ सोचेका छैनन् या सोच्न चाहँदैनन्। भारतीय एकाधिकार पूँजीको हितविपरीत जान नचाहने नेपाली शासकहरूको कमजोर मानसिकताका कारण नेपाली जनता इन्धनलगायत सबै थोकको महङ्गीबाट पिरोलिन बाध्य छन्। अन्य कुनै उपायबारे सोच्नसम्म नसोची सिधै जनताको ढाड सेक्ने गरी मूल्यवृद्धिको निर्णय गर्नु सहज ठान्छन्नेपालका शासकहरू। मूल्यवृद्धिको निर्णय गर्दा कम आयका बहुमत सर्वसाधारण जनताको जीवनमा पर्ने नकारात्मक असरका बारेमा तिनीहरू एकरत्ति विचार गर्दैनन्। तसर्थ जनताप्रति गैरजिम्मेवार भएर गरिएको इन्धनको मूल्यवृद्धिको निर्णय अस्वीकार्य छ। – प्रकाश
|