|
पत्रसाहित्यमा का. रोहित र 'जेलका चिठीहरू'
पत्र र साहित्य दुई भिन्नभिन्नै शब्दहरू हुन्। पाश्चात्य अङ्ग्रेजी साहित्य तथा पूर्वीय संस्कृत साहित्य सबै क्षेत्रमा पत्रसाहित्यको स्थान छ। हामीले पूर्वीय साहित्यमा आफ्नी शकुन्तलाले कमलको पातमा दुष्यन्तलाई लेखेको पत्रका प्रसङ्गहरू सुनेका छौं। त्यस्तै अङ्ग्रेजी साहित्यमा नेपोलियन र महारानी जोशेफाइनका लामालामा चिठीहरू पत्रसाहित्यकै प्रारम्भिक दृष्टान्तहरू हुन्। तर चिठी पत्रहरूले साहित्यमा स्थान पाउनलाई प्रेम, मिलन र विछोडकै प्रसङ्ग जोड्नुपर्छ भन्ने छैन। यसको प्रत्यक्ष उदाहरण हो का. रोहितको 'जेलका चिठीहरू'। पण्डित जवाहरलाल नेहरूले आफ्नी छोरीलाई लेखेका चिठीहरू, हृदयचन्द्रसिंह प्रधानको 'भू–स्वर्ग' अनि वासुदेव शर्माको 'चिठी चपेटा' पत्रसाहित्यको अर्को उदाहरण हो। कुनै पनि अब्बल व्यक्तिको चिठीपत्रले सस्ता अनुरागका प्रसङ्ग र फितलो गन्थनमात्रै गर्दैन, त्यसले त तत्कालीन समयका चित्र, राजनीतिक हावापानीको सुराकी दिने काम गर्दछ। साथै कहालीलाग्दो राजनैतिक षड्यन्त्र र असन्तुष्टिको पर्दाफास, शासकका विरुद्ध बोल्न नसक्नेहरूका लागि अगुवाइ गर्ने काममा पत्रसाहित्यको भूमिका महत्त्वपूर्ण रहन्छ। वास्तवमा दुई दशकअघि शोभा भाउजूका नाममा लेखिएको रोहितका चिठीहरूमा तिनै तत्कालीन राजनीतिक परिस्थिति, विश्व परिवेशको राजनैतिक बिम्ब, समाजले भोगिरहेका पीडाको प्रतिबिम्ब, स्थानीय कला र संस्कृतिको संरक्षणप्रति चिन्ता र चासो अनि लेखककै अविचलित राजनैतिक यात्राको अनुभव र पत्रसाहित्यको उचाइ हो। भनिन्छ, पत्रलेखक गौरवशाली र महत्त्वपूर्ण व्यक्ति पर्यो भने देशको राजनीतिमा फेरबदल ल्याइदिन्छ, समाजमा जनचेतनामूलक क्रान्तिका लहरहरू सम्प्रेषित हुन्छन् भन्ने आम पाठकको बुझाइ हुन्छ। 'जेलका चिठीहरू' मा सङ्ग्रहित वि.सं. २०४६ असार १८ देखि वि.सं. २०४६ माघ १९ सम्मका त्यस समयभित्र लेखिएका ती मोटामोटी एक्काइस पत्रहरूलाई समालोचकीय दृष्टि प्रस्तुत गर्ने हो भने तत्कालीन राजनीतिक परिस्थितिमा पञ्चायती शासनको बर्बर दमन, नेपाली जनताले निरङ्कुश शासनबाट भोग्नुपरेको पीडा, वाकबन्देज, शोषण दमनको चित्र र राष्ट्रोन्नतिका लागि लड्ने रोहितजस्तै असङ्ख्य रोहितहरूको जोश र जाँगरको अभिव्यक्ति हो। पुस्तकमा 'शोभा' लाई सम्बोधन गरी माध्यम बनाएर सम्प्रेषण गरिएका अभिव्यक्तिले एकातिर परिवारसँग छुटिनुपर्दाको चिन्ता र चासो त छ नै तर 'राजनीति र जीवनलाई गुलाबको ओछ्यान भनिंदैन (पेज ७०) र 'जीवनमा धन या गौरवमध्ये एकमात्रै पाइन्छ। धनको इच्छा गर्यौं भने गौरव पाउँदैनौं, गौरव पायौं भने धन।' (पेज ७०) जस्ता अभिव्यक्ति दार्शनिक चिन्तनका छन्। यस्ता अभिव्यक्ति परिवारलाई सान्त्वना दिनेमात्र नभई आम नागरिकलाई समस्याबाट विचलित नभई क्रान्ति र मुक्तिका लागि लड्नुपर्छ भन्ने बुझाइको अभिव्यक्ति हो भन्नसकिन्छ। यस कृतिमा लेखकको यथार्थ जीवनको भोगाइ छ, चिन्तन छ। जीवनमा भोगेका असह्य व्यक्तिगत र राजनीतिक पीडा छ। आफूले देखेका, सुनेका, भोगेका, पढेका र अनुभव गरेका विश्वका राजनैतिक घटनाक्रम र सिद्धान्तको विश्लेषण छ। त्यसै अनुभवबाट नेपाली समाजमा पनि क्रान्ति र परिवर्तन गर्ने शस्त्रको बारुद र संगीनभन्दा शास्त्रको गतिलो ज्ञान र चेतना महत्त्वपूर्ण हुन्छ भन्ने रोहितको विचार बुझ्न सकिन्छ। अर्को कुरा भक्तपुर काण्डले दुखाएको भक्तपुरवासीको मन, झूटा आरोप अनि जोकोहीलाई विचलित पार्ने तत्कालीन हल्ला र त्यसले परिवारमा रोपेको शूललाई पन्छाएर उज्यालो राजनैतिक जीवन, परिवर्तित समाजको परिकल्पना र देशको सुन्दर भविष्य निर्माण गर्न चेतना प्रवाह गर्ने गतिलो सन्देशको रुपमा 'जेलका चिठीहरू' लाई लिनसकिन्छ। हो, पारिवारिक पत्रमा पत्रलेखनको सिद्धान्तमा दर्जाअनुसारको सम्बोधन हुन्छ, पेटबोली र टुङ्ग्याउनी हुन्छ। त्यसैले होला, रोहितका चिठीहरूमा छोराछोरी र परिवारको सञ्चो बिसञ्चो अनि आफ्नो स्वास्थ्यप्रतिको दैनिक निगरानी प्रस्तुत भएका छन्। कतै परिवारभित्रका कारुणिक पीडाहरूले भरिएका अभिव्यक्ति पढ्दा पाठकको मनमा करुण रसको भाव प्रवाहित गर्छ। 'घर चुहिन्छ भने पूर्वको भित्तातिर नसुन्नु' (पेज २२) ' मैले किन ढिलो विवाह गर्नुपर्यो र के तिमी मेरी कान्छी हौ कि भन्ने प्रश्न र भ्रम तिम्रो मनमा यथावत रह्यो ...।' (पेज ३२) 'अरुले हल्ला र भ्रम फैलाएजस्तै न तिमी 'कान्छी' हौ, न मेरा कुनै अन्य छोराछोरी नै थिए।' (पेज ३७) जस्ता प्रसङ्गले रोहितलाई यथार्थ र स्पष्टवक्ता भन्नसकिन्छ। त्यतिमात्र नभई पत्रभित्र लेखकका कवित्व शक्ति पनि कतैकतै छल्केका छन्। ती कविताहरूले पनि सामाजिक विसङ्गति र प्रगतिशीलतालाई बिम्बित गरेका छन्। अन्त्यमा १०४ पृष्ठमा सम्पादित जम्मा ७ महिनाभित्रका मोटामोटी २१ वटा चिठीहरू सङ्ग्रहित का. रोहितका 'जेलका चिठी' हरू वर्तमान पिंढीले तत्कालीन राजनीतिक वृत्त, विश्व राजनीतिक परिवेश तथा लेखकका पारिवारिक, भूमिगत र बन्दीजीवन बुझ्ने अनि जीवनलाई कठिन परिस्थितिमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने आशावादी सन्देश दिने पत्रसाहित्यात्मक कृति बनेको छ। आदर्श आजाद उमावि/कलेज भेलुखेल
|