September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सुरक्षित रक्तदान गरौं ! धेरैको जीवन बचाऔं !!


सुजाता मानन्धर 
    आधुनिक चिकित्सा प्रणालीको विकाससँगै रगतको उपयोगिता दिनानुदिन बढ्दै गएको छ। व्यक्तिले दान दिएको रगतबाट नै रगत चाहिने बिरामीको निम्ति रगत आपूर्ति हुन्छ। मानव रगतको अन्य विकल्प नभएकाले रक्तसञ्चार कार्यक्रमको विकास र विस्तार गर्दै लानु अत्यावश्यक देखिन्छ। मानवको रगत मानवकै लागि प्रयोग गरिन्छ। अहिलेसम्म रगतको अर्को कुनै विकल्प छैन र कृत्रिम रगत पनि हालसम्म वैज्ञानिकहरूले तयार गर्न सकेका छैनन्। त्यसैले रगतका लागि रगतदाताहरूको आवश्यकता पर्दछ। विकसित देशहरूमा महिला र पुरुष रक्तदाताको सङ्ख्या बराबर जस्तै रहेको पाइन्छ। तर नेपालको सन्दर्भमा हेर्ने हो भने करिब १६ प्रतिशत मात्र महिला रक्तदाता रहेको छ। हरेक वर्ष रगतबाट लाखौं मानिसको ज्यान जोगिन्छ। तीमध्ये विशेषगरी महिलालाई प्रसुति अवस्थामा देखापर्ने जटिल समस्याहरूमा, दुर्घटना, रक्तस्राव, रक्तस्राव हुने रोगीहरूलाई बढी रगतको आवश्यकता पर्दछ। 
    पुरुषमा ७६ मिलि प्रतिकेजी र महिलामा ६६ मिलि प्रतिकेजी रगत पाइन्छ। मानिसलाई दैनिक कार्य गर्नको लागि ५० मिलि रगत प्रतिकेजी आवश्यकता पर्दछ। यसरी पुरुषमा २६ मिलि र महिलामा १६ मिलि चाहिनेभन्दा बढी रगत दैनिक रुपमा उत्पादन भएको हुन्छ। यसैगरी एक स्वस्थ ४५ केजीको व्यक्तिले ८ मिलि प्रतिकेजी अर्थात् ३६० मिलि रगत सजिलैसँग रक्तदान गर्न सक्दछ। यसरी रक्तदान गरेको रगतको तरल पदार्थ कुनैपनि २५० मिलि पेय पदार्थबाट नै परिपूर्ति हुन्छ। भने २५ ग्राम आइरन १२ दिनमा, १२–१५ ग्राम प्रोटिन २–३ दिनमा र अन्य पदार्थ केही दिनमा परिपूर्ति हुन्छ। रक्तदान गर्दा वा रक्तस्राव भएपछि शरीरलाई चाहिने आवश्यकता रगत दैनिक खानपिनबाट आफै बनेर पूर्ति हुन्छ। 
    रक्तदान गर्ने व्यक्तिको उमेर १८ वर्षदेखि ६० वर्षसम्मका पुरुष वा महिला हुनुपर्दछ। व्यक्तिको वजन ४५ केजीभन्दा माथि हुनुपर्दछ। शरीरमा हेमोग्लोविनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दा माथि हुनुपर्दछ। व्यक्तिको ब्लडप्रेसर कम्तीमा ११०/७० देखि बढीमा १६०/९६ मिमि मर्करी हुनुपर्दछ। शरीर परिक्षण गर्दा मुटु, फोक्सो, कलेजो राम्ररी क्रियाशील हुनुपर्दछ। पहिले वा हला जण्डीस, मलेरिया टाईफाइड, एड्स वा औषधिहरू सेवन वा अन्य कुनै बिरामी भएमा डाक्टरसँग परामर्श लिएरमात्र रक्तदान गर्न सल्लाह दिइन्छ। स्वस्थ व्यक्तिले ३ महिनाको अन्तरालमा वर्षको ४ पटकसम्म रक्तदान गर्न सक्दछ। 
    रगत र रगतको तत्त्वहरू बिरामीलाई प्रयोग गर्नुअघि एचआईभी, एच बीएएसजी, एचसीभी र सिफलिस परीक्षण गरिन्छ। जति नै गुणस्तरको परीक्षण भए तापनि यदि कुनै पनि व्यक्ति यी रोगहरूको प्रारम्भिक अवस्थामा छने भने परीक्षणबाट पत्ता लगाउन सकिंदैन। आज विश्वभरि नै यी सङ्क्रमक रोगहरूको प्रकोप बढ्दो छ। त्यसकारण रक्तदान गर्नुपहिले आफ्नो मूल्याङ्कन आफैले गरेरमात्र रक्तदानको लागि अगाडि बढ्नुपर्छ र सुरक्षित रक्तदान गर्नुपर्छ। जोखिमपूर्ण व्यवहारको लत छ भने रक्तदान गर्ाु हुँदैन। 
    हामीले गरेको रक्तदान कुनै सङ्घ संस्थको लागि नभएर हाम्रो समाजका जोखिमपूर्ण अवस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने त्यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले सबैभन्दा ठूलो उपलब्धि त आत्मसन्तोष नै हो। साथै रक्तदान गर्ने रक्तदाताहरूलाई रक्त सञ्चार सेवासँग आवद्ध सङ्घ संस्थाहरूले विभिन्न तरिकाबाट सम्मान गर्दछन् भने रक्तदान नगर्नेको तुलनामा रक्तदान गर्ने व्यक्तिहरू शारीरिक रुपले पनि स्वस्थ रहेको शोधकार्यबाट पाइएको छ। 
    रक्तदान गर्दा कुनै रोग सर्ने सम्भावना रहँदैन किनभने रगत सङ्कलन गर्दा निर्मलीकृत नयाँ सियो प्रयोगमा ल्याईन्छ र यो एकजनालाई प्रयोग गरेपछि पुन प्रयोग गरिदैन बरु रक्तदान गरिसके पछि विभिन्न परिक्षिण गरिने भएकोले तपाईंको शरीरमा भएको रोगहरूसमेत थाहा पाउन सकिन्छ। सुरक्षित रगत बिरामीलाई आवश्यकता अनुसार समान रुपले सहज र सुलभ ढङ्गबाट उपलब्ध गराउनु प्रमुख चुनौतीको रुपमा छ। त्यसैले स्वस्थ रहौं, नियमति रुपमा सुरक्षित रक्तदान गरौं, धेरैको जीवन बचाऔं।
प्रशिक्षाथीर्