September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

बिदा बढाएर लोडसेडिङ घट्दैन


    सरकारले लोडसेडिङ घटाउने उपायका रुपमा सरकारी कार्यालय, संस्थान र शिक्षण संस्थामा साताको दुई दिन बिदा दिने तयारी गरेको समाचार सार्वजनिक भएको छ। त्यसरी हप्तामा दुई दिन बिदा दिंदा  ऊर्जा बचत हुने र डिजेलको खपत कम हुने तर्क अघि सारिएको छ। त्यससँगै उद्योगधन्दा, वित्तीय क्षेत्र र निजी कार्यालयहरूमा समेत साताको दुई दिन बिदा गर्न सरकारले आग्रह गर्ने बताइएको छ।
    निश्चय नै ऊर्जा सङ्कट हाम्रो सामु छ तर सातामा दुई दिन बिदाले नै त्यसको समाधान हुँदैन। अहिले सातामा एक दिन बिदा छ र थप एकदिन बिदा गर्दा ४ लाख युनिट बिजुली बचत हुने अनुमा छ। तर त्यो अनुमान सही हुनसक्दैन। किनभने बिदा भए पनि घर बस्दा कर्मचारी, मजदुर र सर्वसाधारणले बिजुली खपत हुने अन्य क्रियाकलाप गर्ने नै हुन्छन्। बिदाका दिन बिताउन यताउता, घुमफिर गर्दा त्यसै पनि पेट्रोल/डिजेल खपत गर्ने हुन्छन्। फेरि ४ लाख युनिट बिजुलीले साताभरको लोडसेडिङ त के एकदिनको पनि धान्दैन।
    लोडसेडिङ घटाउनका निम्ति चुहावट नियन्त्रण, अधिक बिजुली बत्ती बालिराख्नुपर्ने सरकारी कार्यालय परिसरमा सोलार प्रणाली जडान र चालू सबै जलविद्युत् उत्पादन परियोजना पूर्ण क्षमताका साथ सञ्चालन गर्नमा ध्यान दिनुपर्छ। त्यस्तै धेरै प्रतिशत काम पूरा भइसकेका र जोड दिएर काम अघि बढाउँदा दुई तीन महिनाभित्र बिजुली उत्पादन गर्न सकिने साना परियोजनाहरूको शीघ्र पूर्णतामा जोड दिनुपर्छ। देशका विभिन्न खोलामा जलविद्युत् उत्पादन गर्ने भनी लाइसेन्स लिएका निजी कम्पनीहरूलाई छिट्टै परियोजना निर्माण गर्न सरकारले जोड दिनुपर्छ। सरकारले पनि पहिलो प्राथमिकता जलविद्युत् उत्पादनलाई दिएर मध्यमखाले आयोजना निर्माणमा लगानी गर्नुपर्छ।
    स्वदेशमै सौर्य प्रविधिका उपकरणहरू उत्पादन गरी लागत न्यूनीकरण गर्न, सम्भव भएका ठाउँमा वायु ऊर्जा उत्पादन परियोजना सञ्चालन गर्न ध्यान दिनुपर्छ। सातामा थप एकदिन बिदाले सर्वसाधारण सेवाग्राहीलाई मर्कामा पार्ने र देशको औद्योगिक उत्पादन घटाउनेछ।
– प्रीति शर्मा, काठमाडौं