September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

'तीतो सत्य' को मिथ्या कुरा


    म नेपाल टेलिभिजनको हास्य व्यङ्ग्य कार्यक्रम तीतो सत्यको नियमित दर्शकहुँ। कार्यक्रमले देश विदेशमा घटेका राजनैतिक, सामाजिक र आर्थिक विसङ्गतिका विषयमा व्यङ्ग्यात्मक रुपले जनतालाई मनोरञ्जन र सचेत गराउने गर्दछ। यसको लागि कार्यक्रमको निर्माता वा निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलालाई धन्यवाद दिन चाहन्छु। तर गत बिहीबार प्रसारण भएको भागमा एकजना मधेसीको भूमिका खेल्ने कलाकारको संवादमा छाताले घोचेर मान्छे मारेको कहिल्यै सुनेका छौ भनी कविको भूमिका खेल्ने एकजना कलाकारलाई प्रश्न गर्दा सो व्यक्तिको जवाफमा अँ, पञ्चायतकालमा भक्तपुरमा छाताले घोचेर मान्छे मारेको मैले सुनेको थिएँ भनेर जवाफ दिएको संवादप्रति मेरो र भक्तपुरका जनताको मन दुखाउने काम 'तीतो सत्य' युनिटले गरेको छ।
    'तीतो सत्य' ले २०४५ सालमा राज्यस्तरबाट भएको एक हत्याकाण्डको क्रममा पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूको मिथ्या प्रचारलाई आधार बनाएर उक्त संवाद बनाएको देखिन्छ।
    २०४५ साल भाद्र ५ गते भएको महाभूकम्पमा पीडित जनतालाई राहत वितरण कार्य पक्षपातपूर्ण भएको कारण भाद्र ९ गते पीडित र असन्तोष जनताको बीचमा पञ्चायतका मण्डलेहरू प्रवेश गराई राज्यस्तरबाट षड्यन्त्र गरी कर्णप्रसाद ह्योजूको हत्या पञ्चायतले गरेको थियो। सोही घटनालाई केन्द्रित बनाई भक्तपुरका सारा मजदुर, किसान, युवा, विद्यार्थीलगायत सर्वसाधारणलाई हत्याराको आरोप लगाई दुःख दिएको पञ्चायती व्यवस्थाको ज्यादतीको पक्षमा 'तीतो सत्य' युनिटले भक्तपुरको जनतालाई छाताले घोचेर मान्छे मार्ने हत्यारा भनी प्रसारण गर्नु सो कार्यक्रमका निर्माता निर्देशकले कौशीमा बसेर कासी देख्नु जस्तै भएको छ। तसर्थ अबका दिनमा कुनै विषयमा संवाद लेख्दा सत्यतथ्य बुझेरमात्र लेख्न वा प्रसारण गर्ने कार्य गरेमा तीतो सत्य युनिटको चरित्रमा कुनै दाग लाग्नेछैन। 
– श्यामसुन्दर वैद्य, भक्तपुर