September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

स्वास्थ्य मन्त्रालयको कुम्भकर्णे निद्रा


    देशका विभिन्न भागमा मौसमी सरुवा रोग भाइरल ज्वरोको प्रकोप फैलिएको छ। रोग प्रभावित जनता उपचारका निम्ति स्वास्थ्य उपचौकी, स्वास्थ्य केन्द्र तथा अस्पताल पुगिरहेका छन् तर त्यहाँ चिकित्सक तथा स्वास्थ्यकर्मी उपस्थित छैनन्, कतै स्वास्थ्यकर्मी छन् तर आवश्यक औषधि छैन। आज देशभरकै सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरूमा दरबन्दी अनुसार चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही जनता अकालमै मृत्युको मुखमा जान बाध्य भइरहेका छन्।
    चिकित्सकको अभाव हाम्रो देशको पुरानो समस्या हो। चिकित्सकको अभाव पूर्ति गर्नका लागि सरकारले वार्षिक करोडौं रुपैयाँ लगानी गरेर चिकित्सा शास्त्र अध्यापन गराइरहेको छ र वार्षिक केही दर्जन चिकित्सक तयार पनि भइरहेका छन्। त्यस्तै केही निजी चिकित्साशास्त्र अध्ययन संस्थानहरूबाट र केही विदेशी विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन पूरा गरी स्वदेश फर्केका चिकित्सकहरू हाम्रो देशमा छन्। तर ती सबै राजधानी र ठूला सहरमै केन्द्रित भएका छन्।
    सरकारले स्पष्ट नीति निर्माण र कार्यान्वयन गर्न नसक्दा सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययन गरेकाहरूले समेत करारअनुसार खटाएको जिल्लामा बसेर सेवा दिइरहेका छैनन्। उल्टो देशै त्यागेर विदेश पलायन भइरहेको देखिन्छ, सुनिन्छ। चिकित्सकबाहेकका अन्य स्वास्थ्यकर्मी पनि खटाएको ठाउँमा या सरुवा गरिएको ठाउँमा जाँदैनन्। स्वास्थ्य क्षेत्रका ती जनशक्तिको सरुवा कानुन, नियम र विनियमका आधारमा भन्दा चाकडी, घूस र भनसुनका आधारमा हुन्छन्। खटाएको ठाउँमा हाजिर हुन गएर सेवा प्रदान नगर्दा पनि स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य विभाग त्यस्ता कर्मचारीमाथि कारबाही गर्नसक्दैनन्। त्यस्तै स्वास्थ्य संस्थाहरूबाट जनतालाई वितरण गर्न पठाइएका औषधि चोरी गरी बिक्री गर्ने र स्वास्थ्य उपकरणहरूको दुरुपयोग भइरहेका समाचार पनि बरोबर आइरहेकै छन्। रोगको महामारी फैलिन्दा पनि स्वास्थ्य मन्त्रालय जाग्दैन, कुम्भकर्णे निद्रामै परिरहन्छ। जनताको पीडाको चिच्याहट त्यसले सुन्दैन, देख्दैन तर जब कर्मचारी सरुवा बढुवाको प्रसङ्ग आउँछ, जब नजरानासहित पायक सरुवा र बढुवा माग्नेहरू पुग्छन् तब त्यसको निद्रा टुट्छ, औधि चलाखीपूर्वक सक्रिय हुन्छ। यस्तै सरुवा, बढुवा र औषधि एवं उपकरण खरिदमा मोटो रकम पाइने भएकोले एकपटक स्वास्थ्यमन्त्री बनेका नेता त्यो कुर्सी नछोड्न र एकपटक स्वास्थ्य सचिव बनेकाहरू त्यही बसिराख्न मरिहत्ते गर्छन्। जिम्मेवार निकायमा बसेर कर्तव्य पूरा नगरी जनताको जीवन र स्वास्थ्यमाथि खेलवाड गरिरहेको भने चाल नपाएझैं गर्छन्।
–सुरज सिंह