September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अमेरिकी साम्राज्यवादीहरूबाट बुद्ध अङ्कित जुत्ता उत्पादन गरेको विरोधमा !


    संसारमा विभिन्न प्रकारका धर्महरू छन्। त्यसमध्ये बुद्ध धर्म पनि एक हो। आज बुद्ध धर्म संसारका एकतिहाइ मानिसले मानेका छन्। यस धर्मले विश्व मानव जगतको लागि शान्ति, मैत्री, अहिंसा र करुणाको मार्ग प्रदर्शित गरेको छ। तर आजको कतिपय मानव जगतले बुद्ध धर्मलाई धर्मको रुपमा भन्दा पनि प्रायः शिक्षा र दर्शनको रुपमा पनि लिने गरिएका छन्। उक्त धर्म र दर्शन एवं शिक्षाको प्रवर्तक गौतम बुद्ध २६०० वर्ष पहिले (ई.पू.६००) पश्चिम नेपालको तराई रुपन्देही जिल्लाको लुम्बिनी ग्राममा जन्मनुभएको थियो। वास्तवमा उहाँको शिक्षा मानव जगतको हित, सुख, कल्याणको लागि नै भएकोले उक्त शिक्षा ज्ञानको ज्योति भई विश्वमा फैलिएको हो। तसर्थ बुद्ध धर्मको आजसम्म पनि नेपालको इज्जत गौरव अविच्छिन्न रुपले रहँदै आएको छ। देशको इज्जत र गौरव पनि आज हामीबाट विमुख हुन खोज्दैछ भने यसबाट कहीं कतै राष्ट्रियतामा समेत सङ्कट आइपरेको छ। क्षण प्रतिक्षण राष्ट्रियतामाथि यस्तो अवस्था आइ परे तापनि यहाँका राज्य (सरकार), राजनीतिक दलहरू, नागरिक समाज किन चूपचाप छन्?
    आज आएर अन्तर्राष्ट्रिय जगत अर्थात् राष्ट्रसङ्घबाट नै प्रमाणसहित बुद्ध नेपालको भूमिमा जन्मेको भनेर प्रमाणित भएपछि मात्र केही हदसम्म भारत चूप भयो। तर पनि भारतको उक्त दुष्प्रचार जारी नै छ। यस्तो परिवेशमा फेरि हाम्रोसामु अर्काे चुनौती आइपरेको छ। त्यो चुनौती भनेको आजको विश्वसाम्राज्यवादका महानायक संरा अमेरिकाको क्यालिफोर्निया सहरको एउटा आइकन जुत्ता कम्पनीबाट गौतम बुद्धका विभिन्न चित्र अङ्कित भएका जुत्ताहरू, महायान, बज्रयानको धर्मगुरु मञ्जुश्रीका चित्र अङ्कित जुत्ताहरू, दलाइ लामाको फोटो भएका जुत्ताहरू उत्पादन गर्नुका साथै बुद्ध मूर्तिलाई जुत्ताको माला लगाई राखेको आदि इत्यादिका फोटोहरू समेत अमेरिकाको गुगल तथा इन्टरनेटमा सङ्कलित भएका उक्त फोटोहरू प्रदर्शन भएको छ। अमेरिकाको उक्त जुत्ता कम्पनीको यस्तो अति निन्दनीय कार्यबाट विश्वका समस्त बौद्ध जगतको भावनामा गहिरो चोट पुगेको छ। हामी नेपाली जनतालाई पनि हाम्रो राष्ट्रिय विभूति अपमानित भएकोमा अवश्य पनि आघात पुगेको छ।
    महिनौ जस्तै भयो यस्तो फोटो प्रदर्शन भएको। खोइ ! आजसम्म पनि यहाँको सरकार, विभिन्न राजनीतिक दलहरू, नागरिक समाज र स्वयम् बौद्ध सङ्घ संस्थाहरूसमेत चूपचाप देखिन्छन्। कतिपय बौद्ध सङ्घसंस्थाहरू हिजो आजसम्म पनि विभिन्न विषयमा अति व्यस्त एवं क्रियाशील भइरहेको संस्थाका जिम्मेवार व्यक्तिहरू र विशेष गरेर आफूहरू अन्तर्राष्ट्रिय स्तरको बौद्ध संस्थामा बसेर काम गरिरहेका छौं भनेर गर्व गर्ने हाम्रा विशिष्ट महानुभावहरू यो अवस्थामा किन मौन छन्? उनीहरू फाइदा, बेफाइदा र जोड घटाउको हिसाबमा मौन भएको हो कि? या त अमेरिकाजस्तो शक्तिशाली राष्ट्र भएको डरले मौन भएका हुन्? त्यसैगरी हाम्रा कतिपय महायानी लामा गुरु आनीहरू एवं उपासक उपासिकाहरू पनि हिजोसम्म काठमाडौंको सडक–सडकमा खुब चीनविरोधी गतिविधि अर्थात् र्‍याली गर्छन्।
    तर आज बुद्ध, मञ्जुश्री गुरु र आफ्नै जिउँदा गुरु दलाई लामाको समेत अपमानित रुपले जुत्तामा फोटो राखेर ल्याए तापनि यो अवस्थामा पूरै न्यूनीव्रत (बोल्न नहुने र नून प्याज, लसुन, माछा, मासु खान नहुने व्रत) मा बसेझैं चूपचाप बसेका छन्। यसको के रहस्य छ होला? जे होस् बुद्ध भएको जुत्ता उत्पादनको विषयमा यहाँ केही हद भए पनि ललितपुर बुद्ध जयन्ती कोषको तर्फबाट पाटनको विभिन्न सङ्घ संस्था र भक्तपुरको बौद्ध सङ्घ, युवा बौद्ध पुचः र मैत्रय युवा सङ्घको एउटा संयुक्त टोलीले अमेरिकी राजदूतावास र प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो। यसबाहेक अरु कुनै कतै कसैबाट यस विषयमा गतिविधिहरू भएको देखिंदैन। यस्तो विषय भनेको बौद्धहरूको मात्र सरोकारको विषय होइन। मूलतः यहाँको राज्य (सरकार) र विभिन्न राजनीतिक दलहरू र नागरिक समाजले पनि ध्यान दिनुपर्ने हो। यहाँको जुनसुकै सरकार भए पनि बुद्धको नाममा मात्र मागिखाने भाँडो बनाई कहिले लुम्बिनी भ्रमण वर्ष, कहिले लुम्बिनी पर्यटन वर्ष, कहिले लुम्बिनी बौद्ध शिखर सम्मेलन भनेर अनेकौं बहानामा मागिखाने भाँडो बनाएकोले मात्र इज्जत गौरव ठानेका हुनाले हृदयदेखि नेपालमा बुद्ध जन्म भएकोमा कहाँ गर्व होलान् र? बुद्ध र बुद्ध धर्म हाम्रो होइन इतिहासको कालखण्डदेखि परेको छाप आज हाम्रो मनमस्तिष्कमा पनि परेको छ। यसको कारणले हामी पनि चूपचाप छौं। यसले गर्दा भारतलाई बुद्ध भारतमा नै जन्मेको हो भन्ने कुरा सहज वातावरण बनेको छ। बुद्ध बौद्धहरूको मात्र सम्पत्ति होइन र उहाँको धर्म पनि बौद्धहरूको धर्म हो। उहाँको धर्म भनेको मानव धर्म हो। जसले गर्दा आज विश्व मानव जगतले समेत उहाँको ज्ञान आत्मसात गरेको छ।
    यस्तो महामानव र हाम्रो राष्ट्रिय विभूतिको अपमान भएकोमा आम नेपाली जनताले सशक्त विरोध गर्नुपर्छ र अमेरिकालाई दबाब दिनुपर्छ। हामी बुद्धमात्र होइन संसारका जुनसुकै धर्मका प्रवर्तकहरूको अपमान र अवमूल्यन गर्नुहुन्न राम, कृष्ण, अल्लाह, जिसस क्राइस आदि युग पुरुषहरूको समेत अपमान र अवहेलित नगर्न अनुरोध गर्दछौं। त्यस्तो कार्यको अन्त्य गर्न हामी सबैले विरोध गर्नुपर्छ।
अध्यक्ष: धर्मरत्न शाक्य
सचिव: तुल्सीकाजी मानन्धर
युवा बौद्ध पुचः भक्तपुर