September 4, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

५५ झ्याल दरबार खुलासम्बन्धी भनपालाई सुझाव

भक्तपुर नगरपालिकाले विश्व सम्पदामा सूचीकृत ५५ झ्याल दरबार सर्वसाधारणको लागि हप्ताको एक दिन भए पनि खुला गरेकोमा मुरीमुरी धन्यवाद छ। सम्पदा संरक्षणमा नेपालमै अद्वितीय काम गर्ने भक्तपुर नगरपालिकाको कार्य निश्चय नै प्रशंसनीय छ, स्तुत्य छ।
    तर भदौ २६ गते मङ्गलबार ५५ झ्याल दरबार र भित्तेचित्र अवलोकन गर्न विद्यार्थीहरूलाई लैजाँदा केही कुरा सुझावको रूपमा लोकप्रिय 'मजदुर' दैनिकमार्फत् प्रस्तुत गर्न चाहन्छु, आशा छ, प्रकाशित गरिदिनु हुनेछ।
    १. बत्तीको व्यवस्था राम्रो नहुँदा विद्यार्थीहरूलाई समस्या परेको छ।
    २. भित्तेचित्रको तस्बीर लिन दिइएको हुँदा रोक्नुपर्ने देखिन्छ। किनभने 'फ्लाश' को प्रकाशले सम्भवतः चित्रमा असर पर्नसक्छ।
    ३. भित्तेचित्रको वर्णन गर्न सक्षम पथप्रदर्शकको व्यवस्था गरे सुनमा सुगन्ध हुने थियो।
    ४. केही दर्शकले चित्र हातैले छोएको देखें, त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने देखिन्छ। तत्काललाई नाइलनको डोरीले भए पनि बारेर हातले भेट्टाउन नसक्ने बनाउनैपर्ने देखें।
    ५. हरेक मङ्गलबारको लागि केही प्रहरीको व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्नसके सुरक्षा पनि व्यवस्थित हुने देखिन्छ। खटिएका प्रहरीलाई खाजा वा भत्ताको व्यवस्था गर्न भक्तपुर नपालाई समस्या नहोला।
    ६. सम्भव भए शुक्रबार केवल विद्यार्थीको लागि र मङ्गलबार अन्यको लागि खुला गरे अझ बेस हुने देखिन्छ। धन्यवाद !
राजेश जोशी, भक्तपुर